
१७ चैत, काठमाडौं । ओखलढुंगाको माने भन्ज्याङ डाँडामा स्कार्पियो जिप दूर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाईते भएका छन् ।
सोलुखुम्बुको जुनवेसी ठूलो गुम्बाबाट काठमाडौं आउँदै गरेको बा १६ च २२०७ नम्बरको जिप ओखल ढुंगाको मानेभन्ज्याङ डडुवा डाँडामा दुर्घटना हुँदा जिपमा सवार ताप्लेजुङको फक्तालुङ ७ का ५५ वर्षीया मिङमा शेर्पा, ४५ वर्षीया साङगेल शेर्पा, अन्दाजी ३५ वर्षका नुवाङ शेर्पा, ४५ वर्षीया डोमा शेर्पा, ३२ वर्षीय नुमा शेर्पा र काठमाडौं बौद्धका ३५ वर्षीय नुर्वु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
जिप दुर्घटनामा घाइते हुनेमा मृतक डोमा शेर्पाको छोरा अन्दाजी १० वर्षका बालक मिङमा शेर्पा, कपन नयाँवस्तीका वर्ष ४५ का कुङसिङे शेर्पा र ताप्लेजुङ फक्तालुङका ३० वर्षीय चालक कृष्ण गम्भीर घाईते भएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका हवलदार विनोद खड्काले संसारन्युजलाई जानकारी दिएका छन् ।
गम्भीर घाईतेहरुको उदयपुरको घुर्मिमा रहेको आस्था मेडिकल कलेजमा प्राथमिक उपचार गराइरहेको र काठमाडौं लैजानका लागि हेलिकप्टर मगाईको पनि खड्काले जानकारी दिएका छन् ।
विहान ११ः४० को समयमा दुर्घटना भएको उक्त जिप सडकबाट २ सय मिटर तल खसेको थियो । के कारणले दुर्घटना भयो भन्ने अनुन्धानमै रहेको बताएका खड्काले शवहरुको उद्धार कार्य जारी रहेको पनि बताए ।
वि.सं.२०७५ चैत १७ आइतवार १४:४८ मा प्रकाशित





























