
मान, प्रिया !
हाम्रो भ्यालेनटाइन, धान दिवस हो
छुपुछुपु रोप्दै तिमीले गाएका माल्सिरी गीतहरुले
लहलह बाला झुलाउन सक्छन्
प्रेमका नाममा भोका बस्नेहरुलाई
एक छाक चौलानी पिलाउन सक्छन।
बुझ, प्रिया !
हाम्रो भ्यालेनटाइन, श्रम दिवस हो
भट्टाको तातो रापमा चुहिएका निला पसिनाहरुले
एकजोर रातो ईट्टामा मैले तिम्रो नाम लेखेको छु।
यिनै ईट्टाहरुको मन्दिरले प्रेमका लागि निर्वासित हुनेहरुलाई
ओत लाग्ने एउटा छाना दिन्छ , अडिने एउटा भित्ता दिन्छ ।
सम्झ, प्रिया !
हाम्रो भ्यालेनटाइन , शहीद दिवस हो
जसका ऐठानी सपनाहरुले ,तिमी नब्युझिदै
प्रेम गर्नेहरुका पखेटाहरुमा धारिला प्वाँख उमारिदिन्छन
र, उडाइदिन्छन प्रेम गर्नेहरुलाई स्वतन्त्र आकाशमा ।
मेरी प्रिया !
यस दिन फेसबुकका भित्ताहरुमा नपठाऊ राता गुलाबहरु
जुन दिन म नरहुला या तिमी नरहुली
त्यस दिन यादहरु लेख्नलाई चाहिन्छन गुलाबका पत्ताहरु
सम्झनाहरु कोर्नलाई चाहिन्छन गुलाबका पातहरु।
सम्झिनलाई `भ्यालेनटाइन डे´ चाहिन्छ- यो झुटो कुरा हो
उपहार दिनलाई गुलाब चाहिन्छ – यो केवल बकबास हो।
सम्झिनलाई छुट्टै दिन कहाँ चाहिन्छ र?
तिमी सुख दुखका सुस्केराहरुमा मलाई सम्झिन सक्छौ
म श्रमका पसिनाहरुमा तिमीलाई सम्झिन सक्छु।
तिमी शब्दहरुमा मलाई भेट्टाउन सक्छौ
म अक्षरहरुमा तिमीलाई कोर्न सक्छु।
बादलको गुच्छामा तिमी सास पठाउन सक्छौ
हावाको झोक्कामा म याद पठाउन सक्छु।
मेरी प्रिया ! मायाका लागि छुट्टै कुनै दिन कहाँ चाहिन्छ र?
धान दिवस- हाम्रो प्रणय दिवस हो।
श्रम दिवस -हाम्रो प्रणय दिवस हो ।
शहीद दिवस -हाम्रो प्रणय दिवस हो।
कवि रामलाल जोशी चर्चित उपन्यास ‘ऐना’ र ‘सखी’का लेखक हुन् ।