
२६ माघ, वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखमा हुने भएको छ ।
भियतनामको हनोइमा किमलाई भेट्ने मिति तय भएको बारेमा ट्रम्पले शुक्रबार जानकारी दिएका हुन् ।
“मेरा प्रतिनिधि भर्खरै मात्र महत्वपूर्ण उपलब्धिका साथ उत्तर कोरियाबाट स्वदेश फर्किदै छन्, उनीहरुले दोस्रो शिखर बैठकको स्थान र मितिको टुङ्गो लगाएका छन्,” ट्रम्पले ट्वीटरमा लेखेका छन् ।
उत्तर कोरियाका लागि आफ्ना विषेश प्रतिनिधि स्टेफान बिएगनलाई उद्धृत गर्दै उनले दोस्रो शिखर बैठक भियतनामको हनोइमा यही फेब्रुअरी २७ र २८ तारिखमा हुने जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन् ।
उनले अर्को ट्वीटमा लेखेका छन्, “नेता किम जोङ् उनको नेतृत्वमा उत्तर कोरिया आर्थिक शक्तिराष्ट्र बन्ने छ ।”
ट्रम्पले किम कति क्षमतावान छन् भन्ने बारेमा आफूले राम्रोसँग थाहा पाएको बताएका छन् ।
लामो समयदेखि एक अर्कालाई कठोर शत्रुका रुपमा हेर्दै आएका उत्तर कोरिया, संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच यसअघि गत जुनमा सिंगापुरमा पहिलो शिखर बैठक भएको थियो ।
गत मङ्गलबार संसदलाई सम्बोधन गर्दा पनि राष्ट्रपति ट्रम्पले पहिलो शिखर बैठकपछिका उपलब्धिका बारेमा धेरै चर्चा गरेका थिए । उनले भने, “हाम्रा बन्दी घर फर्किएका छन्, परमाणु परीक्षण रोकिएका छन्, गएको पन्ध्र महिनामा एउटा पनि क्षेप्यास्त्र प्रहार भएको छैन र यो ठूलो उपलब्धि हो ।”
उनले यदि आफू अमेरिकाको राष्ट्रपतिमा निर्वाचित नभएको भए, अहिले अमेरिका र उत्तर कोरियाका बीचमा ठूलो युद्ध हुने दाबी गरेका थिए ।
वि.सं.२०७५ माघ २६ शनिवार १७:२३ मा प्रकाशित