१० बैशाख, धनगढी । निर्माण गरेको एकसाता नबित्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा घाँस उम्रिएको छ । कालोपत्रे सडकमा घाँस उम्रिएपछि त्यसको गुणस्तरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ ।
आयोगको कञ्चनपुरस्थित क्षेत्रिय कार्यालयलको टोलीले कालोपत्रे गरिएको सडक निरीक्षण गर्नुका साथै धनगढी उपमहानगरपालिकाबाट सडक सम्बन्धी कागजात नियन्त्रणमा लिएको छ ।
निरीक्षण गर्दा कालोपत्रे सडकमै घाँस उम्रिएको देखिएको अख्तियारको क्षेत्रिय कार्यालयका सूचना अधिकारी टोप बहादुर विष्टले बताए । चेकजाँचका लागि केही कागजात माग गरिएको उनले जानकारी दिएका छन् । निरीक्षणमा गएको दिन उपमहानगरका लेखा अधिकृत बिदामा रहेकाले उपलब्ध हुन नसकेका निर्माण सम्झौता पत्र, भुक्तानी बिल माग गरिएको सूचना अधिकारी विष्टले जनाकारी दिए ।
उता उपमहानगरले भने सडक निर्माणमा प्राविधिक कमजोरी नभई छेउछाउतिर गाडी नगुड्ने हुनाले घाँस उम्रिएको तर्क गरेको छ ।
मंगलबारको नयाँपत्रिका दैनिकमा तेजराज भट्टले धनगढीबाट लेखेका छन् ।
वि.सं.२०७६ वैशाख १० मंगलवार ०७:१४ मा प्रकाशित






























