१९ चैत, काठमाडौ । आइतबार साँझ ७ बजे । स्थान पर्सा,जगरनाथपुर । बिस्तारै अँध्यारो बढ्दै थियो । आकाश रिसाए जस्तो लाग्थ्यो । किनकि साँझ पर्दानपर्दै बादलका टुक्राटुक्रीले ठुलो रुप लिँदै थिए । जब रातले अधिकार जमाउन थाल्यो, हावाहुरीसँगै पानी पनि पर्यो । हेर्दाहेर्दै नदेखिने भयो ।
निमेषमै फुसका घर लड्न थाले । तिनै घरलाई छिमेकीको तीनतले घरले च्याप्यो । मान्छेहरु हाहाकार गर्न थाले । जीउ जोगाउन सबै भागे । तर पाँच वर्षीया समिना खातुन भाग्न सकिनन् । सायद उनले मेसो पाइनन् । च्याप्पिन् । र रोइन् ।
खातुनका दाइदिदी भने बुवाआमासँगै पछि लागे । घरबाट अलि परको बाटोमा पुगेका मात्र के थिए, खातुनका बाबु मन्सुरी मियालाई सन्तानको याद आयो । र हेरे । कान्छी छोरी समिनालाई देखेनन् । उनी आत्तिए । सबै पछिपछि आए होलान् भन्ठानेथेँ, उनले भने, नदेखेपछि घरतिर हेरेँ । अन्धकार थियो । धन्न छोरीको रुवाइ सुनेँ । र, त्उही पछ्याउँदै गएँ ।
खोज्दै जाँदा उनले केही छिन त छोरीलाई भेटाएनन् । उनी छामछुम गर्दै अघि बढे । र बल्लतल्ल छोरी भेटे । छोरीलाई खरको छानोले च्यापेको थियो । बिस्तारै त्यसलाई पन्छाए । अनि छोरीलाई काखी च्यापे । अनि भागे । मंगलबारको अन्नपुर्ण पोस्टमा दिनेश गौतमले लेखेका छन् ।
वि.सं.२०७५ चैत १९ मंगलवार ०७:३२ मा प्रकाशित






























