back

यमनमा अमेरिकी सैनिक सहयोग अन्त्य गर्ने प्रस्तावमा मतदान

वि.सं.२०७५ चैत २२ शुक्रवार

69 

shares

२२ चैत, वासिङ्टन । अमेरिकी सांसदहरुले साउदी अरेबियाको अग्रसरतामा सञ्चालित रक्तपातपूर्ण यमन युद्धमा अमेरिकी सैनिक सहयोग अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति विपरीत संसदमा रिपब्लीकन र डेमोक्र्याट पार्टीका सांसदहरुले बहुमतबाट यमन युद्धमा अमेरिकी संलग्नता अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका हुन् । उक्त प्रस्तावलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र यसले कानुनको रुप लिनेछ ।

तर राष्ट्रपति ट्रम्पले सिनेटको उक्त प्रस्ताव अस्वीकृत गर्ने र आवश्यक परे विशेषाधिकार (भिटो) प्रयोग गर्न सक्ने बताइएको छ ।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा उक्त प्रस्ताव २४७ – १७५ ले पारित भएको थियो । सिनेटले गत महिना नै यो प्रस्ताव पारित गरेको थियो ।

ह्वाइट हाउसले संसदको उक्त प्रस्ताव दोषपूर्ण रहेको जनाउँदै यसले साउदी अरेबिया समेतका खाडी क्षेत्रसँगको द्विपक्षीय सम्बन्धमा समस्या आउने बताएको छ ।

संसदमा डेमोक्र्याट सदस्यहरुले साउदी अरेबियाको अग्रसरतामा बनेको गठबन्धनमा कङ्ग्रेसको अख्तियारी बेगर नै अमेरिकाको सहभागिता गैरसंवैधानिक हुने तर्क अघि सारेका छन् । खासगरी हातहतियारको आपूर्ति र लडाकू विमानमा तेल भर्ने कार्य संवेदनशील कार्य हो ।

उदारवादी सिनेटर बर्नी स्यान्डर्स जस्ता धेरै सांसदहरुले युद्ध र शान्तिका विषयमा अमेरिकी सांसदहरुले निर्णय गर्न पाउनुपर्ने भन्दै वर्षौंदेखि बहस गरिरहेका छन् ।

“आज कङ्ग्रेसले आफ्नो जिम्मेवारी पुनः महसुस गर्दैछ, र यो यमनका सन्दर्भमा मात्र लागू हुँदैन यो भविष्यका लागि पनि हो,” यमन प्रस्तावका मूल लेखक स्यान्डर्सले संसदमा मतदानपछि बताए । उनी सन् २०२० का लागि राष्ट्रपतिका उम्मेदवार समेत छन् ।

उनले यमनको रक्तपातपूर्ण युद्धबाट तत्काल अमेरिका बाहिरिनु पर्दछ भने ।

“विदेश नीतिका मामिलामा संसदले आफ्नो संवैधानिक दायित्वलाई अब बेवास्ता गर्ने छैन, र यस यथार्थलाई राष्ट्रपतिले पनि सामना गर्नुको विकल्प छैन,” संसदको विदेश मामिला समितिका अध्यक्ष इलिअट एन्जेलले बताए ।

यमन मामिलामा डेमोक्र्याट सांसदसँग १६ जना रिपब्लीकन सांसदले समेत समर्थन जनाएका थिए । ट्रम्पका कट्टर समर्थक भनेर चिनिएका जिम जोर्डन र मार्क मिडोज समेतका रिपब्लीकन सांसदले यमन युद्धमा अमेरिकाले सहयोग गर्नु उपयुक्त नरहेको बताएका थिए ।

सांसदहरुले यमनको गृहयुद्धमा दमन गर्न साउदी अरबले अमेरिकी हातहतियारको प्रयोग गर्नसक्ने सम्भावनाप्रति पनि ध्यानाकर्षण गरेका थिए ।

“यमनी सर्वसाधारणका घरआँगनमा खसेका सबैजसो बममा एउटै कुरा लेखिएको पाइन्छः अमेरिकामा निर्मित” डेमोक्र्याट सांसद जिम म्याकगोभर्नले बताए ।

यमनमा युद्धका कारण चरम मानवीय सङ्कट उत्पन्न भएको छ । यमनमा एक करोड ४० लाख मानिस भोकमरिको जोखिममा रहेका अध्ययनहरुले देखाएका छन् ।

विश्व स्वास्थ्य संगठनको भनाईमा करिब १० हजार सर्वसाधारणको मृत्यु जथाभावी बमबारीबाट भएको जनाएको छ । साउदी अरेबियाको समर्थनमा रहेको यमनी सरकार र इरान समर्थित हुथी बिद्रोहीबीच लामो समयदेखि युद्ध जारी छ ।

मानव अधिकार समूहहरुले गृहयुद्धका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको जनाएका छन् ।

स्यान्डर्स र अरुहरुले वासिङ्टनले सैनिक हस्तक्षेपको साटो मानवीय सहायता उपलब्ध गराउनु उपयुक्त हुने बताएका छन् ।

स्यान्डर्सले भने, “यमनको अर्थतन्त्र पुनर्निर्माणमा हामीले सहयोग गर्न सकिँदैन भने उनीहरुलाई मानवीय सहायता उपलब्ध गराऔं, उनीहरुलाई बम होइन खाद्यान्न दिऔं, नत्र त्यहाँको अवस्था अरु खराब हुनेछ ।”

अन्तर्रा्ष्ट्रिय क्राइसिस ग्रुपले कङ्ग्रेसको उक्त कदमको स्वागत गरेको छ । अमेरिकी राष्ट्रपति र खाडी क्षेत्रमा अमेरिकी गठबन्धनका मुलुकहरुले कङ्ग्रेसको मतदानबाट त्रसित हुनु आवश्यक छैन, आइसीजीका अध्यक्ष रब माल्लीले बताए ।

वि.सं.२०७५ चैत २२ शुक्रवार १८:०९ मा प्रकाशित

गाजा युद्धमा अमेरिकाको भिटोपछि इरानले दियो ‘विस्फोट’ को चेतावनी

गाजा युद्धमा अमेरिकाको भिटोपछि इरानले दियो ‘विस्फोट’ को चेतावनी

तेहरान । अमेरिकाले गाजा युद्धमा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा...

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

  टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक...

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

भेन्टियान । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका...

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

लन्डन  । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई...

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...