back

विवाह भन्दा खर्चिलो बन्दै छ व्रतबन्ध

वि.सं.२०७५ फागुन ६ सोमवार

666 

shares
GLOBAL IME AD
NTC AD

६ फागुन, गोदावरी । मौलिक रीतिथिति र संस्कृतिमा धनी मानिएको नेपाली समाजमा सकी नसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । सुन्दा अचम्म लाग्न सक्छ कि पहरी जातिमा विवाह भन्दा पनि व्रतबन्ध खर्चिलो हुने गर्छ । परम्परा धान्ने नाममा कतिपयलाई ऋण नै खोज्नुपर्ने अवस्थामा पु¥याउँछ । धेरैले घरखेत बन्धकीमा राखेर परम्परा धानेका हुन्छन् ।

गोदावरी नगरपालिका वडा नं ४ बडिखेलका ५५ वर्षीय नरबहादुर पहरीका नाति आशीषको ११ वर्षको उमेरमा व्रतबन्ध हुँदैछ । नरबहादुरले नातिको व्रतबन्धमा ३०० जना साथीभाइ, नातागोता र आफन्तलाई निमन्त्रणा गर्ने योजना बताएका छन् ।

उनका अनुसार व्रतबन्धमा निमन्त्रणा गरिएकामध्ये २५ जना महिलालाई पछ्यौरा र चोलो, अनि २५ जना पुरुषलाई ७ हातको फेटा र टोपी बाँड्नै पर्ने चलन छ ।

नरबहादुरले भने, – “बाजामा ३० देखि ५० हजार रुपैयाँ जति खर्च हुन्छ । घरका हरेक सदस्यलाई नयाँ लत्ताकपडा हालिदिनुपर्छ । चौध थरिका गेडागुडी भिजाएर सितन बनाउनुपर्छ । स्वस्थानी व्रतकथाको अन्तिम दिन देवालीमा व्रतबन्ध गर्ने चलन हुँदा अनिवार्य हाँस, कुखुरा, बोका र कुमारीपाठीको मासु चाहिन्छ । सगुनमा जाँड, रक्सी, छ्याङ्ग, अण्डा, पान र माछा सबैको जोडजाम गर्न र भोज खुवाउन झण्डै ५ लाख खर्च हुने अनुमान गरेको छु ।”

बडिखेल घर भएका राजु पहरी र सरस्वती प्रहरीका ११ वर्षीय छोरा अजय पहरीको भोलि फागुन ७ गते व्रतबन्ध हुँदैछ । छोरोको व्रतबन्धमा ४०० जना साथीभाइ र नातागोतालाई उहाँ निमन्त्रणा गर्दै छन् ।

व्रतबन्ध अघिपछि गरी लगभग एक हप्ताको भोज, तीन वटा खसी, दुई वटा हाँस, तीन वटा कुखुराको भाले, तीन बोरा चामलको जाँड, १०० लिटर रक्सी, बाजा र भाँडाकुँडा सबै गरी पाँच देखि साढे पाँच लाख रुपैयाँ जति खर्च हुने उनी अनुमान गर्छन् ।

त्यसैगरी, बडिखेल निवासी ५४ वर्षीय अलैची पहरीका १३ वर्षीय नाति विकल पहरीको पनि भोलि नै व्रतबन्ध छ । अलैचीको डाक्नुपर्ने पाहुनाको सूची ६०० देखि ७०० जनासम्मको छ ।

उनले भने, – “नजीकका पुरुष आफन्तलाई २०० वटा फेटा, टोपी र २०० वटा पछ्यौरा चोलो, धोती बाँड्नुपर्छ ।” दुई वटा पोथी हाँस, पाँच वटा कुखुराको भाले, एउटा कुमारीपाठी, ४ वटा खसी, ३० किलो कुखुराको मासु, बाजा, भोज र भाँडाकुडा किनमेलमा ६ देखि ७ लाख खर्च हुन्छ ।”

नेपाली समाजमा आ–आफ्नो परम्परा र संस्कारअनुसार विवाह तामझामका साथ गर्ने चलन छ । कतिपयले आफ्नो हैसियत नभए पनि अरुलाई देखाउन कै लागि बढी खर्च गर्छन् । विवाहमा धेरैजसो मानिसको बढी नै खर्च हुने गर्छ । बडिखेलका पहरी जातिको व्रतबन्ध विवाह भन्दा पनि महङ्गो हुने गर्छ । पहरी परम्परा, संस्कृति र रीतिरिवाज नेवार समुदायको जस्तै देखिए पनि कुनै रुपमा मेल नखाने पहरी अग्रज दलबहादुर पहरीले बताए ।

पहरीले हरेक वर्ष स्वस्थानी व्रतकथा समाप्तिको अन्तिम दिन देवाली गर्ने गर्छन्न् । यही देवालीमै उनीहरुको व्रतबन्ध गर्ने सदियौँ पुरानो चलन छ । पहरीको व्रतबन्धमा विवाहमा जस्तै विभिन्न प्रकारका बाजागाजा राख्नैपर्छ ।
यो जातिमा प्रेम विवाह गर्ने चलन बढी छ । हरेक बिजोर वर्ष छोरो नातिको व्रतबन्ध हुने गर्छ । यदि व्रतबन्ध गर्न आँटेको वर्ष कुनै छेकथुन भएमा अर्को बिजोर वर्षमा छानिन्छ ।

यस जातिमा देवालीका दिन प्रत्येक घरबाट हाँस अनिवार्य निकाली काट्ने चलन रहेको छ । हाँस बिना देवाली हुँदैन । स्थानीयवासी पवित्रा पहरीले भने, – “हाँस काट्ने, चामलको रोटी (चटामरी) पकाउने, कुलदेवतालाई चढाउने र रोटीमाथि हाँसको टाउको राखेर घरको थकालीलाई दिने चलन छ । सादा चामलको रोटीमा हाँसको फिला हाली सासू र जेठानीलाई घरकी कान्छी बुहारीले दिने चलन अझै कायम छ ।”
यस जातिको व्रतबन्धमा मामाभारी र फुपूभारी ल्याउने चलन छ । भान्जाको व्रतबन्धमा मामाले लुगा, जुत्ता, गहना गाग्रो, करुवा, पूजाको थाली, १४ थरीका काँचो वा पाकेका सितन, जाँड, रक्सी, चिउरा र मासु दिन्छन् ।

भान्जाको व्रतबन्ध सम्पन्न गरी मामामाइजूलाई विदा नगरेसम्म उनीहरु भान्जाको घरमा बस्ने चलन छ । भान्जाको व्रतबन्ध सम्पन्न गरेर घर फर्कंदा उनीहरुलाई काटेर खुइल्याइएको बोकाको फिलामा चार÷पाँच हजार रुपैयाँ राखेर धूपबत्ती बाली पूजा गरी विदा गर्नुपर्छ ।

स्थानीयवासी मैया पहरीले भने, – “फुपू पनि भदा वा माइतीले व्रतबन्ध समाप्ति पछि विदा नगरेसम्म माइती नै बस्नुपर्छ । फुपूले भदाको व्रतबन्धमा काटेर खुइल्याइएको कुमारीपाठीलाई धूपबत्ती बालेर पूजा गर्नुपर्छ । मामामाइजूले भान्जाको व्रतबन्धमा जति रकम हालेका हुन्छन् त्यसको आधा रकम फुपूले पनि भदालाई हालिदिनु पर्छ ।”
व्रतबन्धको चार दिनपछि मामामाइजू र फुपूलाई उनीहरुले ल्याएको भोज वा सामग्रीमा आधा फर्काउनुपर्छ । आफन्तसहित मामामाइजू र फुपूलाई मादल बजाएर उनीहरुले सगुनका साथ गीत गाउँदै घर फर्काउने पुरानो चलन छ । यो चलन नेपालका अन्य जातिका चलनसँग मेल खाँदैन ।

पहरी जातिको घरमा हरेक महिनामा कम्तीमा एक वा दुईवटा चाडपर्व आई नै रहेको हुन्छ । बाँसको सामग्री निर्माण गर्ने यो जातिको पुख्र्यौली पेशा हो । बडिखेलका ६० प्रतिशत पहरीले बाँसको हस्तकला सामग्री निर्माण गरी आफ्नो दैनिकीका साथै चाडपर्व र परम्परा धान्दै आएका छन् ।

वि.सं.२०७५ फागुन ६ सोमवार १४:५३ मा प्रकाशित

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित...

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा...

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिका ७, राम टोलकी एक युवती...

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बागमती । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा...