
२ चैत, प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ–अनले संयुक्तराज्य अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कुटनीतिक पहल गर्ने वा नगर्ने बारे चाँडै निर्णय लिने एकजना उत्तर कोरियाली वरिष्ट अधिकारीले बताएका छन् साथै, नेता किमले क्षेप्यास्त्र प्रहार र आणविक परीक्षणलाई स्थगन गर्ने बारेमा पनि निर्णय लिनेछन् ।
उत्तर कोरियाली अधिकारीले दुई नेताबीच भियतनामको हनोईमा सम्पन्न दोस्रो शिखर बैठकमा अमेरिकाले सुवर्ण अवसर गुमाएको पनि बताइन् ।
उत्तर कोरियाकी उपविदेश मन्त्री चो सोन हुईले प्योङयाङमा विदेशी कुटनीतिज्ञ एवं संवाददातालाई सम्बोधन गर्दै हनोई शिखर वार्तामा कुनै सहमतिमा हस्ताक्षर नभएकामा उत्तर कोरिया दुःखी भएको बताइन् ।
उनले संयुक्तराज्य अमेरिकाले अभिरुचि नदेखाएको अवस्थामा वार्ता पुनः शुरु गर्ने सम्भावना नरहेको पनि स्पष्ट गरिन् ।
हनोई वार्तामा समेत सहभागी उपविदेशमन्त्री चोले अमेरिकी वार्ता प्रक्रियाबाट उत्तर कोरियाली नेता अचम्भित भएको पनि बताइन् । अमेरिकी राष्ट्रपति वार्तामा केही लचिलो भएपनि विदेशमन्त्री माइक पोम्पेओ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको हठपूर्ण मागहरुले वार्ता बीचमै भङ्ग भएको बताइन्।
अमेरिकी राष्ट्रपतिका वरिष्ट सल्लाहकारबाट आइरहेका वक्तव्यले पनि वातावरणलाई थप बिगारेको उनले बताइन् ।
वासिङ्टनमा पोम्पेओ र बोल्टनले उत्तर कोरियाली आरोपको खण्डन गरिसकेका छन् । “उनीहरुले भनेको कुरामा सत्यता छैन । म पनि त्यहीँ थिएँ,” पोम्पेओले भनिन् । बोल्टनले ट्रम्प नै आखिरी निर्णयकर्ता रहेको बताइन् ।
विदेशमन्त्री पोम्पेओले अमेरिकाले क्षेप्यास्त्र प्रहार र आणविक परीक्षण स्थगन गर्ने किमको प्रतिज्ञालाई ट्रम्पले विश्वास गरेको पनि स्पष्टगरिन् । “हनोईमा उहाँले धेरैपटक राष्ट्रपतिसँग कुराकानी गर्नुभएको थियो र आणविक परीक्षणलाई पुनः थालनी नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो,” पोम्पेओले भने । “त्यही नै अध्यक्ष किमका शब्द हुन् । हामी अझै पनि किमले त्यो प्रतिबद्धता पूरा गर्ने विश्वासमा छौं ।”
तनावका बाबजूद उपविदेशमन्त्री चोले दुई नेताबीचको व्यक्तिगत सम्बन्ध अझै पनि राम्रो रहेको बताइन् ।
र कोरियाली नेता किमले राष्ट्रपति ट्रम्पलाई दिएको वचनका बारेमा जतिसक्दो चाँडो जवाफ दिनुहुनेछ, चोले भनिन् ।
हनोई वार्तामा अमेरिकी अधिकारीको ग्याङ–शैलीको प्रस्तुति कुनै पनि हालतमा स्वीकार्य नहुने उत्तर कोरियाली नेता किमले बताएको पनि मन्त्री चोले उल्लेख गरिन् । मन्त्री चोले अमेरिकी राष्ट्रपति ट्रम्पले हनोई वार्तापछि आयोजित पत्रकार सम्मेलनमा उत्तर कोरियाले आफू विरुद्धका सम्पूर्ण प्रतिबन्ध फुकुवा गर्नुपर्ने शर्त राखेको र त्यसमा सहमत हुन नसकिएको भन्ने भनाईमा सत्यता नरहेको पनि स्पष्ट पारिन् ।
उनले उत्तर कोरियाले तत्कालका निम्ति आम नागरिकको जीवनसँग जोडिएका प्रतिबन्धहरु मात्र फुकुवा गर्न वार्तामा प्रस्ताव गरिएको बताए ।
मन्त्री चोले आमजनता, सैनिक र जङ्गी उद्योगका अधिकारीले किमलाई पत्र लेखी आणविक कार्यक्रम यत्तिकै नत्याग्न अनुरोध गरिरहेको पनि बताए । तर नेता किम आपसी विश्वास र आपसी सहमति निर्माण गर्ने उद्देश्य साथ हनोई गएको बताइन् ।
मन्त्री चोले भनिन्, “मैले पनि बुझ्न सकिरहेकी छैन किन अमेरिका भिन्न धारणाका साथ प्रस्तुत भयो । हामीले कहिल्यै प्रतिबन्धहरु पूर्ण रुपमा फुकुवा गर्न भनेकै थिएनौं । यस पटक हामीले सुस्पष्ट रुपमा के बुझेका छौं भने संयुक्तराज्य अमेरिकाले हाम्रा विषयमा ज्यादै भिन्न किसिमले अध्ययन गरिरहेको छ ।”
उत्तर कोरियाले तत्कालै क्षेप्यास्त्र वा आणविक अस्त्र परीक्षण गर्ने तयारी गरिरहेको भन्ने समाचारका बारेमा एक कुटनीतिज्ञले सोधेको प्रश्नमा मन्त्री चोले भनिन्, “आणविक अस्त्र परीक्षण स्थगन वा सुचारु गर्ने विषयमा निर्णय लिने मुख्य अधिकारी नेता किम नै हो । उहाँले छोटो अवधिमा पनि यस विषयमा निर्णय लिन सक्नुहुन्छ ।”
करिब एक घण्टा चलेको उक्त कार्यक्रममा पत्रकारलाई भने प्रश्न गर्न अनुमति दिइएको थिएन ।
वि.सं.२०७५ चैत २ शनिवार १७:०८ मा प्रकाशित






























