
३ फागुन, सप्तरी । सप्तरीमा पहिलोपटक सिटीस्क्यान र सघन उपचार कक्ष आइसीयु सेवा शुरु हुने भएको छ । रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले सिटीस्क्यान मेसिन जडानकार्य सम्पन्न गरेको अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले जानकारी दिनुभयो । ठाकुरले पाँच भेन्टिलेटरसहितको आइसीयु र पाँच सिसीयुसमेत जडान गरिएको बताए ।
मेसिन नहुँदा सप्तरी जिल्लाका गम्भीर प्रकृतिका बिरामी आइसीयु सेवा र सिटीस्क्यान सेवा लिन विराटनगर र धरानस्थित अस्पतालमा जानुपर्ने बाध्यता थियो । गरीब, असहाय र विपन्नवर्गका बिरामीले अन्यत्र जिल्लाको अस्पताल गई महँगो शुल्कमा सिटीस्क्यान गराउन नसक्दा उनीहरू उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य भएको उनले बताए । आइसीयुको अभावमा ज्यान जोखिममा पर्ने सम्भावना हुने भयले सप्तरीस्थित अस्पतालले बिरामी अन्यत्र जिल्लामा पठाउने गर्ने गरेका छन् ।
छ दशक अघि स्थापना भएको सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा समेत उपलब्ध हुन नसकेको सिटीस्क्यान र आइसीयु÷सीसीयु सेवा सञ्चालन हुने कुराले सप्तरीवासीलाई खुशी तुल्याएको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताए ।
मस्तिष्कघात लगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने रेडियोलोजिष्ट डा उज्जवल ठाकुरले जानकारी दिएका छन् ।
जिल्लाका बिरामीलाई आवश्यक स्वास्थ्य सेवा लिन बाहिर जिल्ला जानु नपरोस् भनेर सिटीस्क्यान र आइसीयु सेवा उपलब्ध गराउन खोजिएको डा ठाकुरले बताए । सञ्चालक ठाकुरले मुटुरोग, बालरोग, स्त्रीरोग विशेषज्ञ, जनरल सर्जन, जनरल फिजिसियन, अर्थोपेडिक, रेडियोलोजिष्ट, एनेस्थेसिया र छ मेडिकल अधिकृत जुटाइ सेवा विस्तार गर्न लागिएको जानकारी दिए ।
चितुवाको आक्रमणबाट पाँच घाइते
सप्तरीको कञ्चनरुप नगरपालिका–१० मा घरमै आई जङ्गली पाटे चितुवाले आक्रमण गरेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको पाटे चितुवाको आक्रमणमा परी कञ्चनरुप–१० बस्ने ६० वर्षीया राजवतीदेवी चौधरी, ३७ वर्षीय भरत चौधरी, हिरानन्द चौधरी, महावती चौधरी र सत्यनारायण चौधरी घाइते भएका छन् ।
बाँया तिघ्रा र घुँडामा चोट लागेकी राजवतीको स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा, दाहिने हातमा चोट लागेका भरत तथा शरीरको विभिन्न भागमा चोट लागेका हिरानन्द, महावती र सत्यनारायणको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्ष पथरी पोष्टबाट रेन्जरसमेतको टोलीले स्थानीयवासीको सहयोगमा चितुवालाई जालले छोपी नियन्त्रणमा लिएका छन् । चितुवासमेत घाइते भएकाले उपचारको लागि कोशीटाप्पु वन्यजन्तु आरक्षको कार्यालय कुशाहा लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।
वि.सं.२०७५ फागुन ३ शुक्रवार ०९:२१ मा प्रकाशित