
१० वैशाख । सुनसरीको इटहरी ५ धनगंगा टोलका ७३ वर्षीय हरिप्रसाद आचार्य बिहनै गाई दुहुँदै हुनुहुन्थ्यो, इटहरीका मेयर द्वारिकालाल चौधरी गाईगोठमै टुप्लुक्क पुग्नुभयो । स्थानीय सरकारका प्रमुख गाईगोठमै आइपुग्दा आचार्य छक्क पर्नुभयो । मेयरसाब गोठमै आउँदा निकै खुशी लाग्यो, आचार्यले भन्नुभयो, म नगरपालिका जाउँ भने कता हो, के हो भेट्न पाइएला नपाइएला भनेर कहिल्यै गइनँ, आफै आउनुभयो, बुढो किसानको मन खुशी भयो ।
आचार्यको छोराबुहारी लाखापाखा लागिसकेका छन् । घरमा उहाँ र श्रीमती मात्र हुनुहुन्छ, तैपनि १२ माउ गाई पाल्नु भएको छ । बुढेशकालमा उनीहरु दुवै जना खुब खटेर गाईको स्याहारसुसार गरिरहनु भएको छ । अहिले पनि उहाँका छ माउ गाई त दुहुना नै छन् । यो उमेरमा त्यत्ति धेरै गाई पालेको सुनेर भेट्न गएको मेयर चौधरीले बताउनुभयो । ज्येष्ठ कृषक आचार्यले अहिलेसम्म आफूलाई कतैबाट केही सहयोग प्राप्न नभएको मेयर चौधरीसँग गुनासो पोख्नुभयो । मेयर चौधरीले आफू पनि किसानकै छोरो भएकाले किसानको समस्या दुःख राम्ररी बुझेको बताउनुभयो । बिहान उठेर आफू पनि कुटी काट्ने र गाईको गोबर सोहोर्ने गरेको सुनाउनुभयो, समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।
वि.सं.२०७६ वैशाख १० मंगलवार ०८:४१ मा प्रकाशित