back

विमान विद्रोह,३० मिनेटमा रचिएको एउटा इतिहास

वि.सं.२०७५ फागुन ७ मंगलवार

438 

shares
GLOBAL IME AD
NTC AD

म अत्तालिएर बाहिर–भित्र गरिरहेको यात्रुहरुलाई थाहा थियो जहाज तल झर्ने र माथि जाने क्रम चलिरहँदा मैले एउटा यात्रुको एक हातले पक्डेर उभिँदा रिवल्भर बोकेको हात उनको शरिरमा ठोकिएछ । यात्रुले कम्पित स्वरमा भने, ‘तपाईको हात काँपिरहेको छ, मेरो शरिरबाट रिवल्भरको नाल हटाइदिनुपर्यो ।’

 

हामी जहाभित्र पस्दा ककपिटनेरको एउटा सिट मात्र खाली थियो,अर्काेमा भने एकजना मान्छे बसिसकेका थिए । हाम्रो योजनाअनुसार एउटामा वसन्त भट्टराई र अर्कोमा म बस्नुपर्ने थियो । अब के गर्ने ?

म त्यो सिटमा बसिरहेका यात्रुनजिक गएँ र भनेँ, ‘मलाई जहाज उडाएको हेर्न साहै्र रहर छ । तपाई मेरो सिटमा बसिदिनु भयो भने म यहाँ बसेर हेर्न पाउँथे ।’

उनले मेरो अनुरोध स्विकारे र सिटबाट पछाडि गए । अब योजना मुताबिक वसन्त र म ककपिट नजिक, हाम्रा अर्का साथी नगेन्द्र ढुङ्गेलले अलि पछाडि अन्य यात्रुहरुसँगै भयौ । हामी सबैले आ–आफ्ना हतियार बोकेका थियौँ । मैले मोटो ज्याकेटमुनि रिवल्भर लुकाएको थिएँ । वसन्तले ग्रिनेड लिएका थिए भने नगेन्द्रसँग मेरोजस्तै रिवल्भर थियो ।

शाही नेपाल वायुसेवा निगमको त्यो सानो १९–सिटे ट्विनअटर विमान विराटनगरबाट काठमाडौ जान भनेर उड्न लाग्दै थियो । विमानमा चालक दलका तीनजना बाहेक हामी १४ जना यात्रु थियौँ । पछि थाहा पाएअनुसार त्यस दिन विमानका पाइलट केदारराज मानन्धर र को–पाइलट श्रीदेव वैद्य रहेछन् ।

हामी बसेको केही मिनेटमै जहाज उड्यो । जहाज उडेको पाँच मिनेटमा म सिटबाट उठेँ र वसन्तलाई भनेँ,‘भित्र हेर्न जाने होइन ?’

वसन्त पनि सिटबाट उठे । त्यस दिन जहाजमा पुरुष परिचारक थिए । हामी ककटपिटमा छिर्न खोज्दा उनले रोक्न खोजे । वसन्त ती कर्मचारीसँग कुरा गर्दै थिए, म भित्र छिरिहाँले । र,पाइलटको कुर्सीनजिकै पुगेँ । त्यतिन्जेलमा वसन्त पनि छिरे । को–पाइलटले वसन्तलाई रोक्न खोज्दै थिए,मैले पाइलटको घाँटिमा पछाडिबाट एक हातले अँगालो हाँले र अर्काे हातले कन्चटमा रिवल्भरको नाल तेर्साएँ । आफ्नो कन्च्टमा रिवल्भर तेर्साएको देखेर पाइलट बेस्सरी डराए, जुन स्वाभाविक थियो ।

‘के गरेको यस्तो ?’ उनी अत्तालिए ।

उनले कन्चटमा तेस्र्र्याएको रिवल्भर हटाउन खोजे । को–पाइलट वैद्यलाई वसन्तले नियन्त्रणमा लिइसकेका थिए ।

ज्हाजले भर्खरै उचाइ लिइरहेको हुनाले पाइलटको एउटा हात उडान संयन्त्रमा व्यस्त थियो । मैले बन्दुक झन जोडले दबाएपछि उनले जहाज चलाइरहेको हात पनि हटाएर दुबै हातले रिवल्भर हटाउने प्रयास गरे । संयन्त्रमा दुबै हात नभएपछि जहाज एकाएक तल झर्न थाल्यो । यसले गर्दा उनले फेरि एउटा हात रिवल्भरबाट हटाएर संयन्त्रमा नै लगे । जहाज फेरि माथि नै उड्न थाल्यो । मेरो रिवल्भर उनको कन्चटमै थियो । जहाज अलिमाथि नै पुगिसकेपछि उनले फेरि एकपटक ‘के गरेको ?’ भन्दै रिवल्भर हटाउने प्रयास गरे ।

त्यसैबेला कसैले पछाडिबाट मेरो कठालो समाएर जोडले तान्न खोज्यो । अब ककपिटमा साँच्चिकै लडाइँ सुरु भएको थियो । फर्केर हेर्छु,ती त परिचारक रहेछन् । वसन्तलाई ठेलेर उनी पाइलटलाई छुटाउन आएका रहेछन् । तर, एकै छिनमा वसन्तले तिनलाई कठालोमा समाएर तानिहाले । उनको नजिकै ग्रिनेड लगेर वसन्तले भने, ‘हामीले भनेको मान्ने कि यो ग्रिनेड यहीँ खोलिदिऊँ ? हामी त क्रान्तिकारी हौ, मरे मर्छौ । तिम्रो बेवकुफिले तिमी र सबै यात्रुको ज्यान जान्छ । के गरौँ ? बेवकुफीले तिमी र सबै यात्रुको ज्यान जान सक्छ । के गरौँ ?’

त्यसपछि बल्ल को–पाइलटले पुरुष परिचारकलाई ककपिटबाट बाहिर जान भने । उनीहरुले सन्चारयन्त्र बन्द गरे । अब एयरपोर्टसँगको सम्बन्धविच्छेद भयो । जहाज घरी तल ,घरी माथी गरिरहेको थियो । त्यत्तिकैमा वसन्तले पाइलटले कानमा लगाएको माइक्रोफोन खोलिदिए ।

यतिन्जेल मैले पाइलटलाई नियन्त्रणमा लिएको थिँए तर केही भनेको थिइनँ । यसो बाहिर हेरेको त जहाज निकै पश्चिम पुगिसकेको जस्तो लाग्यो । अनि, मैले पाइलटलाई भने, ‘हामीसित हतियार छन् । हामी ज्यानको माया मारेर देशका लागि लडिरहेका क्रान्तिकारी हौँ । हामीसँग लडेर न तपाईले केहि पाउनुहुन्छ ,न जित्नुहुन्छ । त्यसैले हामीले भनेको मान्नुस् । र,यो जहाजलाई फर्काउनुहोस् ।’

मेरो कुरा सुनेर पाइलट मानन्धर अलि शान्त भए । उनले काँपेको स्वरमा भने, ‘तपाईले कन्चटमा दुलोपर्ने गरी बन्दुक लगाउनु भएको छ । पहिले यो बन्दुक हटाउनुस् । तपाईले भनेकै ठाँउमा जहाज लगिदिउँला ।’

अनि बल्ल मलाई याद भयो, जोस र डरमा मैले रिवल्भरको नालले उनलाई साह्रै घोचेको रहेछु । मैले रिवल्भर कन्चटबाट हटाएर टाउकाको पछाडिपट्टि लगाएँ ।

त्यतिबेलासम्म पनि जहाजका यात्रुलाई ककपिटमा के भईरहेको छ भन्ने थाहा थिएन । जहाज अस्वाभावीक तरिकाले तलमाथि गरेपछि केही गडबड छ भन्ने त लागेको हुँदो हो ।

मैले पाइलटलाई जहाज उतार्ने ठाउँबारे बताँए, ‘जहाजलाई विराटनगरको दक्षिणमा भारतको फारबिसगन्जजामा उतार्नुपर्छ ।’

‘यत्तिकै नक्सा नभई म लैजान सक्दिनँ,कहाँ कति टाढा छ,यहाँबाट हेरेर थाहा हुँदैन,’पाइलटले भने ।

‘विराटनगर बाट ३० किलोमिटर दक्षिण हो,’ मैले भनेँ ।

उनले जहाज कोसी नदीतिर मोडे । अनि, मैले फारबिसगन्ज बजारको नक्सा कोरेको कागज उनलाई देखाएँ, ‘रेल्वेस्टेशनको ठीक पुर्वपट्टि एउटा घाँसे मैदान छ । त्यसको एक छेउमा ठुलो सिमलको रुख छ । रुखको टुप्पोमा रातो झन्डा बाँधिएको छ ।त्यही झन्डालाई खोज्दै हिड्नुस् ।’

यति भन्दाभन्दै मैले तल हेरे । जहाजले एउटा सहरलाई पार गर्न लागेको देखेँ । कुन सहर हो भनेर पत्ता लगाउन म ककपिटबाट बाहिर निस्किएर जहाजको बीचको झ्यालमा आएर हेर्न थालेँ । ककपिटबाट अगाडि त देखिन्थ्यो तर तल के छ भनेर झ्यालबाट हेर्न मिल्दैनथ्यो । हातमा रिवल्भर लिएर म ककपिटबाट निस्किएको देखेपछि यात्रुमाझ हल्लीखल्ली भयो । सबै भयभीत र त्रस्त देखिए ।

यात्रुको बीचमा रिवल्भर लिएर बसेका भए पनि नगेन्द्रले केही भनेका थिएनन् । म ककपिटबाट रिवल्भरसहित आएको देखेपछि मानिसहरु आत्तिए । उनीहरुले हल्लाखल्ला गर्न थालेपछि नगेन्द्रले उठेर रिवल्भर देखाए । उनले सबैलाई ‘राजनीतिक कारणले विमान अपहरण गरिएको, कसैलाई केहि हानि नहुने’ भन्दै शान्त रहन भने ।

मैले झ्यालबाट जति नियाले पनि कुन सहर हो, पत्ता लगाउन सकिनँ । नसकेपछि म फेरी ककपिटतिर फर्किदै थिएँ । एउटी युवतीले मेरो नाम लिएर रुँदै गरेको सुनेँ,‘दुर्गा दाइ ! के गरेको यस्तो ? लौ न !’
उनी रुँदै थिइन् । मलाई चिनेकी रहिछन् । तर, उनी को हुन् भनेर सोधीखोजी गर्ने फुर्सद मलाई थिएन । म वेगले ककपिटभित्र छिरँे । र, पाइलटलाई सोधे, हामी विराटनगरभन्दा कति टाढा छौ ?’
‘एक सय किलो मिटर दक्षिणमा उडिरहेका छौँ ।’

फारबिसगन्ज त जम्मा ३० किलोमिटरमा थियो । हामी धेरै टाढा पुगिसकेछौँ । मनमा लाग्यो–लौ बर्बाद भयो ! फारबिसगन्ज पुग्न सक्ने भइएन !

त्यसबेला पाइलटले भने, ‘जहाजलाई वीरपुरतिर फर्काएर लैजाऊँ ।’

उनले नक्सामा वीरपृ्र देखाउँदै थपे, ‘वीरपुरको मैदानमा उर्तान सकिन्छ ।’

उनको कुरा र आफ्नो सम्भावित असफलताले हामीलाई निकै उत्तेजित बनाएको थियो । हामी के गर्ने, कसो गर्ने भनेर यताउ ता गरिरहेका थियौँ । ककपिटबाट बाहिर निस्किएर घरि झ्यालबाट बाहिर हेर्थे, घरी भित्र छिर्थे ।

बसन्त भने ककपिटमै बसे । उनको एउटा हातमा ग्रिनेड थियो, अर्को हात त्यसको पिनमा ।

हामीले भनेको नमाने जुनसुकै बेला पनि निकालिदिने धम्की दिएर उनले पाइलटलाई थर्काएपछि जहाज पृ्र्ण रुपमा हाम्रो नियन्त्रणमा थियो । तर, कहाँ गएर अवतरण गर्ने भन्ने तय नहुँदा जहाज आकाशमा चिलजसरी निरुद्देश्य उडिरहेको थियो ।

नगेन्द्रले बारम्बार यात्रुलाई धम्की दिइरहेका थिए, ‘कोहि उठ्यो कि गोलि हान्दिन्छु । नकराईकन आफ्नो सिटमा बस्ने ।’

हाम्रो उत्तेजना र हतियारमा देखेर जहाज, चालक र यात्रुहरुले आत्मसमर्पण गरिसकेका थिए । जहाजमा निस्तब्धता छाइसकेको थियो । कसैले एक शब्द बोल्ने हिम्मत गरेको थिएन । धेरैजसो यात्रृ् मृ्र्तिवत् थिए । कोही आँखा चिम्लिएर बसेका थियो । कोही भने आँखा चिम्लियो भने केही भइहाल्छ कि भनेझैँ गरी ट्वाल्ल आँखा खोलेर बसेका थिए । सबैका ओठ सुकेका र अनुहार पहेलो भइसकेका देखिन्थे । नगेन्द्र रिवल्भरको ट्रिगरमा औँला राखेर कसैलाई ताकेजस्तो गरी उभिएका थिए । आँखा खुलै राख्नेहरुजति सबै एकाग्र भएर रिवल्भरको नाल हेरिरहेका थिए । नगेन्द्रले जता रिवल्भर फर्काउँथे, त्यसतर्पmका यात्रु रिवल्भरको नाल हेरेर काँपिरहेका हुन्थे । मेरा हातमा पनि त्यस्तै रिवल्भर भएकाले मसँग कसैले आँखा जुधाइरहेका थिएनन् ।

म अत्तालिएर बाहिर–भित्र गरिरहेको यात्रुहरुलाई थाहा थियो जहाज तल झर्ने र माथि जाने क्रम चलिरहँदा मैले एउटा यात्रुको एक हातले पक्डेर उभिँदा रिवल्भर बोकेको हात उनको शरिरमा ठोकिएछ । यात्रुले कम्पित स्वरमा भने, ‘तपाईको हात काँपिरहेको छ, मेरो शरिरबाट रिवल्भरको नाल हटाइदिनुपर्यो ।’

उनको त्यो कम्पित आवाजले सबैको ध्यानाकर्षण भयो । यात्रुहरुले आँखा चिम्लिए पनि कानलाई भने चनाखो राखेका रहेछन् । उनिहरुले बोल्ने मानिस र मेरो बन्दुकको नालतर्फ हेरेर केहि भन्न थाले । जहाजमा आवाज बढ्न थालेपछि म सबैलाई शान्त रहन अनुरोध गदै चालकको कोठाभित्र पसेँ ।

पाइलट मेरो अनुहार नहेरिकनै भन्न थाले, ‘जहाज अब धेरै इन्धन छैन । हामी विराटनगर पुग्न सक्छौँ के गर्ने ? तपाई जृ भन्नुहुन्छ , म त्यही गर्छु ।’

मैले उत्तेजित हुँदै पाइलटलाई भने, ‘अब विराटनगर फर्किएर आत्मसमर्पण गर्ने कुरै छैन । हामीले निर्धारित गरेको ठाउँमा पुग्ने सिवाय अरु विकल्प सोच्दै नसोच्नुस् । जहाजलाई जसरी पनि फारबिसगन्ज पुर्याउनैपर्छ । जहाजको इन्धन सकिएछ भने हाम्रो यात्राको अन्त्य हुने नै छ ।’
जहाजलाई फेरि कोसी ब्यारेजतर्फ मोड्न अनुरोध गरे ।

त्यसपछि म ककपिटबाट फेरि बाहिर आएँ । चालक र सह–चालकहरुले हाम्रो प्रतिकार गर्ने प्रयत्न छाडेर जहाजलाई नै व्यवस्थित गरिरहेका थिए । वसन्तको हातमा सैनिकले प्रयोग गर्ने शत्तिशालि ३६ ग्रिनेड थियो भने नगेन्द्र र मेरो हातमा ३२ रिवल्भर देखेर पुरुष परिचारिक जहाजको ढोकानेर गएर निर्जीव भई उभिएका थिए । उनी आफ्नो दुवै हातले जहाजको ढोकाको फित्ता समातेर एकोहोरो बाहिरतर्फ हेरिरहेका थिए ।

केहि यात्रु भने साउती स्वरमा एक–आपसमा बोलेको सुनिन्थ्यो ।

१० मिनेट पछि हामी फेरि कोसी ब्यारेजमाथि उडिरहेका थियौ । जहाजको बीचमा उभिएका नगेन्द्रले यात्रुलाई शान्त पार्ने प्रयास गरिरहेका थिए । म निरन्तर उनको आवाज सुनिरहेको थिए ।

‘यस अपरहणमा तपाईहरुलाई केहि हुदैन । जहाजबाट राष्ट्र बैकको पैसा काठमाडौमा जम्मा गर्न लगिँदै छ । हाम्रा नेता बीपी कोइरालाले घोषणा गर्नुभएको सशस्त्र क्रान्तिका लागि हामी यो पैसा लुट्दै छौ । त्यसपछि तपाईहरु छुट्नुहुनेछ ।’

वास्तवमा त्यो नेपाली काङ्गे्रसको नेतृत्वमा पञ्चायती शासनविरुद्ध भइरहेको राजनितिक विद्रोहको एउटा हिस्सा थियो । हामी सशस्त्र संघर्षको चरणमा थियौ र त्यसलाई सञ्चालन गर्न पैसा चाहिएको थियो । त्यसबेला नेपाल राष्ट्र बैकले भारु ३० लाख विराटनगरबाट काठमाडौतर्फ लैजान खोजेको थाहा पाएपछि हामीले बीपी र गिरिजाप्रसाद कोइरालाको निर्देशनमा त्यो विमान अपहरण गदै थियौ ।

आफूहरुको उद्देश्य बताएपछि नगेन्द्रले बैकका कर्मचारी दिलीपजङ्ग थापासँग विराटनगरबाट काठमाडौ राष्ट्र बैकमा जम्मा गर्न दिएको पत्र पनि मागेर लिए । उनी सुरुबाटै बैकका ती कर्मचारीको सिटछेउ बसेका थिए ।

त्यसपछि यात्रुहरु शान्त देखिए । म ककपिटभित्र गएँ । जहाजका चालकले भन्न थाले, ‘हामी ब्यारेजबाट अगाडी उड्दै छौ । यहाँ नजिक एउटा सानो मैदान छ । त्यहाँ ल्यान्ड गरेर यात्रुलाई बचाउन सकिन्छ, हामी पनि बाच्नँ सक्छौ ।’

उनको कुरा सुनेर मलाई झनक्क रिस उठ्यो । मैले उत्तेजित भएर भने, ‘तपाईलाई बाँच्न मन छ, बचाउन मन छ भने मैले भनेको मान्नुस् । किन यहाँ र त्यहा भनेर मेरो ध्यान भाँड्न खोज्नुहुन्छ ?’

म पाइलटनजिकै उभिएकै थिएँ । बाहिर हेर्दा जहाज त कोसी पश्चिमको एउटा सानो सहरमाथि पुगेको देखियो । मैले पाइलटको कठालो समाते, ‘किन अगाडी बढेको ?’ उनले मलीन स्वरमा भने, ‘जहाज आकाशमा उडिरहने वस्तु हो । बसजस्तो एक ठाउँमा रोक्न सकिदैन । ल म फेरि उतै फर्काउँदै छु, तपाई जे भन्नुहुन्छ, त्यही गर्छु ।’

त्यसपछि म फेरि ककपिटबाहिर निस्किएँ । हाम्रो तनाव बढिरहेको थियो । पाइलटले पहिले नै इन्धन धेरै छैन भनिसकेका थिए । उत्रिनुपर्ने ठाउँ कहाँ हो, पतै लगाउन सकिएको छैन । जहाजमा निर्दोष मानिस छन् हामीले यिनको जीवनसँग खेलवाड गरिरहेका छौ भन्ने लाग्न थालिसकेको थियो ।

जहाज पुलमाथि उडिरहेको थियो । कसोकसो बाहिर हेर्दा मैले पुल नजिकैबाट रेलको लिक पुर्वतिर गएको देखेँ । मलाई झट्ट याद आयो, यो लिक त फारबिसगन्ज जान्छ !
म एकदमै खुसि हुदै चालकको कोठामा पसे र भने, ‘अब फारबिसगन्ज पत्ता लगाउन सकिन्छ । तपाई जहाजलाई तल देखिएको रेलको लिक माथि–माथि उडाउनुस् । त्यो गएर फारबिसगन्जको रेल स्टेसन पुग्छ । त्यहीँबाट हामी उत्रने मैदान पनि देखिनेछ ।’

यति भनेर म चालकककै कुर्सीको डन्डीमा बस्न खोजे । तर, बस्नै सकिनँ । मेरो खुट्टा एकदमै शून्य भइसकेका थिए । बस्न खोज्दा घुँडा नै दोब्रिएन । खुट्टा नदोबारी म त्यहीँ अडिएँ । जव उठ्न खोजे, उठ्नै सकिनँ ।

मर्ने डरले बाच्ने उपाय सोच्ने एकाग्र हुँदा मान्छेका अन्य अङ्गलाई मस्तिष्कले अरु आदेश दिँदो रहेनछ । त्यसैबेला मलाई कसैले पक्रिन खोजेको भए ममा प्रतिकार गर्ने शक्ति थिएन । दायाँ हातको रिवल्भरलाई औलाले यसरी पक्डिएको थियो कि मुठ्ठी खोल्लै सकिरहेको थिइनँ । रिवल्भरको लिभरलाई दबाउन परेको भए चल्ने अवस्था थिएन । लामो समयदेखि दाया हातले समातेको हतियार बाँया हातमा लिन खोज्दा मुठ्ठी खुुलिरहेको थिएन । देबे्र हातको बलले औला खोलेर रिवल्भर निकाल्नुपरेको थियो ।

चालकले जहाजलाई निकै तलबाट उडाइरहेको थिए । पाँच मिनेटपछि नै हामी फारविसगन्ज स्टेसनको पुर्वमा रहेको मैदानमाथि जहाज पुग्यो । मैदान छेउको ठूलो सिमलको रुखको टुप्पामा रातो कपडा पनि देखियो । मैले पाइलटलाई भने, ‘यो जहाज पनि सानै छ ,यही उतार्नपर्छ ।’

चालकले मतिर फर्केर हेदै भने, ‘एक राउन्ड लगाएर लोकेसन हेर्नुपर्छ । म जसरी पनि उर्तार्ने प्रयास गर्छु ।’

अनि, उनले जहाज घुमाउन थाले । जहाज घुमाउँदा घुमाउँदै क्याप्टेनले सोधे, ‘के हो तलका मान्छेका हातमा पनि ग्रिनेड देखिन्छ । कृपया जहाज खाली गरेर मात्र एक्सन ।’

उनले बोली नसक्दै मैले तत्कालै भनेँ, ‘हामी उत्रिएर सामान राखेको ठाउँबाट राष्ट्र बैकको बाकस निकालेपछि तपाईले जहाजलाई तुरुन्तै उडाउनुपर्छ । जहाजलाई नोक्सान पुर्याउने हाम्रो योजना छैन । सबै यात्रु लिएर विराटनगर फर्किएर जाने मानसिकता बनाउनुहोस् ।’

जहाजको चक्का झारेर चालकले उत्रने तयारी गरे । जहाजले मैदानको बीचमा जमिन छोएको आवाज आयो । मैदान उत्तर–दक्षिण फैलिएको थियो । उत्तरतिरको अन्तिम सीमामा पुर्याएर जहाजलाई चालकले रोके । जहाज रोकिएपछि यात्रुहरु उठ्न खोजे । तर ,नगेन्द्रले रिवल्भर माथि उचालेर कसैलाई पनि सिटबाट नउठ्न चेतावनी दिएपछि सबै बसे । नगेन्द्र र वसन्त हातमा हतियार लिदै जहाजबाट ओर्लिन गेटमा पुगे । अघि मलाई समात्न झम्टने जहाजका कर्मचारीले नै ढोका खोलिदिए ।

मैले चालकलाई फेरि भने, ‘जहाजको इन्जिन चालु राख्नुहोस् र तलका साथीले सामान निकालेपछि तपाईलाई जहाज उडाउने इसारा गर्नेछन् । अटेर गर्नुभयो भने उनिहरुले जे पनि कारबाही गर्न सक्छन् ।’

पाइलटलाई यति भनेर म जहाजबाट झर्न ढोकातिर गएँ । म ढोकाको सिँढीमा पुग्दैँ, जहाजका यात्रु एकै स्वारमा कराए, ‘अब हाम्रो के हुन्छ ? हामी पनि यहीँ झर्छौ ।’

मैले सम्झाउँदै भने, ‘पाइलटसँग हाम्रो कुरा भइसकेको । तपाइहरुलाई केहि हुँदैन । यो जहाज अब यहाँबाट विराटनगर नै फर्किन्छ । तपाइहरु सकुशल पुग्नुहन्छ । बरु, बाहिर निस्किन खोज्नुभयो भने बाहिर भएका हाम्रा साथीले कारबाही गर्न सक्छन् ।’

यति भनेपछि कोही निस्किन खोजेनन् ।

मैले फेरि भनेँ, ‘हाम्रो उद्देश्य तपाईहरुलाई बन्धक बनाउने र खतरामा पार्ने कदापि होइन ।’
म सिँढिबाट झर्न थालेँ । केहि यात्रु उठेर फेरि कराए, ‘आकाशमा उडिरहँदा हामीलाई बाच्ने आशा थिएन । अब जहाज जमिनमा छ, हामीलाई बचाउनुस् ।’

उनिहरुले यसो भनिरहँदा म जहाजबाट निस्किसकेको थिएँ । त्यहाँ पहिल्यैदेखि अरु साथीहरु हामीलाई पर्खेर बसेर थिए । जहाज अवतरण गर्नासाथ उनिहरुले राष्ट्र बैकका सिलबन्द तीनवटा बाकस झिकेर जिपमा राखे, जसमा भारु ३० लाख थियो ।

मैले कर्मचारीलाई ढोका बन्द गर्न इसारा गर्दागदै उनले ढोका लगाइहाले । विराटनगरबाट बिहान ८ः१५ मा उडेको जहाज आकाशमा धेरै बेर रुमल्लिँदै ८ः४५ मा मात्र फारबिसगन्जमा उत्रिएको थियो । सीधा नाप्ने हो भने विराटनगरबाट फरबिसगन्जको दुरि जम्मा ३० किलोमिटरजति हो । तर, नक्सा नभएर आकाशमा रुमल्लिँदा हामीलाई ३० मिनेट लागेको थियो ।

जहाजबाहिर अगाडिपट्टि विनोद अर्याल उभिएका थिए । उनको हातमा ग्रिनेड थिया । उनले इसारा गरेपछि जहाज उड्न फारबिसगन्जको घाँसे मैदानमा गुड्न थाल्यो । र, छिनभरमा आकाशमा पुग्यो । त्यहाँबाट उत्तरतिरको दिशा पक्डेर आकाशमा कतै बिलायो । हामी भने घाँसे मैदानमा तैनाथ गरिएका जिप चढेर फारबिसगन्जबाट टाढा अररियातिर लाग्यौ ।
३० मिनेटको त्यो दुस्साहसले एउटा नयाँ इतिहास रचिसकेको थियो ।

कांग्रेस नेता दुर्गा सुवेदीद्धारा लिखित ‘विमान विद्रोह’ पुस्तकबाट लिइएको केही अंश

वि.सं.२०७५ फागुन ७ मंगलवार १६:१४ मा प्रकाशित