
जिन्दगीलाई उधारेर हेर
मालती
प्रश्नै प्रश्नको कारखाना भेट्नेछ्यौ
र पाउनेछ्यौ आफैलाई नाजवाफ
त्यसैले
हर प्रश्नको जबाफ नखोज
कति प्रश्नहरु
बिना उत्तर नै मिठा हुन्छन्
अरु खबर नसोध
उस्तै छ यो गल्लि
एक तमासले समय दगुरी रहेको छ
तिमि नहुदा
जुन, घाम र ताराहरु आकाश मै अड्किदिए
कहिल्यै भुइँ ओर्लिएनन्
हरेक साँझ
उसै गरि चिमोटेर जान्छ एक्लोपनले
तर अह
कुनै फरक परेन
उमेर छिप्पिएर पनि
मन नछिप्पिने रहेछ
मालती
अझै यो कबि
तिमीलाई सम्झदै
सम्झनाको ऐना हेर्न बिर्सिदैन
हुन त
दोधारमा म पनि छु
तिमीले बुझ्न खोजिरहेकी छैनौ
या म बुझाउन नाकाम छु
मेरा सबै जबाफहरु प्रश्न बनिरहेका छन्
मेरै सामु
बर्षौ पहिले तिमीले
बोलिदिएको एउटा शब्द
गरिदिएको एउटा सहमति
लजाइदिएको एउटा पल
उसरी नै आलो याद बनेर सुरक्षित छन
सम्बन्धको पुस्न रेखाङ्कन गर्न चाहिंन
पाउनु मात्रै पनि त
प्रेम होइन रहेछ
म
उसै गरि प्रेमलाई भगवान भनिरहेको छु
सायद भनिरहुला
तिम्रा आँखाको गहिराइ
म अक्षरहरुमा लेख्न सक्दिन
मुस्कानको आयतन
आवाजमा भर्न सक्दिन
हरपल खोजिरहेको हुन्छु
बिचारको क्षेत्रफल
बुद्धले झैँ बुद्धत्व पाएको भए
बनाइदिने थिए
फराकिलो छाति
जहा झाँगीने थिए
तिमीले जन्माएका अनगिन्ति रहरहरु
हुन त हिउद छिप्पिए पछि झोक्राएको लालीगुराँस
बादल भएर आकाशमा बरालीरहने समुन्द्र
या परदेश लागेको तिम्रो प्रेमी
मानौ सबै एकै रहेछौ
मुस्कुराउन पनि पर्खनु पर्ने
आफ्नै इन्द्रियहरुसंग पनि स–संकित हुनु पर्ने
जन्मदै हरबस्तु मृत्यु बोकेर आउने रहेछ
सायद त्यसैले होला
मेरा सपनाहरु अकाल मर्न खोज्छन्
भन्नेले जे पनि भनिदिन सक्छन
सुन्नेले उल्टो पनि सुनाइदिन सक्छन
सजिलो हुन्छ चैतमा डढेलो लगाउन
भैगो छोदिदेउ शंकाका कुरा
तिमि एक पटक सम्झ त
हामीले देउरालीमा धुर्शुल फुल चढाएर खाएको कसम
रत्नपार्कमा बदाम खादै रित्याएको गोधुली साँझ
दुनियाका आँखा छल्दै गरेको मिठो गल्ति
हो मालती
त्यस्तै त्यस्तै परिवेश सम्झेर
यो मुस्किल जिन्दगीमा
परिश्थितिका अप्ठ्यारा जुइनाहरु खुस्काउदै
अक्करको भिर उक्लदै छु
अझै हिडीरहेको छु
खुशीको मुहान पत्तालगाउन
म मान्छे हुँ
थाक्न सक्छु
मालती
अब अरु शंकाका प्रश्नहरु नउमार
सम्बन्धका कति प्रश्नहरु
बिश्वासको पर्खाल ठड्याए पछि
तिम्रो मुस्कान जस्तै सुन्दर हुन्छन
कति प्रश्नहरु
बिना उत्तर नै मिठा हुन्छन्
कवि घिमीरे, अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय महासचिव हुन् ।
वि.सं.२०७६ वैशाख ७ शनिवार १०:५४ मा प्रकाशित






























