२२ फागुन, काठमाडौ । नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्ष तर्फ लाग्न थालेको संकेत मिलेको छ । पार्टीको गत पुष २८ देखि माघ ८ सम्म चलेको महासमिति बैठकको निर्णयलाई लत्याउँदै केन्द्रीय समितिले आर्कै खाले निर्णय गरेपछि विवादले उग्र रुप लिन थालेको हो । मुख्य विपक्षी दल भीत्रको किचलोले सत्ता पक्षलाई तत्काल केहि राहत मिले पनि संसदीय व्यवस्थामा यो शुभ संकेत भने पक्कै होइन ।
विवादको उठान
महासमितिले पार्टीका केन्द्रीय पदाधीकारी सहित सबै नेता बुथ कमिटि देखिनै निर्वाचित हुनु पर्ने निर्णय गरेको थियो । तर पछिल्लो पटक पार्टीको केन्द्रीय समितिले उक्त निर्णयलाई उल्ट्याउँदै पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिबेशन प्रतिनिधि बन्न पाउने निर्णय गर्यो । बहुमतबाट गरिएको उक्त निर्णयमा पार्टी भीत्रका विपक्षी नेताहरुले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखे । सँगसँगै पार्टीका ७७ जिल्ला सभापति मध्ये ५६ जना जिल्ला सभापतिले केन्द्रीय समितिको निर्णय सच्याउन आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरे । विज्ञप्तिमा निर्णय सच्याउन र नसच्चिए विशेष महाधिवेशनमा समेत जान सकिने चेतावनीयुक्त भाषाको प्रयोग गरीएको छ ।
एकातीर ५६ भाइको संयुक्त विज्ञप्ति अर्कोतर्फ प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पार्टी भीत्रका गैरसंस्थापन पक्षका नेताहरुको बैठक, यसले सभापति शेरबहादुर देउवा सहित संस्थापन पक्ष लाई राम्रै गरी हल्लाएको महसुस गरीएको छ । बाहिर देखिँदा महासमितिको निर्णय र त्यसलाई उल्टाउने केन्द्रीय समिति निर्णय नै विवादको चुरो देखिए पनि भीत्र यसको गहिराई पार्टी सत्ता सँग जोडिएको छ । आरक्षण कोटामा दोहोरीन सक्ने प्रावधान र नेतृत्वमा रहेकाहरु तलैबाट अनुमोदीत भएर आउनु नपर्ने प्रावधानले सभापति शेरबहादुर देउवालाई पुन सभापतिमा निर्वाचित भएर पार्टी सत्ता आफ्नै अनुकुल बनाउन शक्ति मिल्ने छ । देउवाको चाहाना पनि यहि हो । देउवा इतर समुह भने आगामी महाधिवेशनबाट देउवाको गति रोकी पार्टी सत्ता आफ्नो हातमा ल्याउन अहोरात्र खटिएको छ । महासमितिको निर्णय आफु अनुकुल बनाउने प्रयास हुनु पार्टी सत्ताको प्राप्यता वा अप्राप्यतासँग जोडिएको छ ।
स्वार्थ आ–आफ्ना
आगामी महाधिवेशनमा कोइराला विरासत सहित आफुले सभापतिमा उमेदवारी दिने घोषणा डा. शेखर कोइराला गरेका छन् । विगतमा गुट् विहीन राजनिति गरेका डा. कोइरालालाई गुट् बनाउन सब थोक गर्न सक्ने छबि बनाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि समर्थन गर्ने बताएका छन् । डा. कोइरालाको उमेदवारी घोषणाले देउवा क्याम्पमा हलचल मच्चीनु स्वाभावीक थियो । सोही हलचलको स्वाभावीक प्रतिक्रिया सभापति देउवाले बढि नबोल्न चेतावनी दिएबाट पनि बुझ्न सकिन्छ ।
प्रतिउत्तरमा डा. शेखरले, संसद राजालाई कसले बुझाएको ? गोरखाका राजाले न्याय गर्छन भन्दै प्रतिगमनका बेला सरकारमा किन गएको ? पार्टीको हवीगत यस्तो कसले गराएको ? ०४६ साल र ०६३ सालको आन्दोलनमा देउवा को भूमिका कस्तो थियो ? यावत प्रश्न सोध्ने बेला भएको बताएका छन् ।
यसरी हेर्दा देउवा जसरी पनि पार्टी सत्ता आफ्नो नियन्त्रणमा राख्न कम्मर कसेर लागेको देखीन्छ । यता पार्टीको विपक्षी समुह जसरी पनि देउवाबाट पार्टी सत्ता खोस्न तत्कालका सबै रणनिति अख्तियार गर्न तयार देखीन्छ ।
कसले के भन्छन् ?
कोइराला वंशमा जन्मिदैमा पार्टी सभापति बन्न पाइदैन । पार्टी सभापतिका लागि जेलनेल र आन्दोलन आवश्यक छ– सभापति शेरबहादुर देउवा ।
देउवाजीले मेरो राजनितिक जिवनका बारेमा प्रश्न उठाउन पर्दैन म आफै मेरो सम्भावना र समस्याका बारेमा विज्ञ छु । उहाँले आफै आफुलाई हेरे पुग्छ – डा. शेखर कोइराला ।
केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले तल्ला कमिटिमै निर्वाचन हारे भने भोली पार्टीको नेतृत्व कसले गर्छ ?– नेता बालकृष्ण खाँड ।
पार्टीलाई परिकर्मीहरुको हातबाट झिकेर परीश्रमी कार्यकर्ताको जिम्मा लगाउन ढिला गर्नु हुदैन– नेता रामहरी खतिवडा ।
कांग्रेसले महासमितिको निर्णय बदल्ने केन्द्रीय समितिको निर्णय सच्चाएन भने विशेष महाधिवेशन गर्नुको विकल्प छैन– जगदिश्वर नरसिहं के.सी जिल्ला सभापति नुवाकोट ।
वि.सं.२०७५ फागुन २२ बुधवार १४:२८ मा प्रकाशित