२१ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले शिक्षक आन्दोलनमा बल प्रयोग गरिएकोमा आपत्ति जनाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा विगत लामो समयदेखि सामुदायिक विद्यालयमा अध्यापनरत राहत तथा बाल विकास शिक्षकहरुले आफ्ना माग राखी २०७५ फागुन १९ र २० गते काठमाडौँमा गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी शिक्षकहरुप्रति गरेको अमानवीय व्यवहारका कारण दर्जनौँ शिक्षकहरु घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको जनाइएको छ ।
नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच वार्ता भई गरेको सम्झौता विपरीत सरकारले निर्णय गरेर गम्भीर त्रुटि गरेको नेपाली कांग्रेसले ठहर गरेको बताइएको छ । विज्ञप्तीमा शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकार माथि वर्तमान सरकारले अंकुश लगाउने कार्य गरिरहेको र यस घटनाले सरकारको निरकुंश चरित्रलाई उदाङगो बनाएको, उल्लेख छ।
शिक्षकहरु माथि भएको त्यस्तो अमानविय घटनाप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दै शान्तिपूर्ण विरोध प्रदर्शनमाथि यस प्रकारको बल प्रयोग नगर्न समेत सरकारलाई सचेत गराएको छ । वार्ता र संवादको माध्यमबाट राहत तथा बाल विकास शिक्षकहरुको जायज माग तत्काल पुरा गर्न, गिरफ्तार सबै शिक्षकहरुलाई अविलम्व रिहा गर्न र घाइते शिक्षकहरुको उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ, विज्ञप्तीमा भनिएको छ ।
घाइते शिक्षकहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
वि.सं.२०७५ फागुन २१ मंगलवार २१:०८ मा प्रकाशित