
२२ फागुन, काठमाडौं । कृषिमन्त्री चक्रपाणी खनाले सदियौंदेखिको परम्परागत कृषि प्रणालीलाई व्यवसायिकतामा लैजान चुनौती भएको बताएका छन् ।
अर्घाखाँची एग्रो प्रा.लि रामकोटले सोमबार आयोजना गरेको ‘वृक्षारोपण तथा प्रमाणपत्र वितरण कार्यक्रम’ का प्रमुख अतिथि रहेका मन्त्री खनालले नेपाली किसान लामो समयदेखि परम्परागत कृषि प्रणालीमा आवद्ध रहदै आएकोले व्यवसायिक रुप लिन लामो समय लाग्ने तथा त्यसका लागि संघर्ष गर्नुपर्ने बताएका छन् ।
उनले अन्य देशमा राज्यलेनै आफ्ना किसानलाई उत्पादनमा सघाएको बताउँदै भने, ‘अन्य देशमा कुन किसानको माटोमा के फल्छ र कुन समयमा के उत्पादन गराउन सकिन्छ भन्ने राज्यले नै नीति बनाएर किसानलाई उत्पादनमा लगाएको हुन्छ, तर नेपालमा त्यस्तो नीति छैन ।’
मन्त्री खनालले कुन बेला के उत्पादन हुन्छ भन्ने अधिकांश किसानलाई थाहा नभएको बताउँदै नेपालका किसानको वर्गिकरण, सुचिकृत र सम्मान समेत नभएको बताउँदै यहाँ कसले के उत्पादन गर्छ भन्ने राज्यलाई थाहा नभएको उनले बताए ।
अर्घाखाँची एग्रो प्रा.लि रामकोटका संरक्षक देवि वहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सभाका सांसद चन्द्र बहादुर खड्काको विशिष्ठ आतिथ्यता, नार्गाजुन नगरपालिका वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अष्ट ज अभियन्ता समेत रहेका अर्घाखाँची एग्रो प्रा.लि रामकोटका अध्यक्ष पुष्कर खड्काले किसानका उत्पादनले बजार नपाएको भन्दै ध्यानाकर्षण गराएका थिए । ‘हिजो टमाटर बिक्रि नहुँदा टमाटर फालेर राज्यको ध्यानाकर्षण गराएका थियौं अध्यक्ष केसीले भने, ‘अहिले मन्त्रीज्यूलाई टमाटरको विरुवा रोपाएका छौं, उहाँले आफैले रोपेको विरुवाको उत्पादनको बजारमा ध्यान दिनुहुनेछ भन्ने हो ।’
अष्ट ज अभियान नेपालका अभियन्ता रामलाल श्रेष्ठ, प्रकाशचन्द्र गिरी, स्थानीय किसान लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन सलिना पौडेलले गरेकी थिइन् ।
वि.सं.२०७५ फागुन २२ बुधवार १३:२८ मा प्रकाशित