२५ कात्तिक, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काठमाडौँ, भक्तपुर र ललितपुरमा अनुदान सम्झौता गरेका घरधनीलाई पहिलो किस्ता उपलब्ध गराउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई रु तीन अर्ब ५७ करोड ८० लाख ५८ हजारको अख्तियारी प्रदान गरेको छ ।
भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका उपत्यकावासीलाई आवास निर्माणका लागि पहिलो किस्तामा रु ५० हजार उपलब्ध गराउन प्राधिकरणले उक्त मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई रकमको अख्तियारी दिएको छ । उपत्यकामा अनुदान सम्झौता जारीे तथा कात्तिक २३ गतेसम्म तीन हजार ७७ घरधनीसँग अनुदान सम्झौता भएको जनाइएको छ ।
अनुदान सम्झौताका लागि काठमाडौँमा ४२ हजार ५००, ललितपुरमा २४ हजार १२८ र भक्तपुरमा २४ हजार ९०० घरधनीको नाम पहिचान भएकाको नाम स्थानीय विकास मन्त्रालयमा पठाइसकेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।