back

बाबुरामको भेला, शेखरको वितण्डा

वि.सं.२०७५ चैत १९ मंगलवार

63 

shares

देशमा यी यावत् घटना भइरहेका बेला म भने दिल्लीमा खुम्चिएर बसिरहेको थिएँ । हरेक दिन राति बीबीसीबाट नेपालको खबर सुन्ने र आउने–जानेसँग भेट्ने मेरो दिनचर्या थियो । दिल्लीमा रहेका नेपाली विद्यार्थी र राजनीतिक चेतना भएका केही मानिससँगको सङ्गतले मात्र मलाई अलिकति राहत दिएको थियो । तीमध्ये एक थिए, बाबुराम भट्टराई ।

अखिल भारत नेपाल विद्यार्थी सङ्गठनका तर्फबाट बाबुराम भट्टराईले दिल्लीमा नेपालका राजनीतिक दलका नेता तथा विद्यार्थी आन्दोेलनका नायकलाई बोलाएर कार्यक्रम आयोजना गर्नुभयो । जनमतसङ्ग्रहको प्रचारमा गणेशमान सिंह र मनमोहन अधिकारीले उठाएकै निष्पक्ष र स्वतन्त्र चुनाव गराउनका लागि अन्तरिम सरकारको माग गर्दै चलेको तीनदिने छलफलमा म पनि आमन्त्रित थिएँ ।

आमन्त्रित विद्यार्थी नेताहरुलाई बस्ने व्यवस्था जनता दलका तत्कालीन सांसद शरद यादव र राज्यसभाका सदस्य रामेश्वरप्रसाद सिंह (रामेश्वबाबु) को निवासमा मैले नै मिलाएको थिएँ । भेलामा सहभागिता जनाउन काठमाडौंबाट विद्यार्थी आन्दोलनका चर्चित नेता कैलाश कार्की, शरणविक्रम मल्ल र हिरण्यलाल श्रेष्ठहरु आएका थिए । भारतको पटना विश्वविद्यालय, बनारसको बीएचयू र काठमाडौं पद्मकन्या कलेजका छात्राहरुले पनि त्यस राजनीतिक भेलामा सहभागिता जनाएका थिए ।

त्यसबेला म दिल्लीमा बस्दा प्रायः रामेश्वरबाबुकै निवासमा बस्थेँ । मेरी पूर्वपरिचित दुुुुर्गा पोखरेल पद्मकन्या कलेजका छात्रालाई लिएर म बसेको ठाँउमा बस्न आउनुभएको थियो । बनारस हिन्दु विश्वविद्यालयबाट ईमा गिरी र मीना दाहालहरु पनि रामेश्वरबाबु (सिंह) कै निवासमा बस्न आएका थिए ।

त्यसबेला भारतीए विश्वविद्यालयमा अध्ययनरत नेविसङ्घ समर्थक विद्यार्थीहरु जनमतसङ्ग्रह राजाको निर्दलीय पञ्चायती सरकारले गराउने कि अन्तरिम सरकारले भन्नेबारेमा विभाजित थिए । राजा वीरेन्द्रले जनमतसङ्ग्रहको घोषणालगत्तै निर्दलीय व्यवस्थाका कट्टर पक्षपाती सूर्यबहादुर थापाको नेतृत्वमा चुनावी सरकार गठन गरेको भए पनि बीपीले निःसर्त समर्थन गरेर काङ्ग्रेस पार्टीले त्यस चुनावमा भाग लिने एकल निर्णय गरिसक्नुभएको थियो ।

तर, बाबुरामजीले गरेको यो भेला भने गणेशमान सिंह र मनमोहन अधिकारीको लाइनमा थियो । यसले निष्पक्ष निर्वाचनका लागि अन्तरिम सरकार गठनको माग गरेको थियो । यसै कारण त्यसबेला दिल्लीको मेडिकल कलेजमा पढ्दै गरेमा शेखर कोइराला, ध्रुव शर्माहरु यो राजनीतिक भेलाका विरुद्घ प्रचार–प्रसारमा लागेका थिए ।

प्रचार मात्रै गरेर नपुगेर शेखर कोइराला नेविसङ्घ समर्थक विद्यार्थीहरुलाई आफू बसेको होटलमा लैजान भनेर म बसेको रामेश्वरबाबुको निवासमा गाडीको काफिल लिएर आए । दुर्गा पोखरेल र केही छात्राहरु उनीहरुका गाडीमा गए । तर, अन्य छात्राहरु त्यहाँ जान मानेनन् । भोलिपल्ट फेरि प्रकाश कोइराला, शेखर कोइराला, ध्रुव शर्माहरु दलबलका साथ आए । उनीहरुले छात्राहरुलाई जबरजस्ती लिएर जाने प्रयास गरे । छात्राहरु रुन–कराउन थाले । मैले शेखर कोइरालालाई जबरजस्ती नगर्नु के भनेको थिएँ, उनी मैमाथि जाइलागे । त्यसबेला भारत सरकारले मलाई सुरक्षा गार्ड दिएको थियो । गार्डले उनीहरुलाई धकेलेर कोठाबाहिर पुर्यायो । त्यती नै बेला सांसद रामेश्वरबाबुले आफ्नो कोठाबाट बाहिर आएर हूलदङ्गा गर्ने शेखर र ध्रुव शर्मालाई कठालोमा समातेर पिट्दै घरको कम्पाउन्डबाहिर निकाल्नुभयो । उहाँले मेरो गार्डलाई पुलिस फोर्स बोलाउन भनेपछि उनीहरु त्याहाँबाट भागे ।

त्यस घटनाको एक घन्टापछि पुलिस पदाधिकारीहरु आइपुगे । रामेश्वरबाबु सासंद भएकाले उहाँको निवासमा हूल–हुज्जत गर्नेलाई पुलिसले सजिलै गिरफ्तार गर्न सक्थ्यो । शेखरहरुको व्यवहारबाट आक्रोशित हुनुभएका रामेश्वरबाबुले घटनामा शेखर कोइराला र प्रकाश कोइरालाहरुको संलग्नता रहेको रिपोर्ट लेखाउँदै कानुनी कारबाही गर्न भन्नुभयो । मैले राजनीतिक विवादका कारणले भएको घटना हुनाले कुनै पनि कानुनी कारबाही नगर्न÷नगराउन उहाँलाई अनुरोध गरेपछि पुलिस पदाधिकारी फर्किएका थिए ।

पटना विश्वविद्यालयमा अध्ययनरत पत्रकार युवराज घिमिरे पनि संयोगले त्यस दिन सांसदकै निवासमा बस्नुभएको थियो । पुलिस गइसकेपछि रामेश्वरबाबुले युवराजलाई बोलाएर तपाई त पत्रकार पनि हुनुहुन्छ । मेरो निवासमा हूल–हुज्जत भएको समाचार प्रकाशित गरिदिनुहोस् भन्नुभयो । तर, युवराजजीले पनि छात्राहरुलाई नराम्रो व्यवहार गरेको खबर प्रकाशित गर्दा छात्राहरुकै बदनामी हुने भन्दै खबर नबनाउने राय दिनुभयो ।

त्यस भेलामा निर्मल लामा, मोहनविक्रम र हृषीकेश शाहहरु सामेल हुनुभएको थियो । छलफल कार्यक्रमको अन्तिम दिन प्रकाशित वक्तव्यमा भनिएको थियो, जनमतसङ्ग्रह निष्पक्ष र स्वतन्त्र गर्न÷गराउन बहुदलवादी पक्षधरहरु एक भएनन् भने राजाले निर्दलीय एकाधिकारवादी व्यवस्थालाई नै षड्यन्त्रपूर्ण तरिकाले जनअनुमोदन गराउन सफल हुनेछन् । सरकारी पक्षले गराएको जनमतसङ्ग्रहमा विपक्षको विजय कहीँकतै भएको छैन । नेपालमा पनि त्यस्तै हुनेछ ।

भेलामा समापन मन्तव्यमा आयोजक बाबुराम भट्टराईले नेपालमा हुन गइरहेको जनमतसङ्ग्रहमा राजाले जनतालाई धोका दिने चाल चलेको भन्दै बीपीले यसलाई निःसर्त समर्थन गरेर आत्मसमर्पण गरेको दोष लगाउनुभएको थियो । भेलामा सामेल हुन आएका विद्यार्थीहरुमाथि शेखर कोइरालाहरुले गरेको अभद्र व्यवहारको पनि उहाँले निन्दा गर्नुभएको थियो ।

लेखक सुवेदीको  ‘विमान विद्रोह’ पुस्तकबाट लिइएको केही अंश

वि.सं.२०७५ चैत १९ मंगलवार १४:४० मा प्रकाशित

शासकीय प्रणाली सुधारका लागि १२ सुझाव

शासकीय प्रणाली सुधारका लागि १२ सुझाव

नेपालको बर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था १५ बर्ष पुग्दानपुग्दै...

एमाले कार्यकर्ताहरुलार्ई खुला पत्र

एमाले कार्यकर्ताहरुलार्ई खुला पत्र

प्रिय कमरेडहरु अभिवादन । सर्वप्रथम यो देशको सबैभन्दा धेरै प्रजातान्त्रिक,...

छठ पर्वले मानव सभ्यताको अर्थ बोध दिन्छ

छठ पर्वले मानव सभ्यताको अर्थ बोध दिन्छ

हिमांशु चौधरी, काठमाडौँ । छठ पर्र्व तराईको समतल फाँटदेखि हिमालको...

मेट्रो एफएमका पाका कुरा

मेट्रो एफएमका पाका कुरा

जेष्ठ नागरिक भनेका हाम्रा समाजका गहना हुन् । अहिले नेपालमा...

चुनौतीको चाङमा न्यायाधीश समाज

चुनौतीको चाङमा न्यायाधीश समाज

सम्वत् २०८० सालको विजया दशमीको समापनसाथ न्यायाधीश समाजले नयाँ नेतृत्व...

आफ्नै बच्चा तीन चिरा पर्दा कसरी हेर्न सक्नुभएको छ, उपेन्द्र महतोज्यू ?

आफ्नै बच्चा तीन चिरा पर्दा कसरी हेर्न सक्नुभएको छ, उपेन्द्र महतोज्यू ?

हामीले देखेको तत्कालको उपाय भनेको नेपाल सरकारले तीन टुक्रा भएको...