
२८ माघ, काठमाडौं । एउटै दुर्घटना, सशस्त्रका एसपीको मृत्यु, सिडीयो कोमामा तर ड्राइभर भने सकुसल रहेका छन् । यतिबेला सबैको मनमा यहि प्रश्न उब्जिएको छ तर यो कसरी ?
प्रसंग हो, माघ १२ गते शनिबार साँझ बाराको पथलैया–निजगढ सडक खण्ड पसाहा पुल नजिकै भएको हाइप्रोफाइल दुर्घटनाको । बनभोज गएर आइरहेको ना १ झ १६३३ नम्बरको स्कापिर्यो किनारामा ढुंगा लोड गरेर राखिएको रोकिराखेको ट्याक्टरमा ठोक्किदा एसपी बलराम पोखरेलको त्यहि मृत्यु भएको थियो भने, ओखलढुंगा घर भइ बाराका प्रमुख जिल्ला अधिकारी (सिडियो) रहेका गणेश भट्टराई अहिले पनि कोमामा रहेका छन् । उनका नजिकका आफन्त भन्छन् ‘खै बचाउन सकिदैन क्यारे ।’
दुर्घटनामा घाइते भएका अन्य सुरक्षाकर्मीहरु सशस्त्र प्रहरीका हवल्दार सञ्जय कुमार यादव र प्रहरी जवान शम्भु गुरुङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तर सोहि दुर्घटनामा स्कार्पियो ठोक्किएपछि हाम फालेर बाँच्न सफल भएका भनिएका चालक जगतनारायण राउतकुर्मी भने सकुसल रहेका छन् ।
एउटै दुर्घटनामा एसपीले ज्यान गुमाउनु पर्ने र प्रमुख जिल्ला अधिकारी अहिले पनि अचेत भएको अवस्थामा चालक राउतकुर्मीमाथि अनेक प्रश्न उब्जिएका छन् ।
प्रमुख जिल्ला अधिकारीका चालक रहेका कुर्मीलाई यतिबेला मुख्य शंकाका रुपमा हेर्न थालिएको छ । उनीमाथि थुप्रै अनुसन्धान भइरहेका छन् र आरोपहरु पनि लाग्दै आएका छन् । कुर्मीको सम्पर्क सीमा क्षेत्रका तस्करदेखि भारत तथा नेपालका अपराधिक गिरोहसम्म रहेको चर्चा बारामा चलेको छ ।
करिब २३ वर्षदेखि जिल्ला प्रशासन कार्यालय बाराको ड्राइभरको रुपमा कार्यरत कुर्मी जिल्ला सुरक्षा समितिको बैठकमा समेत सामेल हुने गरेको र उनीमाथि सुरक्षासँग सम्बन्धीत सूचनाहरु आपराधिक समुहलाई पु¥याउने गरेको आरोप समेत लागेको छ ।
उक्त दुर्घटना रहस्यमय भएको भन्दै एसपी पोखरेलका दाजु शालीग्राम पोखरेलले कुर्मीविरुद्ध सवारी ज्यानमा कारबाहीका लागि किटानी जाहेरी समेत दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयको ड्राइभर हुनु अघि कुर्मी बाराको बिकट गाउँमा परिवारसँग बस्थे, उनको परिवारलाई जीवनयापन गर्न पनि कठिन हुने गरेको थियो । तर, अहिले कुर्मी करोडौं सम्पत्तिका मालिक भएको भन्दै कलैयावासी अचम्म पर्ने गरेका छन् । कुर्मीले आपराधिक गतिबिधि गर्नेहरु सँग साँठगाठ गरेर कमाएको पैसा सरकारका उच्च पदस्थलाई समेत पु¥याउने गरेको अनुसन्धानले देखाएको अनुसन्धानमा संलग्न कर्मचारीको भनाइ रहेको छ ।
ठूलो रकम लिएर सयौंको संख्यामा भारतीयहरुलाई नेपाली नागरिकता दिलाएको आरोप पनि कुर्मीमाथि लाग्ने गरेको छ ।
ड्राइभरी गरेर मासिक २० हजार कमाउने कुर्मीले कलैया उपमहानगरपालिकामा १ मोतिवागमा करिब ४ करोड पर्ने तीन तले बंगला, काठमाडौंको अनामनगरमा नेपाल सरकारका अवकासप्राप्त सचिव सिताराम खनालको घर नजिक करिब ५ करोडको जग्गा, बाराको ब्रम्हपुरी गाउँमा पाँच करोड मूल्यको पाँच विगाहा जग्गा रहेको पनि अनुसन्धानमा खुलेको छ ।
हाल अनुसन्धानका लागि कुर्मीलाई हिरासतमा राखिएको छ । दुर्घटना बारे सुरक्षा निकायले अनुसन्धान बढाइरहेको छ । तर, कुर्मीलाई बचाउन विगतमा प्रमुख जिल्ला अधिकारी बनेर गइसकेकाहरुको स्थानीय प्रशासनमा दवाव रहेको छ । सोमबारको साँघु साप्ताहिकबाट