३ फागुन, तुलसीपुर । आज बिहान चट्याङ परेर आगलागी हँुदा रु पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा विककी श्रीमती ७४ वर्षीय मोती विक आगोले जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आगलागीबाट घरमा रहेको महत्वपूर्ण कागजात, घर, घरमा रहेका काठ दाउरा नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् । विकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
राजमार्गलाई क्लिन ग्रिन बनाइने
प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले पूर्वपश्चिम राजमार्गलाई क्लिन ग्रिन राजमार्ग गराउने बताउनुभएको छ । प्रदेश सरकार स्थापना दिवसमा राजमार्ग लमहीमा सरसफाइको अवसरमा बरालले बाँकेको चिसापानीदेखि नवलपरासीसम्मको राजमार्गलाई क्लिन ग्र्रिन राजमार्ग बनाउने अभियान थालेको बताए ।
स्थापना दिवसको अवसरमा राजमार्गमा मुख्य शहर सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो । जसअन्तर्गत दाङको लमहीस्थित राजमार्ग सरसफाइको नेतृत्व समाजिक विकासमन्त्री बरालले गरेका थिए । प्रदेश स्थापना दिवसको अवसरमा बिहानै हातमा झाडु लिएर मन्त्री बरालसहित जनप्रतिनिधिले झण्डै एक किलोमिटर राजमार्ग सरसफाइ गरेका थिए ।
मन्त्री बरालसँगै सरसफाइमा प्रदेशसभा सदस्य इन्द्रजित चौधरी, सरस्वती गौतम, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीलगायत, प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, देउखुरी उद्योग वाणिज्य सङ्घ, लमही जेसिजसहित लमहीमा क्रियाशील एक दर्जन सङ्घसंस्थाको सहभागिता रहेको थियो ।