back

रसुवागढी जलविद्युत् आयोजना पुनः सञ्चालन हुँदै

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

732 

shares

 

२३ कात्तिक, रसुवा । स्वदेशी पुँजी तथा प्राविधिकको सहयोगमा निर्माण अगाडि बढेको रसुवागढी जलविद्युत् आयोजना आगामी मङ्सिर १५ गते भित्र पुनःनिर्माण अगाडि बढ्ने भएको छ ।

सन् २०१७ (विसं २०७३/७४) भित्र सम्पन्न गर्ने लक्ष्यका साथ २०१४(२०७०/७१) देखि निर्माण अगाडि बढेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना आगामी सन् २०१९(२०७५/७६) मा सम्पन्न हुने भएको छ ।

निर्माणमा संलग्न ठेकेदार कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेसनले अहोरात्र काम गरेपनि २०७२ साल वैशाख १२ को भूकम्पपछि बाहिरी सतहमा जोखिम बढेर निर्माणका सबै काम स्थगन भएको थियो ।

उक्त आयोजनास्थलमा हाल सहजता आइसकेका कारण निर्माण पुनः सुरु गराउने सहमति ठेकेदार र आयोजनाको कम्पनीबीच भइसकेको रसुवागढी जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक माधव कोइरालाले जानकारी दिनुभयो । ठेकेदार कम्पनीले आगामी मङ्सिर १५ गतेभित्र काम प्रारम्भ गरिसक्ने बताइएको छ ।

विगतमा भएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव, भूकम्पका असर, गत असार साउन भदौको वर्षाले आयोजनाको सेरोफेरोमा चलेको पहिरो जस्ता कारणले काबुभन्दा बाहिरको परिस्थिति उत्पन्न भएपछि निर्माणको अवधि दुई वर्ष लम्बिने कम्पनीले जनाएको छ ।

अबका दिनमा ट्राफिक जामको चुनौती थपिएको छ । जलविद्युत् र नेपाल चीनको व्यावसायिक कारोबार दुवै कार्य राष्ट्रिय गौरवको आयोजना र काम भएकाले एक आपसी समन्वयात्मक ढङ्गले सहज वातावरण सिर्जना गर्न गराउन कुराकानी भइरहेको प्रबन्ध निर्देशक कोइरालाले बताउनुभयो । हाल नेपाल चीनको सामान आयात निर्यात गर्ने र ट्रक र कन्टेनर ठूलो सङ्ख्यामा गढी, जाँच गर्ने भन्सार हाता तथा आयोजनास्थल एकै ठाउँमा परेकाले व्यावसायिक सामान बोकेका सवारी साधन र आयोजनाका निर्माण सामाग्री बोक्ने सवारी साधन व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती रहेको बताइन्छ ।

रु तेह्र अर्बको लागतमा निर्माण हुने उक्त जलविद्युत् आयोजनाको ३० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको बताइएको छ । भूकम्पले क्षति पु¥याएको बाहिरी सतहका उपकरण शोधभर्ना गर्नुपर्ने र अर्कातर्फ सामग्रीको दरभाउ वृद्धि हुँदा लागतको केही अंश बढ्न सक्ने निमित्त आयोजना प्रमुख नागेन्द्र ज्ञावालीले बताउनुभयो ।

यस्तै रसुवाको उत्तरी भेगमै सञ्चालित साञ्जेन जलविद्युत आयोजना अन्तर्गत माथिल्लो सान्जेनको निर्माण भने क्रमशः अगाडि बढिरहेको छ । आयोजना प्रमुख गिरिराज अधिकारीका अनुसार दुई भागमा निर्माण हुने ५७ दशमलव १ मेगावाट विद्युत्मध्ये कुल १४ दशमलव ६ मेगावाटको दुई हजार एक सय मि सुरुङको एक हजार छ सय मिको निर्माण सम्पन्न भई विद्युत्गृह निर्माण गर्ने कार्य समेत अगाडि बढिरहेको छ । माथिल्लो सान्जेन जलविद्युत्को कार्य समग्रमा ६० प्रतिशत पूरा भएको छ ।

बयालिस दशमलव ५ मेगावाटको तल्लो सान्जेन जलविद्युत् आयोजनाको कामले तिहारपछि क्रमशः गति लिन थालेको छ । आयोजना निर्माणमा कार्यरत ठेकेदार कम्पनी सिउ र तुन्डी जेभीको काम भने कछुवाको तालमा हिँडेकाले अपेक्षित प्रगति हासिल नसकेको बताइएको छ । पछिल्लो चरणमा आयोजना निर्माणका ठाउँ ठाउँमा कामदार क्रमशः बढ्दै गएकाले अबका दिनमा छिटोछरितो काम हुने अपेक्षा गरिएको सान्जेन जलविद्युत् आयोजनाले जनाएको छ । सान्जेनका दुवै आयोजना सन २०१८(२०७४ । ७५) भित्र सम्पन्न गर्ने लक्ष्य रहेको पनि बताइएको छ ।

उता २०७१ साल असार २० गते उत्पादन सुरु भई भूकम्पले क्षति पु¥याएको पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत् आयोजना गत असोजको अन्तिम सातादेखि पुनःसञ्चालन भएको मैलुङ जलविद्युत् केन्द्रले जनाएको छ । यसै गरी २०६० साल भदौ ८ गते उत्पादन सुरु भएको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र भने नियमित रुपमा सञ्चालन भइरहेको छ । भूमिगत संरचनाको विद्युत्गृह भएका कारण अन्य सबै संरचना सुरक्षित रहेको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।

रसुवा र नुवाकोट जिल्लाको आधार इलाकामा नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ६० मेगावाट माथिल्लो त्रिशूली ‘थ्रि ए’ जलविद्युत् आयोजनाको निर्माण आगाडि बढ्न नसकेको बताउँदै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले भूकम्पपछि सहज वातावरण सिर्जना भइसकेका अवस्थामा यस्ता आयोजना पुनःनिर्माणमा ढिला गर्न नहुने बताउनुभयो । तस्बिर : ज्ञानेन्द्र न्यौपाने,रासस

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०४:३० मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...