
१६ चैत्र, काठमाडौँ । नेपाल सरकारले नेपालको समृद्धिका लागि विशेष महत्वका साथ आयोजना गरेको लगानी सम्मेलनको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकारबीच नेपाल सरकारको ‘समृध्द नेपाल र सुखी नेपाली’ अभियानमा गैरआवासीय नेपालीहरुको सहभागिताका निम्ति एउटा सामुहिक लगानी कोष खडा गर्ने विषयमा एक समझदारी पत्रमा आज हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंह र संघका तर्फबाट अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका छन् ।
यो लगानी कोष स्थापनाका लागि नेपालको प्रचलित कानुन अनुसार कम्मनी खडा गरिने छ र प्रारम्भिक चरणमा रु १० अरव लगानी भित्र्याउने प्रतिवध्दता सहित समझदारी भएको छ ।
यस कोषमार्फत नेपाल सरकारको प्राथमिकतामा परेका आयोजना तथा समग्र नेपालीको हितमा रहने साना ठूला परियोजनाहरुमा लगानी गरिने बताइएको छ ।
यस समझदारीको आधारमा स्थापना हुने कम्पनीले गैरआवासीय नेपाली संघको संजालको उपयोग गरी राष्ट्र निर्माणको अभियानमा समस्त गैरआवासीय नेपालीहरुलाई सहभागिताको अवसर उपलब्ध गराउने संघले प्रतिवध्दता व्यक्त गरेको छ ।
संघका अध्यक्ष भट्टले राष्ट्रिय महत्वको सो लगानी सम्मेलनका अवसरमा गैरआवासीय नेपाली संघको प्रस्ताव अनुसार कोष निर्माणका लागि अनुकुल वातावरण र परिस्थिति सिर्जना गरिदिने सरकारको प्रतिवद्धता साथ समझदारीमा हस्ताक्षर समेत हुन सकेकोमा गैरआवासीय नेपाली संघ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय लगायत सबैमा आभार व्यक्त गरेका छन् ।
वि.सं.२०७५ चैत १६ शनिवार १९:५७ मा प्रकाशित