Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

नागरिकता विषयमा संसदीय समितिमा सहमति



१६ माघ, काठमाडौँ । विदेशी नागरिकसँग विवाह गरेका नेपाली नागरिकले सम्बन्धित देशको नागरिकता नलिएको अवस्थामा वंशजकै आधारमा नेपाली नागरिकता प्राप्त गर्ने सक्ने प्रावधानसहितको ऐन बनाउने विषयमा संसदीय समितिमा सहमति भएको छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई सशोधन गर्न बनेको विधेयक सम्बन्धमा राज्य व्यवस्था समितिको आजको बैठकमा भएको दफावार छलफल उक्त सहमति भएको हो । तर गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले भने समितिमा उक्त सहमति भए पनि त्यसबाट कानूनी र संवैधानिक पाटोबाट पर्न सक्ने प्रभावबारे थप अध्ययन गरेर मात्र निर्णयमा पुग्न आग्रह गरेका थिए ।

नेपालको कानूनअनुसार वंशीय आधारमै नागरिकता पाउनुपर्छ भन्ने सरकारको धारणा रहेको उनले बताए । आमा र बाबु नेपाली नागरिक भएका खण्डमा मात्र उनीहरूका सन्तानले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । आमा र बाबु नेपाली नागरिक हुन् भने उनीहरूका सन्ततिले वंशजका आधारमा आमा वा बाबु जुनतर्फ भएपनि तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्न सक्ने प्रावधान प्रस्तावित विधेयकमा परेको छ ।

आमाको नामबाट पनि नागरिकता प्राप्त गर्न सक्ने कानूनी व्यवस्था भए पनि व्यावहारिक रूपमा अहिले पनि त्यो लागू भई नरहेको हुँदा नयाँ कानून निर्माणमा यो पक्षमा आवश्यक ध्यान पु¥याउन महिला सांसदहरूले बैठकमा सुझाव दिएका थिए । उनीहरूले वंशज भनेको पति हो कि आमा÷बाबु हुन् भनी प्रश्न गर्दै बच्चा जन्माउने आमा भएको हुँदा आमाको नामबाट सहजरूपमा नागरिकता पाउने कानूनी व्यवस्था गर्न सल्लाह दिए ।

नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभए प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजका आधारमा नेपाली नागरिक ठहर्नेछ भन्ने संवैधानिक व्यवस्थाअनुरुप त्यस्ता व्यक्तिलाई प्रदान गर्ने नागरिकताको प्रमाणपत्रमा बाबु÷आमा भन्ने ठाउँमा कुन शब्दको प्रयोग गर्दा उनीहरूको सम्मान हुन्छ भन्ने विषयमा पनि समितिमा छलफल भएको थियो ।

वंशजका आधारमा नागरिकता लिन कागजपत्र सङ्कलन गर्न नसक्ने अवस्थामा नेपाली नागरिकता प्राप्त गरेका दुई जनाको सनाखत र सम्बन्धित वडाका जनप्रतिनिधिको सिफारिसमा नागरिकता लिन सक्ने प्रावधान विधेयकमा प्रस्ताव गरिएको छ । नागरिकताजस्तो संवेदनशील विषयलाई हल्काफुल्कारूपमा नहेरी दोहोरो नागरिकताको प्रावधानले राष्ट्रियतामा खतरा उत्पन्न गर्न सक्ने पाटोमा विशेष चनाखो हुन पनि सरकार र समितिलाई सदस्यहरूले सुझाव दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा