१७ माघ, बेइजिङ, चीन । विश्वव्यापीरूपमा सुनको माग बढ्दो अवस्थामा रहेको वल्र्ड गोल्ड काउन्सिल (डब्लूजीसी) ले बिहीबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ ।
केन्द्रीय बैंकले दशकौँदेखि बढी मात्रामा सुन खरिद र सुनमा लगानी तीव्र पारेको कारण सुनको मागमा वृद्धि देखिएको हो ।
सन् २०१७ मा सुनको विश्वभर जम्मा चार हजार ३४५ टन माग रहेकोमा सन् २०१८ मा यसमा चार प्रतिशतको वृद्धि देखिएको डब्लूजीसीले रिपोर्टमा उल्लेख गरेको छ ।
हरेक मुलुकको केन्द्रीय बैंकद्वारा हुने सुनको खरिदमा अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा ७४ प्रतिशतले वृद्धि भई जम्मा ६५१.५ टन पुगेको छ । यो आर्थिक वर्षमा सुनको कारोबारमा अहिलेसम्मकै दोस्रो धेरै खरिदविक्री भएको प्रतिवेदनमा उल्लेख छ ।
गत वर्ष गहनाका लागि दुई हजार २०० टन सुनको माग रहेको थियो यो अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि हो । सुनको सिक्का र बारहरूका लागि सुनको मागमा पनि चार प्रतिशतको वृद्धि आई गत वर्ष जम्मा एक हजार ९० टन पुगेको छ ।
सुनमा आधारित विनिमय व्यापार कोष तथा अन्य उत्पादनमा भने सुनको मागमा भने अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा ६७ प्रतिशतले कमी आउँदा यस शीर्षकका लागि जम्मा ६८.९ टन माग देखिएको छ ।
गत वर्ष प्रविधि क्षेत्रमा ३३४.६ टन सुनको प्रयोग भएको छ, जुन अघिल्लो वर्षको तुलनामा जम्मा एक प्रतिशत बढी हो । स्मार्ट फोनको विक्रीमा देखिएको मन्दीका कारण प्रविधि क्षेत्रमा सुनको प्रयोगमा कमी आएको डब्लूजीसीले उल्लेख गरेको छ ।