
३० चैत, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लीलामणि पोखरेलले नागरिकता सम्बन्धमा परिपक्व निर्णयमा पुग्नु पर्ने बताएका छन् ।
सार्थक अभियान नेपालद्धारा काठमाडौंमा आयोजित ‘प्रस्तावित नागरिकता विषयक’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नागरिकताको विषय संवेदनशील र जटिल भएकोले अब हुने निर्णय परिपक्व हुनुपर्नेमा जोड दिएका छन् ।
नेपालको भू–राजनीति, साम्राज्यवादी विस्तारबाद र प्रभुत्ववादीहरुको गिद्धे दृष्टि तथा नेपाली राष्ट्रियताको समग्र पक्षलाई ख्याल गरेर नागरिकता विधेयक टुंगो लगाइनु पर्नेमा जोड दिएका हुन् । बावु र आमाको समान हक तथा नागरिकता प्राप्त व्यक्तिबाट जन्मेको बच्चाले पाउने विषयमा भएका बहश जिम्मेवार र परिपक्व बन्नुको विकल्प नरहेको बताएका छन् । सभामुखले विद्रोह गर्न सकेमात्र क्याविनेटद्धारा पेश भएको नागरिकता विधेयक फिर्ता हुने खुलासा समेत उनले गरेका छन् ।

सार्थक अभियान नेपालका अध्यक्ष भरत गौतमको सभापतित्वमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले कार्यपत्र पेश गरेका थिए भने पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, नेकपाका नेता नारायण शर्मा, नेता साध्य बहादुर भण्डारी, ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारी, प्राध्यापक डा. हरिप्रसाद अधिकारी, विनोद विश्वकर्मा, बलराम थापा, सुर्य रेग्मी, बालकुमार अर्याल लगायतका वक्ताहरुले नागरिकतामा राष्ट्रघात हुन नहुनेमा धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन बालकृष्ण आचार्यले गरेका थिए ।
वि.सं.२०७५ चैत ३० शनिवार १३:११ मा प्रकाशित






























