
१५ फागुन, काठमाडौं । मान्छेको बिहे चल्दै आएको रित हो, कुकुर–ककुरको बिहे, कुकुरसँग मान्छेको बिहे, दोश्रो बिहेको दोष कटाउन भन्दै आँकसँगको पुरुषको बिहे, भएको पनि सुनेकै हो । तर, अन्न त्यो पनि मकै मकैको बिहे भएको पहिलोपटक सुनिएको हो ।
हो, मकैको बिहे भएको छ । त्यो पनि विदेशमा होइन, हाम्रै नेपालको गोर्खामा । यस्तो बिहे पुर्खाले चलाउँदै आएको रित धान्नका लागि गरिएको हो । गोर्खाको धार्चे गाउँपालिका ४ लाप्राकमा किसानले मंगलबार धुमधामले मकै–मकैको बिहे गरेका हुन् । फागुन देखि बैशाखसम्म मकै छर्ने समय भएकोले बिहे नगर्दा मकैको घोगामा दाना नलाग्ने तथा मकै पुड्के हुने जनविस्वास रहेकोले परम्परालाई कायम राख्नका लागि नयाँ पुस्ताले यसको संरक्षण गर्दै आएको बताइएको छ ।
१८१५ सालदेखि गाउँलेलाई अनिकालबाट जोगाउनका लागि देवि देवता पुकार्दै मकैको बिहे गर्न थालिएको स्थानीय कर्ण गुरुङले बताएका छन् ।
गुरुङका अनुसार धार्चेको लप्सीबोट र धार्चे ७ लापु, धार्चे ५ गुम्दा, सिङ्ला, उहिया, खोर्ला लापु, लगायतका गाउँमा मकैको बिहे गरिएको हो ।
‘मकैको बिहे नगरी बारीमा छर्नु हुँदैन्, गुरुङले भने,‘ यो पुर्खादेखिको चलन हो । बिहे नगरी मकै छर्दा मकैमा दाना लाग्दैन, घोगा लागे पनि पुड्के हुन्छ ।’ परम्परा अनुसार सोमबार साढे तीनबजेको साइतमा मकैको घोगा जमिनमा गाडिएको थियो । त्यो मकै बिहान साढे ८ बजे जमिनबाट निकाले बाजागाजा सहित गाउँले जम्मा भएर गाउँ परिक्रमा गराएका थिए ।बुधबारको अन्नपूर्णपोष्ट दैनिकमा शिव उप्रेतीले गोरखाबाट समाचार लेखेका छन् ।
वि.सं.२०७५ फागुन १५ बुधवार ०८:३० मा प्रकाशित