Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

शौचालय जान पालो पर्खन्छन् कैदीबन्दी



२५ माघ, दमौली ।  तनहुँ जिल्ला कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको छ । ३५ जना क्षमता रहेको कारागारमा हाल १३० जना कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको हो ।

कारागारका चौकीदार नरबहादुर थापाले बिहानको समयमा कैदीबन्दीले शौचालय प्रयोग गर्न लाइन बस्नुपर्ने बाध्यता रहेको जानकारी दिए । कारागारभित्र हाल सातवटा मात्र शौचालय भएकाले कैदीबन्दीलाई समस्या परेको उनले बताए ।

उनले भने, “अरु समयभन्दा बिहानको समयमा समस्या हुने गरेको छ । बिहानपख शौचालय जान पालो पर्खनुपर्छ ।” पर्याप्त शौचालय नहुनु र कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा यस्तो समस्या आएको उनले बताए ।

कारागारका प्रमुख नारायण अधिकारीले क्षमताभन्दा बढी कैदीबन्दी भएकाले यस्तो समस्या आएको बताए । उनले कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरणका लागि पहल गरिएको जानकारी दिए । उनले भने, “दिउँसोको बेलामा त त्यति समस्या हुँदैन, बिहानको समयमा पालो पर्खिएरै शौचालय जानुपर्ने अवस्था छ ।”

पैतीस जनाको क्षमता रहेको कारागारमा ६१ थुनुवा र ६९ कैदी गरी १३० जना कैदीबन्दी रहेका छन् । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा असहज भएकाले यस विषयमा कारागार व्यवस्था विभागसँग छलफल गरी समस्या समाधान गरिने बताए ।

तनहुँ कारागारमा रु आठ करोडको लागतमा महिला बन्दीगृह निर्माण भइरहेको छ । गत फागुनबाट निर्माण थालिएको भवन १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पराजुली होम निर्माण जेबीले महिला बन्दीगृह भवन निर्माण गरिरहेको छ । दुई रोपनी क्षेत्रफलमा प्रहरी व्यारेक, कार्यालय भवन र ५० जना क्षमताको बन्दीगृह निर्माण भइरहेको कारागार प्रशासनले जनाएको छ । हाल तनहुँ कारागारमा महिला बन्दीगृह नहुँदा उनीहरुलाई कास्की र गोरखा कारागार पठाउनुपर्ने अवस्था छ ।

अपाङ्गता भएकालाई सहयोग

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले अपाङ्गता भएका व्यक्तिलाई रु १३ लाख ७० हजार आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहयोग पु¥याउन रेडक्रस सोसाइटीले रिसिङ गाउँपालिका–७ कोटदरवार र रानीपोखरीका अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

कोटदरबारका ८१ र रानीपोखरीका ५६ लाई जनही रु १०÷१० हजारको दरले कूल रु १३ लाख ७० हजार सहयोग प्रदान गरिएको सोसाइटीले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा सञ्चालित ‘नेपालमा भूकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिको लागि सशक्तीकरण र समावेशीकरण कार्यक्रम’अन्तर्गत उनीहरुको जीविकोपार्जनका लागि सहयोग गरिएको जनाइएको छ ।

रेडक्रस सोसाइटीले यसअघि भानु नगरपालिका–१३ का ४३ लाई रु चार लाख ३० हजार र व्यास नगरपालिका–८ का ३७ लाई रु तीन लाख ७० हजार सहयोग गरिसकेको छ ।

तीन क्रसर उद्योगलाई जरिवाना

तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित तीन क्रसर उद्योगलाई जरिवाना गरेको छ । नगरपालिकाको अनुमतिबिना सञ्चालन र उत्खनन गर्ने शुक्लागण्डकी नगरपालिका–५ स्थित प्रोफर क्रसर उद्योग, वडा नं ७ स्थित शिवशक्ति क्रसर उद्योग र मिलीजुली क्रसर उद्योगलाई जरिवाना गरिएको नगरपालिकाले जनाएको छ ।

ती उद्योगले उत्खनन गरेको मालको मूल्याङ्कन गरी प्रदेश सरकारले निर्धारण गरेको प्रति घनमिटर रु १४१ को दरले जरिवाना गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

लाहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय