
२३ माघ, लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेतालाई सम्बोधन गर्दै युरोपेली युनियन (इयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताएकी छन् ।
प्रधानमन्त्री मेले सम्झौतामा सबैभन्दा विवादास्पद मानिएको इयू–आइरिस सीमालाई केही समय खुला गर्नेसम्बन्धी प्रावधानलाई पूर्णरुपमा हटाउन आफूले पहल गर्ने बताइन् ।
भन्सार कार्यालय र सवारी जाँच चौकी पुनःराख्न लागिएको भन्ने सम्बन्धमा प्रकाश पार्दै प्रधानमन्त्री मेले बेलायत सरकार इयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको उत्तरी आयरल्यान्डबीच भौतिक सीमाको पक्षमा नभएको बताइन् ।
उत्तरी आयरल्यान्डको बेल्फास्ट भ्रमणमा रहेकी प्रधानमन्त्री मेले उत्तरी आयरल्यान्ड र आयरल्यान्डबीचको सीमामा कडा प्रावधान राखिन्न तर सीमा व्यवस्था नयाँ ढङ्गबाट गर्नुपर्ने बताइन् ।
उनले सन् १९९८ मा सम्पन्न सुखद् शुक्रबार (गुड फ्राइडे) सम्झौताप्रति बेलायत सरकारको पूर्णसमर्थन रहेकामा समेत जोड दिइन् । उक्त सम्झौताकै कारण उत्तरी आयरल्यान्डमा एक दशकभन्दा बढी चलेको हिंसात्मक घटना साम्य भएको थियो ।
प्रधानमन्त्री मेका प्रतिवद्धताका शब्दले पनि ब्रेक्जिट सीमाका द्विविधालाई समाधान गर्न कठिन छ ।
बेलायतले आगामी मार्च २९ मा इयू छाड्दैछ तर बहिर्गमन सम्झौता बेलायती संसद्बाट स्वीकृत भएको छैन । बेलायती संसद्ले प्रधानमन्त्री मेको यसअघिको प्रस्तावलाई गत महिना भारी बहुमतले अस्वीकृत गरेको थियो ।
आयरल्यान्ड र उत्तरी आयरल्यान्डको सीमाको व्यवस्थापनका विषयमा बेलायती संसद्मा अझै मतैक्य हुन सकेको छैन । यही सीमा विवादका कारण दशकौंसम्म हिंसात्मक घटनाहरु भएका थिए, जसका कारण तीन हजार ७०० भन्दाबढीको ज्यान गएको थियो ।
आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको खुला सीमानाका कारण मानिस र वस्तुको निर्वाध आवतजावत हुने गरेको छ तर धेरैजसो ब्रेक्जिट पक्षधर बेलायती सांसद केही निश्चित समयसम्म यो सीमा खुला गर्दा इयूका नियमले बेलायतमाथि समस्या निम्त्याउने बताउँछन् । उनीहरु ब्रेक्जिट सम्झौता हुनुअघि आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमा बन्द गर्नैपर्नेमा जोड दिन्छन् ।
युरोपेली नेताहरु प्रधानमन्त्री मेले इयूसँग गरेको सहमतिमा पुनःविचार गर्न नसकिने बताउँछन् ।
“इयूसँग भएको बहिर्गमन सम्झौता बेलायतका निम्ति इयूबाट विस्तारै बाहिरिनका लागि राम्रो सम्झौता हो,” आइरिस प्रधानमन्त्री लिओ भाराड्करले बताए । “हामी इयू र बेलायतसँगको भावी सम्बन्धलाई अति निकट, व्यापक र महत्वाकाँक्षी बनाउन चाहन्छौं, ताकि आउँदा दिनमा सीमा बन्द गर्न यस्तो समयसीमा कहिल्यै आवश्यक नै पर्ने छैन ।”
तैपनि प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्कर र अरु युरोपेली नेताहरुसँग ब्रसेल्समा बिहीबार भेट गर्दै छन् । उनले आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमालाई केही समय खुला गर्ने यसअघिको प्रस्तावलाई हटाउन आग्रह गर्नुहुने बताइएको छ ।
प्रधानमन्त्री मेले युरोपेली नेतासँग छलफल गरी उनले संशोधित प्रस्ताव अर्को साता बेलायती संसद्मा प्रस्तुत गर्ने बताइएको छ ।