
२० फागुन, काठमाडौं । अन्तिम घडीसम्म राष्ट्रिय राजनीतिप्रति चिन्तित बाम आन्दोलनका पहिले पुस्ताका लोकप्रिय नेता भरतमोहन अधिकारीले प्रधानमन्त्री केपी ओलीसहित नेकपाका शिर्ष नेतालाई अस्पतालको शथ्याबाट अन्तिम सन्देश छाडेर विश्राम लिएका थिए ।
करिब दुई महिनादेखि अस्पतालको शथ्यामा रहेका अधिकारीलाई ५ फागुनमा भेन्टिलेटरमा राख्ने तयारी हुँदै थियो । त्यतिबेला जीवनप्रति भरोसा टुटेको अनुभूति गरेका अधिकारीले अचानक सम्धी कृष्ण आचार्यलाई बोलाएर अन्तिम सन्देश दिए–‘म अब नफर्किन सक्छु, तपाईँ उहाँहरु (नेताहरु) सँग परिचित हुनुहुन्छ, मेरो सन्देश नेताहरुलाई सुनाइदिनुहोला ।’
भरतमोहनको त्यो अन्तिम सन्देश सुनाउँदै आचार्यले भने, ‘ नेपाली जनताले मतदान गरेर कम्युनिष्टको नेतृत्वमा दुई तिहाइ बहुमतको सरकार बनाउन सहयोग गरेका छन् । यस्तो ऐतिहासिक अवसर अब नआउन पनि सक्छ । यो अवसर गुमायौ भने हामीले धेरै ठूलो मूल्य चुकाउनुपर्छ । पार्टीका नेताहरुले कुनैपनि राग–द्धेष नराखीकन पार्टी एकता टुंग्याएर समृद नेपाल निर्माणमा एक ढिक्का भएर काम गर्नु पर्दछ मेरो यो सन्देश सुनाइदिनुहोला ।’
वि.सं.२०७५ फागुन २० सोमवार ०८:२१ मा प्रकाशित