
पुष्पलाल पाण्डेनेपाल विद्यार्थी संघ स्थापना भएको आज ४८ वर्ष पुरा भएको छ । नेपालको विद्यार्थी आन्दोलनमा अनेरास्ववियु सँगै नेविसंघको पनि महत्वपुर्ण भमिका रहेको छ । तर यी संगठनहरुको उमेर जति बढ्दै गएको छ, विद्यार्थी आन्दोलन त्यति तरल बन्दै गएको छ । पछिल्लो समयमा त विद्यार्थी संगठन एकातीर र समग्र विद्यार्थी अर्कोतिर भए जस्तो देखिन्छ । अझ नियमित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसक्दा विद्यार्थी संगठन प्रति विद्यार्थी आकर्षण पनि घटीरहेको देखिन्छ ।
आज नेविसंघको स्थापना दिवस भएकोले हाम्रो कलम नेविसंघ तीर मात्रै सोझिएको छ । सुरुमा नेविसंघ स्थापना हुदाँ यसको उदेश्य प्रजातन्त्रको स्थापना, जनजनमा शिक्षाको पहुँच र देशको विकास थियो । तर समय परिवर्तन हुदै जाँदा नेविसंघको स्थापना कालको उदेश्य ओझेल पर्दै गएको छ ।
परीमाण त हिजोको शक्तिशाली संगठन अहिले भुत्ते भएको छ । अझ दुखको कुरो ४९ औ स्थापना दिवस मनाइरहदा नेविसंघ नेतृत्व बिहिन हुन पुगेको छ ।
४९ वर्ष, ११ महाधिबेशन
नेविसंघको विद्यानमा प्रत्येक २ वर्षमा महाधिवेशन गर्नु पर्ने प्रावधान छ । तर ०२७ देखि ०७६ सम्म आइपुग्दाको ४९ वर्षमा नेविसंघले जम्मा ११ वटा महाधिवेशन मात्रै गरेको छ । नेविसंघको तितो यथार्थ के हो भने विश्व प्रकाश शर्मा बाहेक कुनै सभापतिले समयमा महाधिवेशन गर्न सकेनन् । पहिलो महाधिवेशनमा विपीन कोइरालाले एक मत अन्तरले मार्सल जुलुम शाक्यलाई हराएर सभापति भए पछि संघमा जम्मा ११ जना मात्रै निर्वाचित सभापति भएका छन् । अठार जना सभापतिमा ७ जनाले कांग्रेस नेतृत्वबाट टिका लगाएर नेविसंघको नेतृत्व गर्ने अवसर पाएका थिए ।
०५७ सालमा आठौ महाधिवेशनबाट निर्वाचित भएका शर्माले ०५९ मा नवौ महाधिवेशन गरेर गुरुराज घिमीरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए । त्यहाँ भन्दा अगाडि र पछाडि भने कूनै सभापतिले समयमा नेतृत्व हस्तान्तरण गरेको इतिहास नेविसंघमा छैन ।
नेविसंघ किचलो : आफै बसेको हाँगा काट्ने काम
नेविसंघ आफै एउटा इतिहास हो । यो इतिहास अहिले रुन्चे र मलीन अनुहार मा उभीएको देखिन्छ । नेविसंघको अनुहार रुन्चे र मलिन हुनुमा माउ पार्टी नेपाली कांग्रेस र स्वयं संगठनकै नेतृत्व बढी जीम्मेवार देखिन्छ ।
माउ पार्टीको गुट सँग हातेमालो गर्ने संगठनको नेतृत्व र संगठनमा आफ्ना ‘एस म्यान’ राख्ने माउ पार्टीका नेताहरुको दाउको शीकार नेविसंघ भएको छ । स्वयं नेविसंघका सभापति भइसकेका शेरबहादुर देउवा अहिले पार्टी सभापति छन् । बिडम्बना उनै देउवाका कारण अहिले नेविसंघ नेतृत्व बिहिन भएको छ । पछिल्लो समय नेविसंघ किचलो आफै बसेको हाँगा काट्ने मुर्खको कथा सँग जोडिने स्थितीमा पुगेको छ ।
अब यस्तो नहोस
नेविसंघको इतिहास गर्विलो छ । यो इतिहासलाई जोगाइराख्नु आम नेविसंघका कार्यकर्ताहरुको दायित्व हो । अहिलेको नेतृत्व र सोचबाट संघको इतिहास जोगिने सम्भावना अत्यन्तै निम्न छ । यस्तो अवस्थामा आम कार्यकर्ताले संघको इतिहासलाई साक्षि राखेर शसक्त नेतृत्व स्थापीत गर्न पहल आजै बाट गर्नुपर्दछ । संघको ४९ औ स्थापना दिवसको अवसरमा आम नेविसंघका कार्यकर्ताहरुलाई यहि शुभकामना ।
वि.सं.२०७६ वैशाख ६ शुक्रवार १३:१३ मा प्रकाशित