
२१ माघ, काठमाडौं । अन्तत पैञ्युखोलामा हाइड्रो पावर बन्ने भएको छ । पर्वत पैञ्युखोला हाइड्रो पावर कम्पनी प्रालिले निर्माण गर्ने ३.५ मेगावाटको हाइड्रो पावरमा क वर्गको बाणिज्य बैंकसँगै नाम चलेको विकास बैंकले लगानी गर्ने भएपछि यो हाइड्रो पावर निर्माण हुने निश्चित भएको हो ।
झोलामा खोला जस्तो हुन्छ कि, भन्दै आशंका व्यक्त गरिएको र लगानीको निश्चितता नभएको सो हाइड्रो पावरले गति लिन नसकेको बेलामा केही वर्ष अघि जिम्मा लिएका संचालक र नेतृत्वकर्ताहरुको पछिल्लो पहलले मूर्तरुप लिन लागेको हो ।
पर्वत जिल्लाको सुदूर दक्षिण पैञ्यू क्षेत्रको पैञ्यू (सेती) खोलामा हाइड्रो पावर बनाउने सपना धेरै पैञ्युखोलेको रहेको थियो । मुख्यत पूर्व सभासद गुणाखर बस्यालको पहल र राजकुमार बस्यालको सक्रियतामा प्रयास हुँदै आएको सो हाइड्रोको बर्तमान अध्यक्ष भने राजकुमार बस्याल नै हुन् । हाइड्रो कम्पनी नविकरण गर्दै वर्ष कटाउँदै गरेका राजकुमारले यस अघि लगानीकर्ता र पार्टनरहरु केही भित्राए पनि उनी बाहेकको पुरानो समुह यस अघि नै शेयर बुझेर बाहिरीएका थिए ।
पर्वत पैञ्युखोला हाइड्रो पावर कम्पनी प्रा.लिको बर्तमान संचालकमा राज कुमार बस्याल, डा. शिव शंकर बस्याल, एकनारायण भट्टराई, युक्तराज खनाल, आत्माराम पंथी, उमाकान्त सापकोटा र आर्थिक संयोजक लेखनाथ खरेललगायत रहेका छन् । माघ २० गते आइतबार काठमाडौंमा आयोजित एक समारोहमा हाइड्रोका तर्फबाट राजकुमार बस्याल र सिद्धार्थ बैंकका तर्फबाट चन्दन कार्की र गरीमा बिकास बैंकका तर्फबाट माधव आचार्यले ६५ र ३५ का हिसावमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो सम्झौतासँगै पर्वतको पैञ्यूको पानी र पैञ्यूका जनताको लगानीको संभावना पनि बढेको छ । ५० प्रतिशत काम अघि बढ्दा साथ स्थानीय र सर्वसाधारणलाई शेयर खुल्ने प्रावधान बमोजिम (पर्वतको पैञ्यू र विहादी) लगायत पर्वतका जनता थप लाभान्वित हुनेछन् ।
सँझौता लगत्तै मेहनत र प्रयासका बारेमा गरिएको जिज्ञासामा संसारन्यूजसँग कम्पनीका अध्यक्ष राजकुमार बस्यालले भने, ‘अब सपना पूरा हुने विश्वास बढेको छ ।’
वि.सं.२०७५ माघ २१ सोमवार १५:५० मा प्रकाशित