
फेब्रवरी १३ का दिन बेल्जियमस्थित जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली मञ्च समर्थित नेपाली प्रवासी एकता मञ्चको संयुक्त आयोजनामा नेपाली जनयुद्ध तथा जनआन्दोलनका शहीदहरुको सम्झना गरिएको छ ।
२४औं जनयुद्ध दिवसको सन्दर्भ पारेर नेपालमा भएको जनआन्दोलन र जनयुद्धको दौरानमा सहदात प्राप्त ज्ञात अज्ञात शहीदहरुप्रति एक कार्यक्रमका बिच बेल्जियमबासी नेपालीको तर्फबाट श्रद्धान्जली अर्पण गरिएको हो ।
कार्यक्रममा एनआरएन आईसिसि सचिव श्रीमती जानकी गुुरुङले नेपालको हरेक राजनीतिक परिवर्तनको लागी बिभिन्न समयमा भएका आन्दोलनहरु र जनयुद्धमा आफ्नो ज्यान गुमाएका शहीदहरुप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै आफू पनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारकै सदस्य भएको स्मरण गरेकी थिइन् ।
नेपालको हरेक प्रकारको राजनैतिक परिवर्तनलाई आत्मसाथ गर्दै नेपाल सरकारलाई सहयोगीको रुपमा एनआरएनलाई उभ्याउनु पर्छ भन्ने मान्यता राख्दै आएको र वर्तमानमा नेपालको समृद्दि र बिकासको लागी एनआरएनले हातेमालो गर्नुपर्ने बिचार समेत राखेकी थिइन् । उनले नेपाल सरकारले ब्यबस्था गर्न लागेको एनआरएन नागरिकता र बिदेशमा बसेकाहरुको भोटिङ अधिकारको बारेमा सबै संघसंस्थाहरुसँग मिलेर प्रभावकारी कार्यन्वयनको अपिल गर्नुपर्ने पनि बताइन् ।
सो अवसरमा ओएनएफ युरोप सदस्य तथा बेल्जियम कार्यदल सदस्य नारायण अधिकारीले वर्तमान नेकपाको सरकारलाई असफल हुने छुट नभएको र जनताले गरेका आलोचनाहरुलाई हामीले प्रवासबाट पनि नियाली रहेकोले वर्तमान सरकारले देखाएका समृद्दिका सपनाहरु सफल हुने कुरामा आसावादी रहेको बताएका थिए ।
सो अवसरमा मगर मुक्ति मोर्चा युरोपका ईन्चार्ज बिरमान मगर, तमु मुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा युरोप ईन्चार्ज गम बहादुर गुरुङ, एनआरएन बेल्जियमका अध्यक्ष लोक प्रसाद दहालले जनयुद्धको र जनआन्दोदलनको दौरानमा बेपत्ता भएकाहरुको खोजि तथा हजारौं घाईते आपाङ्गहरुलाई राज्यले उचित ब्यबस्थापन गनुपर्ने बताएका थिए ।
प्रवासी मञ्च बेलिल्जम कार्यदलका सदस्य प्रकाश पौडेल, कास्की समाज बेल्जियमका अध्यक्ष डिल्लीराम भण्डारी, शेर्पा समाज बेल्जियमका अध्यक्ष सोनाम शेर्पा, ईन्द्रधनुष बेल्जियमका अध्यक्ष मिन गुरुङ, पत्रकार तथा ओएनएफका संस्थापक सदस्य पुरुषोत्तम सुबेदी र फिल्म निर्माता तथा कलाकार नबिन सुुब्बा समेतले जनआन्दोलन र जनयुद्धको बारेमा चर्चा गर्दै ज्ञात अज्ञात शहीदहरुप्रति श्रद्धान्जली ब्यक्त गरेका थिए ।
प्रवासी नेपाली मञ्च बेल्जियमको अध्यक्ष बोधराज पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम जनप्रगतिशिल मञ्च बेल्जियमका निवर्तमान अध्यक्ष चित्र सुबेदीको सञ्चालन रहेको थियो भने, जनप्रगतिशिल मञ्च बेल्जियमका अध्यक्ष जित बहादुर लामाले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
कार्यक्रममा सुरेन्द्र भुसालद्धारा पठाइएको जनयुद्ध दिवसको शुभकामना तथा सहिदहरुप्रति श्रद्धासुमनको सन्देश पत्र सञ्चालकले पढेर सुनाएका थिए । कार्यक्रमको प्रमुख अतिथी जिल्ला अध्यक्ष बिरमान मगर रहेका थिए ।