back

मंसिर महिनामा प्रवासमा हराएका नेपाली सपनाहरु

वि.सं.२०७५ माघ १३ आइतवार

468 

shares
GLOBAL IME AD
NTC AD

रोजगारी तथा विभिन्न सिलसिलामा विदेश पुगेका ३ नेपाली महिलाको मंसिर महिनामा क्यान्सर रोगबाट मृत्यु भएको छ । ती मध्ये पोर्चुगलमा मीरा नेपाली, अमेरिकाको मेरिल्याण्डमा शारदा घिमीरे तथा डिसी महानगर क्षेत्रमा रिचा प्रधानको क्यान्सर रोगका कारण मृत्यु भएको हो । साथै अमेरिकामै गणेश तिवारीले पासो लगाएर आत्महत्या गरेका छन् ।
त्यस्तै विभिन्न घटनामा परेर अष्ट्रेलियामा १, कुवेतमा ३, हङकङमा २, बेलायतमा १, साउदीमा २ र मलेसियामा २ जना गरेर मंसिर महिनामा १५ नेपालीले विदेशमा ज्यान गुमाएको समाचार ऐक्यबद्धतालाई प्राप्त भएको छ ।

म्याग्दी जिल्ला भुरुङ तातोपानी घर भइ हाल बेलायतको फार्नबोरोमा बसोबास गर्ने हरिमाया पाइजाको काममा जाने क्रममा सडक दुर्घटनामा परेर मुत्यु भएको छ ।

डिसेम्बर ११ का दिन अल्डरर्शट गेरिशज ब्यारेक नजिक चर्च छेउमा मोटरसाइकलले ठक्कर दिँदा उपचारका क्रममा उनको सोहि दिन मृत्यु भएको थियो ।

भुपु गोर्खा रन बहादुर पाइजाकी श्रीमती हरिमाया पाइजालाई दुर्घटना लगत्तै हेलिकप्टरमा st George hospital उपचारका लागि लगिए पनि सोहि दिन बेलुका उनको मृत्यु भएको हो ।
मृतक पाइजाका दुई छोराछोरी रहेका छन् । उनको मृत्युले रश्मोरबासी नेपाली कम्युनिटी स्तब्ध भएको भन्दै ग्रेटर रशमोर नेपाली कम्युनिटीका निबर्तमान अध्यक्ष ओम थापा काउचाले दुःख व्यक्त गरेका छन् ।

कुवेतमा कार्यरत ईन्द्रमणि देवकोटाको उपचारका क्रममा मृत्यु भएको छ । साबिकको विरेन्द्र नगर नगरपालिका हाल राप्ती नगरपालिका ८ चितवन घर भएका देवकोटाको उच्च रक्तचाप तथा हातखुट्टा सुन्निएर अस्पतालमा उपचाररत उनको मंसिर २१ (डिसेम्बर ७) का दिन मृत्यु भएको हो ।

९ वर्षदेखि कुवेतको आर्मी क्याम्प, सिटी बस तथा ट्याक्सी चालकको रुपमा काम गरिसकेका ४५ वर्षीय देवकोटा केही समयदेखि जन्डिसको समस्या भोगिरहेको पनि चितवन सेवा समाज कुवेतका सदस्य नबिन शिवाकोटीले बताएको कुवेतबाट पत्रकार हरिकृष्ण न्यौपानेले जनाएका छन् ।


मृतक देवकोटाको श्रीमती रोजगारीकंै सिलसिलामा इजरायलमा रहेको र घरमा छोराछोरी मात्र रहेको बताइएको छ । देवकोटाको मृत्युबारे सबै जानकारी लिएर कानुनी प्रक्रियामा जाने नेपाली दूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङ्देनले बताएका छन् ।

कुवेतमै कार्यरत घरेलु महिलाका रुपमा कार्यरत रमा श्रेष्ठको २ डिसेम्बर (१६ मंसिर) का दिन मृत्यु भएको छ ।

गौरादह ५ झापा घरभई ११ वर्षदेखि कुवेतमा कार्यरत उनको मृत्युको कारण भने खुल्न नसकेको कुवेतबाट पत्रकार हरिकृष्ण न्यौपानेले बताएका छन् ।

नेपाली दूतावास कुवेतका द्धितीय सचिव ज्ञान बहादुर मगरका अनुसार उनको मृत्यु भएको जानकारी आएपनि प्रहरी रिर्पोट आउन बाँकी रहेकोले मृत्युको कारण यहि हो भनेर भन्न नसकिएको हो ।

रमाकी छोरी सविना श्रेष्ठ पनि एकवर्षदेखि कुवेतमै घरेलु कामदारका रुपमा कार्यर छन् । उनले कुवेत पुगेको १ वर्ष भएपनि आमासँग भेट्न नपाएको र फोनमा आमाले छाती, पेट तथा ढाड दुखेको सुनाएको बताएकी थिइन् । रमा, ११ वर्षदेखि कुवेतमा कार्यरत रहेपनि ५ वर्षदेखि अबैधानिक रुपमा लुकिछिपी काम गर्दै आएको बताइएको छ ।

त्यस्तै कुवेतमा कार्यरत कास्कीका दुर्गा बहादुर तामाङको पनि हृदयघातका कारण मृत्यु भएको छ । लेखनाथ नगरपालिका भण्डारढिकका तामाङको नोभेम्बर २४ (८ मंसिर) का दिन हृदयघातका कारण मृत्यु भएको पत्रकार हरिकृष्ण न्यौपानेले बताएका छन् ।

२ वर्षदेखि कुवेतको अल्गानियम कम्पनीमा गार्डेनरको रुपमा काम गर्दै आएका ३६ वर्षे तामाङ बिहानका १२ बजेतिर खाना खाएर सुतेका थिए । उनी नउठेपछि साथीहरुले कोठामा गएर हेर्दा मृत भेटिएका थिए ।

कम्पनीले प्रहरीको सहयोगमा अस्पताल पु¥याए पनि उनको मृत्यु भएको अस्पतालले जनाएको थियो । घर फर्कने तयारीमा रहेका उनको १ छोरा रहेको बताइएको छ ।

नेपाली दूतावासका अनुसार कानुनी प्रक्रियाका लागि उनको शब अस्पतालमा राखिएको र शब नेपाल पठाउनका लागि कम्पनीले आवस्यक समन्वय गरेको पनि दूतवासका द्धितीय सचिव ज्ञान बहादुर मगरले जनाएका छन् ।

हङकङमा कार्यरत प्रकाश राईको दुर्घटनामा मृत्यु भएको छ । हङकङको निर्माण क्षेत्रमा कार्यरत खोटाङका ३९ वर्षीया राईको ट्रक दुर्घटनामा परेर मंसिर २० (६ डिसेम्बर) का दिन मृत्यु भएको हो ।
फनलिङस्थित निर्माणधिन लियन टान टनेल (सुरुङ) मा काम गरिरहेको अवस्थामा पछाडिबाट गुड्दै आएको ट्रक उनीमाथि चढेपछि दुर्घटना भएको बताइएको छ । ट्रक गुड्दै आएको थाहा नपाएका उनी ट्रक मुनि परेका थिए । ब्याक हुँदै आएको सानो ट्रक अर्को व्यक्तिले रोक्न खोजेपनि रोक्न नसकेपछि दुर्घटना भएको सिसि टिभीको फुटेजमा देखिएको छ ।
घटनापछि उनलाई अस्पताल लगिए पनि टाउकोमा गम्भीर चोट लागेका कारण बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् । हङकङमै धरानमा कल्याण मेन्याङबोको पनि निधन भएको छ ।

दुई महिनाअघि मात्र उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका मोरङको मिक्लाजुङ गाउँपालिका–७ का २० वर्षीय मिलन तामाङको मृत्यु भएको हो ।

तामाङ सोसाइटी अफ एन एस् डब्लुका अनुसार अष्ट्रेलियाको सिड्नीस्थित अर्वनमा बस्दै आएका तामाङको उपचारका क्रममा १९ मंसिर (५ डिसेम्बर) का दिन ब्रेन ह्यामरेज भएर मृत्यु भएको हो ।

तामाङको पठाउनका लागि तामाङ सोसाइटी अफ एन एस् डब्लुले आर्थिक सहयोगका लागि अष्ट्रेलियाबासी नेपालीबीच अनुरोध समेत गरेको थियो ।

पोर्चुगलमा उपचारका क्रममा मीरा नेपालीको मुत्यु भएको छ । जातिय उत्पीडित समाज पोर्चुगलका पूर्वअध्यक्ष तथा एनआरएनए पोर्चुगलका सल्लाहकार प्रेम नेपालीकी श्रीमती मीरा नेपालीको मंसिर २० (६ डिसेम्बर) का दिन मृत्यु भएको पोर्चुगलबाट पत्रकार योगेन्द्र मिलन छन्त्यालले जनाएका छन् ।

३९ वर्षीया मीरा विगत ३ वर्षदेखि क्यान्सर रोगबाट पीडित रहेको बताइएको छ । लामो समयदेखि लिस्बनमा बस्दै आएका उनीहरुको एक छोरा र एक छोरी छन् ।

अमेरिकाको मेरिल्याण्डमा तनहुँकी शारदा घिमीरेको निधन भएको छ । म्याग्दे गाउँपालिका घर भइ अमेरिकाको मेरिल्याण्ड ग्लेन वर्निमा श्रीमान हरि घिमेरसहित सपरिवार बस्दै आएकी शारदा पोखरेलको अर्वुद्ध रोगका कारण मृत्यु भएको श्रोतले जानकारी दिएको छ ।
डिसेम्बर २ तारिख (१६ मंसिर) राति ३ बजे मृत्यु भएपछि परिवार मर्माहत भएको भन्दै परिवारले विस्तृत बताउन नचाहेको बताइएको छ । उनको दाहसंस्कार ३ डिसेम्बरका दिन अमेरिकामै गरिएको छ ।

अमेरिकामै क्यालिफोर्नियामा पासो लगाएर २४ वर्षीय गणेश तिवारीले आत्महत्या गरेका छन् । २०१६ अगस्तमा विद्यार्थी भिषामा अमेरिका पुगेका तिवारीले आत्महत्या गर्नुअघि आफ्ना साथिलाई भिडियो कल गरेर आत्महत्या गर्न लागेको बताएको पनि अमेरिकाबाट पत्रकार प्रतिमा बास्कोटाले लेखेकी छन् ।

हाइल्याण्डर अर्पाटमेन्टमा दुईजना साथीसँगै बस्दै आएका उनी बेला–बेला आत्महत्याको कुरा गरिरहेको साथिहरुले बताएका छन् । ‘अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिनँ भन्थ्यो,’ उनका एक साथीले भने, ‘जे गर्दा पनि एकदम उत्साहित हुन्थ्यो, जसले जे गरम भनेपनि गरम गरम भन्थ्यो ।’

२९ नोभेम्बर (१३ मंसिर) का दिन ३ बजेदेखि काममा जानुपर्ने तिवारी ढिलो समयसम्म उठेनन् । साथीहरुले फोन गर्दा पनि नउठाएको र ढोका ढकढकाउदा पनि नखोलेपछि साथीहरुले ढोका फुटाएर हेर्दा उनी पासोमा झुण्डिरहेको अवस्थामा मृत भेटिएका थिए ।

नवलपरासी घर भइ क्यालिफोर्नियाको सन्निभेल सहरमा बस्दै आएका उनी मिनिसोटा युनिभर्सिटीमा कम्प्युटर साइन्स पढ्न भर्ना भएको बताइएको छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा पनि रिचा प्रधानको निधन भएको छ । केही समय अघिदेखि विरामी रहेकी ३२ वर्षीया प्रधानको मंसिर ११ गते (२७ नोभेम्बर) का दिन मृत्यु भएको पारिवारिक श्रोतले जनाएको अमेरिकाबाट पत्रकार विजय थापाले जनाएका छन् ।
वरिष्ठ इन्जिनियर गोविन्द प्रधान तथा आमा कल्पना प्रधान भर्जिनिया स्टरलिङ सहरमा बसोबास गर्छन् । उनी नेपा ः पासा पुच ः अमेरिकाका आजीवन सदस्य हुन् ।

पारिवारिक स्रोतका अनुसार रिचा केही समयदेखि अबुर्द (क्यान्सर) रोगसँग संघर्ष गरि रहेकी थिइन् । उनी प्रधान दम्पत्तीका एक मात्र सन्तानको रुपमा रहेको बताइएको छ । प्रधानको अन्तिम दाहसंस्कार डिसेम्बर १ मा भर्जिनियामा गरिएको छ ।

साउदीमा कार्यरत अरुण चापागाईँको मस्तिष्कमा रक्त श्राव (ब्रेन हेमरेज) भएर निधन भएको छ ।
साउदी पुगेको लामो समय भएपनि साढे दुई वर्षदेखि जेद्धास्थित अलमराई कम्पनीमा कार्यरत चापागाईँ गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको क्षेत्रिय समन्वय समिति जेद्धाको कार्यसमिति सदस्य, नेप्लिज डायस्पोरा अनलाइनका साउदी प्रतिनिधि समेत रहेका उनी त्यहाँका विभिन्न नेपाली संघ संस्थामा सक्रिय रहेका थिए ।

तीनदिन देखि अचानक टाउको दुख्यो भन्दै हातखुट्टा चलाउन अप्ठेरो भयो भनेका उनलाई साथीहरुले अस्पताल भर्ना गरेका थिए । अस्पताल पु¥याएदेखि दुई दिनसम्म अचेत रहेका उनको डिसेम्बर १ (मंसिर १५) का दिन अस्पतालले मृत घोषणा गरेको साउदीबाट पत्रकार तेज थापाले ऐक्यबद्धतालाई जानकारी दिएका छन् । बाँके कुसुम घर भइ छोराछोरीको शिक्षा दिक्षाका लागि हाल दाङको लमहीमा बस्दै आएको बताइएको छ ।

उनको मृत्युपछि क्षेत्रिय समिति जेद्धाले शोकसभा आयोजना गर्नुका साथै परिवारका लागि आर्थिक सहयोग जुटाउन लागि परेको समितिा अध्यक्ष भिम गुरुङले बताएका छन् । ३२ वर्षीय चापागाईँको परिवारमा १ छोरा, १ छोरी र श्रीमती रहेकी छन् ।

साउदीकै ताबुकस्थित आस्त्रा कम्पनीमा कार्यरत दाङका उम बहादुर वलीको मृत्यु भएको हो ।
रोजगारीको लागि ७ वर्ष अघि साउदी पुगेका घोराही उपमहानगरपालिका ३ का वलीको वलीको अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । केही समयदेखि अस्वस्थ रहदै आएका उनी १७ नोभेम्बर, २०१८ मा एक्कासी बिमारले चापेपछि प्रीन्स फाहाद बिन हस्पिटलमा भर्ना भएका थिए ।

अवस्था अत्यधिक नाजुक रहेको भन्दै डाक्टरले तत्कालै सल्यक्रिया गर्नु सल्लाह दिएपछि गत ७ मंसिर (२३, नोभेम्बर) शल्यक्रिया भएको थियोे । शल्यक्रिया पश्चात् अस्पतालको आइसीयु कक्षमै मृत्यु भएको उनका साथी दिनेश तामाङ र मनिराम ढकालले जानकारी दिएको एनआरएनए ताबुकका क्षेत्रीय अध्यक्ष अर्जुन थापाले बताएका छन् ।

मृतक वलीको ७ महिना अघि पनि पायल्सको सल्यक्रिया भएको थियो । ‘शल्यक्रियापछि उहाँको स्वास्थ्यमा खासै सुधार नभइ थप अन्य बिमारले समेत च्यापेको थियो,’ क्षेत्रीय अध्यक्ष थापाले भने । साथै घटनाको विवरण जेद्धा कन्सुलरमा समेत अवगत गराएको उनले बताए ।
मृतकका श्रीमती र दुई छोरीहरु छन् भने घरको आर्थिक स्थिति अति कमजोर रहेकोले परिवारको भविष्य समेत अन्योलमा पर्ने भएको बताइएको छ ।

मलेसियामा कार्यरत बर्दियाका शुरेस केसीको सवारी दुर्घटनामा परे मृत्यु भएको छ । मलेसियाको केडाह प्रदेशको कुलिम भन्ने ठाउँमा कार्यरत केसीको डिसेम्बर २ (मंसिर १६) का दिन बेलुकी साढे ८ बजेतिर सवारी दुर्घटनामा परेर ज्यान गएका केसीका साथी किरण सानुले मलेसियाबाट ऐक्यबद्धतालाई जानकारी दिएका छन् ।

१० वर्षदेखि मलेसियामा काम गर्दै आएका केसीको विदाको दिन साथीभाइलाई भेटेर साइकलमा होल्टलमा फर्किरहेको बेला पछाडिबाट आएको कारले ठक्कर दिँदा घटनास्थलमै उनको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।

घटना लगत्तै एम्बुलेन्स बोलाइए पनि टाउँकोमा चोट लागेको र कानबाट अत्यधिक रगत बगेकोले घटनास्थलमै ज्यान गएको थियो ।

मलेसियामै कार्यरत लक्ष्मण महतोको हत्या भएको समाचार छ । सप्तरी कटि गाउँपालिका विस्नुपुर ५ का सन्ति महतोका छोरा लक्ष्मण महतोको मलेसियाको जोहारबारुको मोहार भन्ने ठाउमा रहेको एलएफ फर्निचर कम्पनीमा कार्यरत उनको डिसेम्बरको पहिलो हप्ता तमिलहरुले हत्या गरेको बताइएको छ ।

घटना आत्महत्या या हत्या के हो भनेर प्रहरीले अनुसन्धान गरेपनि मृतकका साथीहरुले स्थानीय तमिलहरुले उनको हत्या गरेको आशंका गरेको बताइएको छ । नेपाली दूतावास श्रोतका अनुसार महतोको शब नेपाल पठाइसकिएको छ ।

वि.सं.२०७५ माघ १३ आइतवार १०:२१ मा प्रकाशित

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म...

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको...

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला...

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित...