back

बेमौसी वर्षाका कारण लाखौँको तरकारीबाली नष्ट

वि.सं.२०७५ फागुन १७ शुक्रवार

360 

shares
GLOBAL IME AD
NTC AD

१७ फागुन, गलेश्वर । बुधबार राति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छ । राति १२ बजेदेखि परेको भीषण असिनापानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो ।

असिना र पानीले बन्दा, काउली, आलु, गाजर, रायोसाग, लसुन, प्याज, मुलालगायतका बेमौसमी तरकारी खेतीमा क्षति पु¥याएको कृषकले गुनासो गरेका छन् । नगरपालिकाको ज्यामरुककोट, खबरा, बगरफाँट, राक्से, सिङ्गा, तातोपानीलगायतका क्षेत्रमा लगाइएको तरकारी खेती असिनापानीले नष्ट गरिदिएको हो । असिनापानीका कारण खबरामा मात्रै रु १० लाख मूल्य बराबरको तरकारीमा क्षति पुगेको विगत ४० वर्षदेखि व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । कार्कीको मात्रै रु चार लाख बराबरको तरकारीमा क्षति पुगेको छ ।

असिनाले खबरामा लगाइएको केरा खेतीमा समेत असर पु¥याएको छ । मध्यरातमा परेको असिनापानीले खासगरी म्याग्दी सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा लगाइएको तरकारी बालीमा बढी असर गरेको छ । खानयोग्य तरकारी बाली असिनापानीले नष्ट गरेपछि किसान चिन्तित बनेका छन् ।

नगरपालिकाको खबरालगायत क्षेत्रबाट बेनीबजारमा दैनिक रूपमा तरकारी आयात हुने गर्दछ । जिल्लाको उच्च हिमाली र पहाडी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै तल्लो क्षेत्रमा असिनापानी परेको हो । असिनाले वनजङ्गलमा रुखका हाँगा तथा पातपतिङ्गरसमेत झारेको छ ।

नदीजन्य वस्तुको स्थानान्तरण

म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका–२ बगरफाँटलाई जोगाउन म्याग्दी नदीका नदीजन्य वस्तुलाई स्काभेटरको माध्यमद्वारा गाउँतर्फ स्थानान्तरण गरी गाउँ संरक्षण गर्ने काम शुरु भएको छ ।

विसं २०५७ मा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तररूपमा नदी कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षमा सामान्य ग्याविन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भए पनि त्यो प्रभावकारी भएको थिएन । करीब २०० घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहे पनि बर्खामा भने नदी कटानका कारण सधैँ जोखिममा रहने गरेको स्थानीयवासीले बताएका छन् ।

यस वर्ष स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त रु १० लाखबाट नदीजन्य वस्तुहरुको स्थानान्तरण गराई उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम थालिएको बगरफाँट, म्याग्दीखोला नदी नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताए ।

अध्यक्ष कार्कीका अनुसार म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका–६ डम्मराका बासिन्दाको आपसी सहमतिमा म्याग्दी नदीको करीब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्य वस्तु ढुङ्गा, गेगर, बालुवा आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको हो ।

नदीले बगरफाँटको करीब १५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र, पलासे र जरुवा उच्च जोखिममा परेका छन् । बगरफाँट सदरमुकाम बेनीबजारसँगै जोडिएको कृषिका लागि उर्वरफाँट भएको गाउँ हो ।

आगलागीबाट चौध बाख्रा मरे

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा गोठमा भएको आगलागीबाट १४ बाख्रा मरेका छन् । स्थानीय कृषक आइती गर्वुजाको गोठमा रहेका पशु चौपायालाई न्यानो गराउन बालिएको आगो गोठमा सल्किएर आगलागी हुँदा बाख्रासहित गोठभित्र रहेका सामान जलेर रु १ लाख ५७ हजार बढीको क्षति भएको स्थानीय पुर्ख फगामीले जानकारी दिए ।

हिमपातका कारण कठ्याङ्ग्रिएका गाई र बाख्रालाई न्यानो बनाउन साँझ बालिएको आगो हावाहुरीले नजिकै रहेको सुकेको घाँस र सेउलामा सल्कन गई आगलागी भएको हो । अगलागीमा परेर चार बाख्रा, दुई बोका र आठ पाठापाठी जलेर मरेको पीडित परिवारले जनाएको छ । आगलागीबाट करीब रु ४० हजार बराबरको काठसहित २० हजार बढी खर्चिएर बनाइएको खोर पूर्ण रुपमा जलेको छ ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार १०:१२ मा प्रकाशित

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

मुस्ताङ । वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको...

चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन

चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन

चितवन । चितवन र मकवानपुरका ५० युवालाई मागमा आधारित जीविकोपार्जन...

सिँचाइको अभाव हुँदा चैते धानखेती गर्न आकर्षित भएनन् किसान

सिँचाइको अभाव हुँदा चैते धानखेती गर्न आकर्षित भएनन् किसान

सिङ्गबहादुर थापा/बरहथवा (सर्लाही) । सर्लाहीमा छ सय ९१ हेक्टरमा चैते...

लौकाखेतीबाट एकै याममा लाखौँ आम्दानी गर्दै उराँव

लौकाखेतीबाट एकै याममा लाखौँ आम्दानी गर्दै उराँव

इनरुवा (सुनसरी) । सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा...

हावाहुरी र वर्षाले मकै र आँपखेतीमा क्षति

हावाहुरी र वर्षाले मकै र आँपखेतीमा क्षति

इनरूवा (सुनसरी) । गएरातिको हावाहुरी र वर्षाले सुनसरीमा मकैखेती र...