
८ बैशाख, काठमाडौं । धादिङमा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका–२ आपँटार बस्ने जितबहादुर चेपाङको ३ वर्षीया छोरी मञ्जु चेपाङको जलेर मृत्यु भएको हो । घरमा कोही नभएको अवस्थामा घर नजिकै रहेको टिनले छाएको बाख्राको खोरमा खेल्ने क्रममा परालमा शनिबार बिहान आगलागी हुँदा उक्त आगोले जलेर बालिकाको मृत्यु भएको हो ।
त्यस्तै सुर्खेतमा भएको आगलागीमा ४ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुर्खेत, चिङगाड गाउँपालिका ६ ताम्का बस्ने टेकबहादुर वलीको कच्ची घरमा शनिबार दिउसो आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ४ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिइएको थियो ।
वि.सं.२०७६ वैशाख ८ आइतवार १३:३१ मा प्रकाशित