
२५ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनमा ५० वर्ष बढी सक्रिय राजनीति गरेका वरिष्ठ कम्युनिष्ट नेता झलनाथ खनाल राष्ट्रियता संकटमा पर्दा चुप लागेर नबस्ने बताएका छन् ।
पुष्पलाल अध्ययन समाजद्धारा विहिबार दिइएको ‘नागरिकता विधेयक शंसोधन प्रस्ताव स्थगन’ सम्बन्धी ज्ञापनपत्र बुझ्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘हेर्दा प्रगतिशील शक्ति बलियो छ तर राष्ट्र कमजोर छ, यस्तो बेला नागरिकता वा कुनै पनि प्रकारका संवेदनशील विषयले हुने संभावित राष्ट्रघात रोक्न समेत सक्रियता रहने छ ।’
कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले दुई विशाल छिमेकीको बिचमा भएकोले पछिल्लो पटक भएका राजनीतिक प्रयासलाई गम्भीर ढंगले बुझुनुपर्ने र नेकपा ठूलो पार्टी भएका नाताले त्यसका ७ लाख बढी सदस्यलाई राष्ट्रियताका विषयमा जागरण बढाउनुपर्ने सुझाव व्यक्त गरेका थिए ।
नागरिकताको राष्ट्रघात रोक्न अभियान चलाइरहेका वामपंथी नेता साध्य बहादुर भण्डारीले तराइमा भएका चलखेल र राज्यमा पु¥याएको शक्तिसाली घुसपैठले देश खतरामा परेका बताए भने पूर्व प्रसासक सुर्यनाथ उपाध्ययायले रणनीतिक रुपमै राष्ट्र कमजोर बनाउँदै नामेट पार्ने प्रयास गरिएको तर्फ अविलम्ब ध्यान जानुपर्ने बताए ।
सोहि अवसरमा जनमोर्चाका महासचिव जनक शर्मा, पुष्पलाल अध्ययन समाजका बोर्ण बहादुर कार्की, मुकुन्द आचार्य र निलकण्ठ तिवारी तथा सीमाविद् होमनाथ सेढाई लगायतका अभियन्ताहरुको सहभागीता रहेको थियो ।