२० माघ, काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा पनि ‘नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक २०७५’ माथि दफावार छलफल जारी रह्यो । आजको बैठकमा नेपाली काङ्ग्रेसका गगनकुमार थापाले नागरिकता प्राप्ति गरेको एक वर्षभित्र थर सच्याउन चाहेमा सच्याउन सक्ने प्रावधान राख्न सुझाव राखे ।
सोही पार्टीका सुजाता परियार, उमा रेग्मी र दिलेन्द्रप्रसाद बडूले संविधानको भावनाअनुसार नागरिकतासम्बन्धी विधेयक ल्याउन सुझाव दिँदै आमाको नामबाट नागरिकता प्राप्ति गर्न सहज बनाउने बताए ।
नेकपाका रेखा शर्मा, विन्दा पाण्डे र यशोदा सुवेदीले शैक्षिक प्रमाणपत्रभन्दा जन्मदर्तालाई नागरिकता प्राप्तिको आधार बनाउन आफ्नो धारणा राखे । समितिका सभापति शशी श्रेष्ठले नागरिकतासम्बन्धी संविधानको व्यवस्था र आमाको नामबाट नागरिकता प्राप्तिमा अझ सहज हुने तरिकाबाट विधेयक आउनेछ भने । विधेयकमाथिको दफावार छलफल जारी रहेको छ ।
वि.सं.२०७५ माघ २० आइतवार १७:०८ मा प्रकाशित