
२ चैत, वासिङ्टन । अमेरिकी कङ्ग्रेसले मेक्सिको सीमामा मानवीय सङ्कटकाल लगाएर भएपनि सीमामा पर्खाल निर्माण गरिछाड्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव अस्वीकृत गरेसँगै कङ्ग्रेसको निर्णय विरुद्ध राष्ट्रपति ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गरेका छन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालमा पहिलो पटक भिटो प्रयोग गर्नुभएको हो । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पले बढ्दो आप्रवासी नियन्त्रण र लागूऔषधको तस्करी रोक्नका लागि मेक्सिको सीमामा पर्खाल निर्माण गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर राष्ट्रपति ट्रम्पले पर्खाल निर्माणका लागि आवश्यक बजेट अमेरिकी संसदबाट अझै अनुमोदन गराउन सकेका छैनन् ।
अमेरिकी राष्ट्रपतिको अर्को चुनाव आउन अब १८ महिना मात्र बाँकी छ तर प्रमुख चुनावी मुद्दामै बजेट प्राप्त नहुँदा राष्ट्रपति ट्रम्पमाथि अर्को कार्यकालका लागि उम्मेदवार हुने वा नहुने भन्ने नैतिक प्रश्न उब्जिएको छ ।
अमेरिकी संसदको गत वर्ष सन् २०१८ मा भएको मध्यावधि चुनावमा राष्ट्रपति ट्रम्पको दल रिपब्लीकन पार्टी पराजित भएको थियो । अहिले अमेरिकी तल्लो सदनमा विपक्षी डेमोक्र्याट पार्टीको बहुमत छ तर माथिल्लो सदन सिनेटमा भने रिपब्लीकनको झिनो बहुमत छ ।
यहीबीच मेक्सिको सीमामा सङ्कटकाल घोषणा गर्ने राष्ट्रपतिको विपक्षमा डेमोक्र्याटका साथै केही रिपब्लीकन सिनेटरले पनि समर्थन जनाएपछि राष्ट्रपति ट्रम्प विलखबन्दमा परेका छन् ।
“कङ्ग्रेसले यो प्रस्तावको विपक्षमा मतदान गर्न सक्लान्,” ट्रम्पले ह्वाइट हाउसमा भने, “तर भिटो प्रयोग गर्न पाउने मेरो पनि अधिकार छ ।”
भिटो प्रयोगका सन्दर्भमा राष्ट्रपति ट्रम्पले सीमामा पर्खाल निर्माण नभए पनि आफूले अन्तिमसम्म प्रयास गरेको दाबी सक्नेछन् । । भिटोमा हस्ताक्षर गर्ने समारोहमा राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा उहाँका समर्थकहरु, कानुन कार्यान्वयन अधिकारी र सीमाबाट अवैधरुपमा अमेरिका प्रवेश गर्नेहरुबाट मारिएका व्यक्तिका छोराछोरी पनि सहभागी थिए ।
राष्ट्रपति ट्रम्पले आपतकालीन आदेश जारी गरी प्रतिरक्षा खर्चका लागि विनियोजित अर्बौं डलर संघीय बजेटलाई सीमामा पर्खाल निर्माणमा खर्च गर्न चाहेका थिए । तथापी यो भिटो विरुद्ध पनि विपक्षी डेमोक्र्याटबाट कानुनी चुनौती खडा हुनेछ । विपक्षीले राष्ट्रपतिले प्रयोग गरेको भिटो असंवैधानिक रहेको दाबी गरिरहेका छन् ।
अमेरिकी अदालतमा उजूरी परेको खण्डमा त्यसलाई अन्तिम किनारा लगाउन महिनौं वा त्योभन्दा बढी समय लाग्नेछ । अदालतमा उजूरी गर्ने अमेरिकी नागरिक स्वतन्त्रता युनियन (एसीएलयू)ले राष्ट्रपतिले जारी गर्नुभएको भिटो अर्थहीन रहेको बताएको छ ।
“कङ्ग्रेसले राष्ट्रपतिको घोषणा अस्वीकृत गरिसकेको छ, र अब अदालतले यसको कानुनी वैधताका बारेमा फैसला दिनुपर्ने भएको छ । हामी उनलाई अदालतमै भेट्न चाहन्छौं,” कार्यकारी निर्देशक एन्थोनी रोमेरोले बताए ।
सभामुख न्यान्सी पेलोसीले ट्रम्पले जारी गरेको भिटोलाई “कानुनी अधिकार बेगर नै शक्ति हत्याउने” प्रयासको संज्ञा दिँदै भने, “हामीले उनलाई रोक्न दुबै सदन र दुबै पार्टीले प्रयास गरेका थियौं तर राष्ट्रपति ट्रम्पले संविधान, कङ्ग्रेस र अमेरिकी जनताको चाहना विपरीत भिटो प्रयोग गर्नुभयो ।”
राष्ट्रपति ट्रम्पले दक्षिण सीमाको अवस्था साँच्चिकै राष्ट्रिय आपतकाल लगाउनुपर्ने किसिमको रहेको दाबी गर्नुभएको छ । उनले भने “हाम्रो आप्रवासन प्रणाली छिन्नभिन्न अवस्थामा पुग्न लागेको छ ।”
धेरै सांसदले बिहीबार संसदमा भएको मतदान राष्ट्रपति वा पर्खालको विपक्षमा नरहेको बताएका छन् । उनीहरुले यो अस्वीकृति भावी राष्ट्रपतिहरुका विरुद्ध सुरक्षाकवच रहेको बताए । कुनै डेमाक्र्याट पार्टीबाट निर्वाचित राष्ट्रपतिले भविष्यमा जलवायु परिवर्तन, बन्दुक नियन्त्रण वा अरु कुनै विषयमा आपतकाल लगाउने प्रयास पनि गर्न सक्लान् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सीमामा पर्खाल निर्माण शुरु गर्न तत्काल पाँच अर्ब ७० करोड डलर बजेट माग गर्नुभएको छ तर यसमा सहमति नहुँदा करिब ३५ दिन अमेरिकी संघीय कार्यालय आंशिक बन्द भएका थिए भने आठ लाखभन्दा बढी कर्मचारीले तलब पाएका थिएनन् ।
संघीय सरकारी कार्यालय बन्द गराउन राष्ट्रपति ट्रम्प नै जिम्मेवार रहेको विपक्षीको भनाइ छ तर राष्ट्रपतिले अन्ततः कङ्ग्रेसले पर्खाल निर्माणका लागि पुनः बजेट दिनुपर्ने शर्त राख्दै बन्द खुलाउनु भएको थियो । तैपनि पर्खाल निर्माणको बजेटमा अझै सहमति हुन सकेको छैन ।
अमेरिकी रिपब्लीकन पार्टीका नेताले पनि गत महिना राष्ट्रपति ट्रम्पलाई सीमा क्षेत्रमा राष्ट्रिय आपतकाल घोषणा नगर्न सुझाव दिएका थिए । उनीहरुले सैनिक परियोजनामा खर्च नभएको करिब तीन अर्ब ६० करोड डलर पर्खाल निर्माणमा खर्च गर्न आग्रह गरेका थिए ।
वि.सं.२०७५ चैत २ शनिवार १६:५६ मा प्रकाशित






























