
११ बैशाख, काठमाडौ. । सुनसरी, कास्की र डडेल्धुरामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
सुनसरी, ईनरुवा नगरपालिका–६ घोपाली टोलस्थित सडकमा ना.५ ख १२३६ नम्बरको ट्रकले को.५ प ५०३३ नम्बरको मोटरसाइकललाई मंगलबार दिउसो ठक्कर गम्भीर घाइते भएका मोटरसाइकल चालक उमेश चौधरीको मृत्यु भएको छ ।
रामधुनी नगरपालिका–१ झुम्का बस्ने २६ वर्षीय चौधरीको जिल्ला अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उदयपुर गाईघाट नगरपालिका १३ बस्ने २० वर्षीय संगम राईलाई थप उपचारको लागि बिराटनगरतर्फ लगिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, पोखरा महानगरपालिका–२६ बुढिबजारस्थित सडकमा ग.६ प ३०२९ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको बसले मंगलबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका–२७ खराने फाँट बस्ने ४२ वर्षीय टिकाराम तिमिल्सीनाको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने बस र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
डडेल्धुरा, गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कस्थित सडकमा धनगढीबाट बझाङतर्फ जाँदै गरेको ना.६ ख १८३१ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवार २ महिला र ३ पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका चालक समेत ३५ जनालाई उपचारको लागि उपक्षेत्रीय अस्पताल डडेलधुरा लगिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको पनि जनाइएको छ ।
वि.सं.२०७६ वैशाख ११ बुधवार १६:१७ मा प्रकाशित






























