back

हामी के चाहन्छौँ ?

वि.सं.२०७५ माघ २१ सोमवार

435 

shares
GLOBAL IME AD
NTC AD

नेपालमा अहिलेको राजनैतिक एवम् प्रशासनिक संरचनात्मक परिवर्तनसँगै अधिकांश नेतृत्व, प्रशासक एवम् राष्ट्रको उन्नति चाहने कुनै पनि सर्वसाधारणको बीचमा सबै भन्दा जल्दोबल्दो र लोकप्रिय मुद्दा (Issue) बनेको छ, ‘समृद्ध नेपालको निर्माण’ । गगन चुम्बी महल, चिल्ला सडक र प्रति व्यक्ति आम्दानी धेरै मात्र समृद्धि होइनन्, यिनीहरू त केवल समृद्धिका सुचकहरू मात्र हुन् । वास्तवमा के हो त समृद्धि ? अनि कसरी प्राप्त गर्न सकिन्छ त समृद्ध नेपाल ? समृद्धिलाई सीधा वस्तुगत (Objective) रुपमा परिभाषित गर्न कठिन हुन्छ साथै सर्वमान्य विषयगत (Subjective)  परिभाषा खोज्न समय खर्चिनु भन्दा निम्न बमोजिम तलको चित्रमा चित्रित गरिएका अनिवार्य एवम् पुरक तत्वहरूबाट समृद्धि बुझ्न सजिलो हुन्छ ।
जीविकोपार्जन :
मानिसको पहिलो प्राथमिकता प्राणरक्षा र जीवन गुजारा हो । कम्तिमा आधारभूत आवश्यकताहरू गास, बास, कपास र सहबास (परिवारसँगै बस्न पाउनु) सहज रुपमा प्राप्त गर्नु सामान्य जिविकोपार्जनका मानवीय आधारहरू हुन् । अझ भनौँ, अनिवार्य शर्त हुन् । हाम्रो प्राचीनग्रन्थ वेदले नै गास, बास, कपास र सहवास बाहेक शिक्षा र स्वास्थ्यलाई पनि मानवीय आधारभूत आवश्यकता भित्र समेटेको छ । आजको युगमा शिक्षा र स्वास्थ्य पनि मानवीय आधारभूत आवश्यकता भित्र पर्दछन् भन्ने कुरा प्रमाणित भइसकेको छ । समृद्धिको पहिलो खुड्किलो आफ्नै गाउँ घरमा सहज रुपमा यिनै आधारभूत मानवीय आवश्यकताको सम्बोधन हुने गरी जिविकोपार्जनको प्रबन्ध हुनु पर्दछ ।

शान्ति सुरक्षा :
‘मानिसको सबै भन्दा ठूलो मित्र र शत्रु मानिस नै हो’ भनिने यो समाजमा हामीले ‘मानिस केवल मित्र मात्र हो’ भन्ने बनाउनतर्फ लाग्नु पर्दछ । समाजमा जबसम्म शान्ति सुरक्षा अमनचयन हुँदैन तबसम्म कुनै पनि समाज समृद्ध बन्न असम्भव हुन्छ । व्यक्ति, परिवार र समाजमा शान्ति सुरक्षाको सुनिश्चितता समृद्ध समाजको अर्काे अनिवार्य शर्त हो । मानिसलाई शान्ति सुरक्षा अमनचयन कायम भई ढुक्कसँग आफ्नै समाजमा बस्ने वातावरण हुनु पर्दछ ।

पहिचान :
मानवको जीविकापछिको अर्काे महत्वपूर्ण पाटो व्यक्तित्व पहिचान हो । जीविकोपार्जन सम्भव भएपछि मानिस ‘म को हुँ ?’ भन्ने प्रश्नको उत्तर खोज्छ, त्यो उत्तर पाउनु उसको मानवीय मौलिक अधिकार हो । कुनै पनि व्यक्तिले समाजमा आफ्नो समान उपस्थिति चाहन्छ । आफ्नो मौलिक भाषा, भेषभुषा, संस्कार, संस्कृति, चाडपर्व, सामाजिक अस्तित्व आदि समाजका अन्य नागरिकसरह प्राप्त गर्न चाहन्छ । समृद्ध समाजले सबैको समान पहिचान सुरक्षित गर्नुपर्छ । सामाजिक सुरक्षा नम्बर प्रणाली र निश्चित पद्धति विकास गरी सबैको पहिचान निश्चित गर्नुपर्दछ ।

वृत्ति विकास :
मानवीय विशेषता नै हो कि उ जहिले पनि प्रगति उन्मुख हुन्छ । जीविकोपार्जनको निमित्त रोजगारी, आम्दानीको स्रोत, व्यवसायिकता, आर्थिक समृद्धि अनि सधै आफ्नो र परिवारको निरन्तर प्रगति चाहन्छ । उन्नत समाजले उक्त समाजमा रहेका हरेक व्यक्तिको शारीरिक एवम् मानसिक तथा जीवनको हरेक पक्षमा व्यक्तित्व विकासको मार्ग प्रशस्त गरिदिनु अपरिहार्य हुन्छ । राज्यबाट प्राप्त हुने शिक्षा, स्वास्थ्य र खेलकुदसहित व्यक्तित्व विकासका नयाँ नयाँ अवसर सिर्जना हुने वातावरण निर्माण गरिरहनु पर्दछ । समृद्ध समाजका हरेक व्यक्तिको नियमित रुपमा व्यक्तित्व विकास गर्ने चाहना पुरा हुन पाउनु पर्दछ ।

सामाजिक सद्भाव :
मानिस एक सामाजिक प्राणी हो भने व्यक्ति समाजको अभिन्न अंग हो । सम्पन्न व्यक्ति, परिवार र समाजको निमित्त सामाजिक सद्भाव र सहिष्णुता अर्काे अनिवार्य शर्त हो । आपसी कलह, बिखण्डन, विभेद समाजको बिष हो, जसको जरैबाट निर्मुल गर्नुपर्दछ । समाजमा सबैले आफूलाई विशिष्ट नै ठान्छन् । समाजमा अरुको स्थान सुरक्षित गरिएमा मात्र आफ्नो पनि स्थान सुरक्षित हुन्छ र सामाजिक सद्भाव सिर्जना हुन्छ भन्ने कुरा भुल्न हुँदैन । हरेक व्यक्ति र वर्गको सहअस्तित्व र समान हैसियत सर्वस्वीकार्य हुनु समृद्ध समाजको अर्काे महत्वपूर्ण शर्त हो ।

मनोरन्जन :
समृद्ध समाजमा सार्वजनिक खेलकुदका साधनहरू, व्यायामका साधनहरू, मनोरन्जनका साधनहरू, मन बहलाउने स्थलहरू, क्लबहरू, नृत्यशालाहरू, नाट्यशालाहरू, खुल्ला स्थान, आराम स्थलहरू, पार्क, मैदान, स्विमिङ्ग पुल, बगैँचा, स्वच्छ हावापानी र वातावरण, दृश्यावलोकन एवम् पर्यटक आकर्षणको उचित प्रबन्ध हुनुपर्दछ ।

सामाजिक सुरक्षा :
एउटा समृद्ध समाजमा बलियो सामाजिक सुरक्षा पद्धति स्थापित हुनुपर्छ । समाजको सक्षम व्यक्तिबाट सरकारले स्रोत(कर) लिने र सरकारलाई योगदान गर्न नसक्नेलाई सरकारले सहायता दिने राम्रो पद्धति स्थापना गर्नुपर्दछ । बालक, बेरोजगार, रोगी, बृद्ध या कुनै कारणबश काम गरेर आर्थिक संयन्त्रमा योगदान गर्न नसक्ने अवस्थामा उसको जिविका अनि व्यक्तित्व विकासको प्रबन्ध सार्वजनिक खर्चबाट मिलाउनु पर्दछ । सामाजिक सुरक्षा नम्बर प्रणालीमार्फत बालक, असक्त र वृद्धवृद्धालाई भत्ता र निवृत्तिभरण तथा सुरक्षित आवासमार्फत जीविकाको सुनिश्चितता गर्नुपर्छ । अनि त्यहि व्यक्ति आर्थिक संयन्त्रमा योगदान गर्न सक्ने क्षमतावान भयो भने उसको क्षमता अनुसार सार्वजनिक योगदान (व्यक्तिगत कर मार्फत) लिने प्रबन्ध राज्यले मिलाउनु पर्दछ ।

सार्वजनिक सेवा र सुविधा :
समृद्ध समाजमा शिक्षा, स्वास्थ्य, स्वच्छ पानी, ईन्धन, बिजुली, टेलिफोन, इन्टरनेट, ढल निकास, हुलाक, बैंक, प्रशासनिक कामकाज, बजार, वस्तु तथा सेवाहरूको सहज उपलब्धता, आवागमन, सार्वजनिक यातायात अथवा कुनै पनि सेवाहरू सर्वसुलभ साथै गुणस्तरीय वस्तु तथा सामाजिक सेवा एवम् सुविधा उपलब्ध हुनुपर्दछ ।

पारदर्शीता :
सार्वजनिक सरोकारको कुनै पनि विषयवस्तुमा जानकारी लिने अधिकार हुन्छ । समाजसँग सम्बन्धित कुनै पनि विषयमा उक्त समाजको कुनै पनि सदस्यलाई सार्वजनिक सरोकारको सूचनाको हक हुन्छ । पद्धतिमा आधारित प्रशासनिक उत्तरदायित्व र सूचना एवम् आर्थिक पारदर्शिता समृद्ध समाजको अर्काे महत्वपूर्ण सूचक हो ।

गोपनीयता :
मानिसको व्यक्तिगत जीवन एक प्रकारको हुन्छ भने सार्वजनिक जीवन पृथक हुन सक्छ । कुनै पनि व्यक्ति वा परिवारको आ–आफ्नै निजी जीवनको छुट्टै पाटो हुन्छ । समाजका अन्य सदस्यहरूलाई नकरात्मक असर नपर्ने गरी कुनै पनि व्यक्तिले निजी व्यक्तिगत र पारिवारिक जीवन जिउन पाउनु पर्दछ । समृद्ध समाजले सार्वजनिक सरोकारका विषयवस्तु बाहेक कुनै पनि व्यक्ति अथवा परिवारको गोपनीयताको सम्मान र रक्षा गर्न सक्नु पर्दछ ।

स्वतन्त्रता
सबै प्राणी स्वभावैले स्वतन्त्र हुन चाहन्छन् त्यस मध्ये पनि मानवजाति त झनै स्वतन्त्रता चाहन्छ । संविधान प्रदत्त स्वतन्त्रताको मौलिक हक सुनिश्चित हुनुपर्दछ्र । आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा स्वच्छन्दता भयो भने समाज र व्यक्ति घातक हुन सक्छ । व्यक्ति र समाज स्वच्छन्द हुनुहुँदैन किनभने आफ्नो हक अधिकार प्रयोग गर्दा अरुको हक अधिकारको सम्मान गर्नु पनि व्यक्ति तथा समाजको दायित्व हुन्छ । अधिकार  कर्तव्य .स्वतन्त्रता अर्थात् स्वछन्दता ( दायित्व .स्वतन्त्रता हो । स्वतन्त्रताको सीमा हुन्छ । कर्तव्य र दायित्वसहितको अधिकार प्रयोग गर्दा जति स्वतन्त्रता रहन्छ त्यति मात्र स्वतन्त्रता व्यक्ति र समाजलाई हुनु पर्दछ ।

अन्तर सम्बन्ध :
गाउँ वा नगर भित्र हरेक व्यक्ति, परिवार, टोल, वडा एवम् अन्य गाउँ र नगरमा साथै सहज स्थानीय एवम् राष्ट्रिय यातायात सम्बन्ध, ढुवानी सम्बन्ध, सञ्चार, बजार, वस्तु एवम् सेवाको आवागमन र अन्तरसम्बन्ध मजबुत् हुनु समृद्ध समाजका सुचकहरू हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध :
समृद्ध समाजले संसारको कुनै पनि कुनामा आवश्यक सम्बन्ध विस्तार गरेको हुन्छ । वस्तु तथा सेवा, सुचना र प्रविधि आदान प्रदान गरेको हुन्छ । आवागमन, अन्तर्राष्ट्रिय व्यापार, पर्यटन, शिक्षा, ग्रामिण र शहरी भगिनी सम्बन्ध, आर्थिक एवम् सामाजिक सञ्जाल अथवा कुनै पनि माध्यमबाट सम्बन्ध विस्तार गर्नुपर्दछ ।

आत्मसम्मान :
समृद्ध समाजमा हरेक व्यक्ति आफ्नो परिवार, टोल छिमेकमा सम्मानित सामाजिक जीवनयापन गरेको हुन्छ । जहिले पनि र जहाँ गए पनि उच्च मनोबल राख्द्छ । संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो गौरवमय उपस्थिति जनाउँछ ।

दिगोपन :
अहिलेसम्मको नेपालको विकासको अवस्था हेर्दा एउटा बलियो प्रश्न उब्जेको छ । के हामीले विकासको नाउँमा विनाश त गरिरहेका छैनौँ ? आज हामीले गरेको कुनै पनि काम बर्षाैं बर्षसम्मका लागि कामयावी छन् की छैनन् ? यस्ता प्रश्नहरू धेरै जन्मेका छन् । आजको विकास पुस्तौँ पुस्तासम्म कुनै पनि नकारात्मक असर नपर्ने र पछिल्लो पुस्ताले गौरव गर्न योग्य हुनुपर्दछ, अर्थात् दिगो विकास हुनुपर्छ ।
समृद्धिका यी माथिका अनिवार्य एवम् पुरक शर्तहरू प्राप्त गर्नको निमित्त कुनै पनि व्यक्तिको सपनाले मात्र हुँदैन । समृद्ध नेपालको निर्माणको निमित्त नेपाली सामाजिक, राजनैतिक र प्रशासनिक नेतृत्ववर्ग तथा हामी आम नागरिकहरू मिलेर महत्वपूर्ण सकारात्मक परिवर्तन ल्याउने कामहरू गर्नुपर्दछ जसले प्रत्येक नागरिकलाई सुखी, खुशी र सन्तुष्ट बनाओस् । जब हामी यी माथिका आधारहरू बुझेर अपुरा कार्यभार पुरा गर्न सक्षम हुन्छौँ तब मात्र हामीलाई समृद्धि प्राप्त हुन्छ ।

हो, हामी यहि समृद्धि चाहन्छौँ । हामीलाई समृद्ध समाज र देश चाहिन्छ ।
हामीलाई दिगो समृद्धि चाहिन्छ !! !
पृथक दृष्टिकोण :
हैट ! राम्रोसँग एक पेट खान र एकसरो जिउ ढाक्ने साधन त पर्याप्त छैन
के को समृद्धि ? कहाँबाट आउँछ समृद्धी ???
होइन सबैथोक यहिँ छ ! समृद्धि यहि पाइन्छ ! ! संसारको जुनसुकै कुनामा हुने मौसम नेपालमा पाइन्छ । श्रम शक्ति यहिँ छ, साधनस्रोत यहि छ, उपभोक्ता यहि छन्, संसारको जुनसुकै ठाउँमा फल्ने चिजबिज हामीले यहि फलाउन सक्छौँ । समृद्धि यहि फलाउन सकिन्छ ।
केवल सम्भावित उपाय लगाएर आधुनिक प्रविधिको प्रयोग ग¥र्यौ भने हाम्रो प्रयासले सबैथोक यहि उब्जिन्छ । त्यसैले तन, मन, धन, प्रविधि र समय यहि लगानी गर्न सकेको खण्डमा यहि सम्भव छ समृद्धि । आफ्नै पालामा ! ! !

क्रमशः

वर्तमान अवस्थामा यो पुस्तक निकै सान्दर्भिक हुने देखेको छु

मधुरमण आचार्य
पूर्व परराष्ट्र सचिव, नेपाल सरकार

श्री जगन्नाथ काफ्लेको ‘समृद्ध नेपालको मार्गचित्र’ नामक पुस्तक सरसर्ती हेर्ने अवसर मिल्यो । समृद्धिको पर्खाइमा रहेका नेपालका गाउँ र नगरहरू हालैको राजनैतिक परिवर्तन र निर्वाचन एवम् प्रशासनिक पुनर्संरचना पछि वास्तवमै त्यसको लागि तयार रहेको वर्तमान अवस्थामा यो पुस्तक निकै सान्दर्भिक हुने देखेको छु । संविधान अनुसार प्रदान गर्नुपर्ने सेवा र विकास निर्माण कार्यमा बढेको कार्यक्षेत्र र जनताको उर्लंदो आकांक्षाले गर्दा अहिले गाउँ र नगरपालिकाहरूको कार्यशैली र व्यवस्थापन शैलीमा आमूल परिवर्तन ल्याउनु परेको छ । त्यस्तै राजनैतिक नेतृत्व, सामाजिक अभियन्ता, पेशाकर्मी र सरकारी कर्मचारीहरूको साेंच, कार्यशैली र मानसिकतामा पनि परिवर्तन ल्याउन अत्यावश्यक भएको छ ।
काफ्लेजीले यस विषयमा निकै मेहनत गरेर महत्वपूर्ण जानकारीहरूलाई पुस्तकाकार दिनुभएको छ । यसमा उहाँले परम्परागत रुपमा भन्दा नवीन सिद्धान्त, तरिका र प्रविधिको प्रयोग गरेर निकै ठूलो परिवर्तन ल्याउन सकिने विश्वास जगाउन खोज्नु भएको छ । उहाँले यस पुस्तकमा परिवर्तनको शुरुआत आफ्नै गाउँ घरबाट गरिनु पर्ने, सूचना प्रविधि र विशेषज्ञताको प्रयोग गर्ने, सु–शासन प्रणाली अवलम्वन गर्ने, मौलिकताको सम्बद्र्धन गर्ने, अन्यत्र सिकेका पाठहरू समुचित प्रयोग गर्ने र आर्थिक स्रोत र लाभको वितरण गर्दा ध्यान पु¥याउनु पर्ने जस्ता कुरामा प्रशस्त प्रकाश पार्नुभएको छ । समाज र आँफैलाई बदल्ने संकल्प गर्नेहरूका लागि उहाँले सम्वृद्धिको लागि आवश्यक कारक तत्वहरू पहिचान गरी सरोकारवालाहरूसँग कसरी साझेदारी गर्ने भन्ने विषयमा पनि प्रष्ट पार्नुभएको छ ।
प्रस्तुत पुस्तक राजनैतिक नेतृत्वमा रहेका, सामाजिक तथा विकास अभियन्ता, पेशाकर्मीहरू, सरकारी कर्मचारीहरू र सरोकारवालाहरूको लागि उपयोगि हुने विश्वास राख्न सकिन्छ । यस किसिमको विषयमा पुस्तक लेख्ने जमर्काे गरेर यसलाई प्रकाशनसम्म पु¥याउन सफल हुनु भएकोमा श्री जगन्नाथ काफ्लेजीलाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु ।

 

पुस्तकका सम्बन्धमा संघीय मन्त्रालयका सचिव दिनेशकुमार थपलिया भन्छन्-

समग्र विकासलाई दिशाबोध गर्ने व्यवहारिक दस्तावेज

https://sansarnews.com/archives/134728

 

वि.सं.२०७५ माघ २१ सोमवार ०९:१६ मा प्रकाशित