१२ वैशाख, भीमदत्तनगर : आफूभित्र रहेको अद्भुत क्षमता १०१ राष्ट्रमा चिनाउने लक्ष्य साँधेर विश्वकीर्तिमानी लेखन यात्रामा निस्कनु भएका बैतडीका मनोज चन्द यतिबेला अर्थ अभावले थला परेका छन् । बैतडीको सिगास गाउँपालिकाका ३० वर्षीय मनोज शरीरका सात वटा अङ्गको सहारामा कलम चलाउछन् ।
“हात, खुट्टा, कुहिना र मुखले एकसाथ ६ वटा कलम चलाउँछु तीन÷तीन कलम त्यो पनि दुई हात”, २५ मुलुकको यात्रा सकेर हालै धनगढी सुदूरपश्चिम पुग्नुभएका चन्दले भने, “सुदूरपश्चिमका पर्यटकीय स्थल चिनाउने मेरो अर्को उद्देश्य पनि हो ।”
वैदेशिक यात्रामा गैरआवासीय नेपाली र दूतावासहरुले कार्यक्रम गर्न र बसोबासको प्रबन्ध मिलाउँदै आएको भए पनि आफूलाई आगमनका लागि निकै आर्थिक समस्या रहेको चन्दको दुखेसो छ ।
दुई महिनाअघि कतारमा लेखन यात्रा कार्यक्रम पस्केर घर फर्किएका चन्द विगत एक महिनादेखि सुदूरपश्चिम प्रदेश सरकारसित गुहार मागिरहेका छन् ।
“मैले प्रतिभा देखाउन र ‘गिनिजबुक अफ दी वल्र्ड रेकर्ड’ मा नाम लेखाउने चाहना पूरा गर्न सुदूरपश्चिम प्रदेश सरकारसित गुहार मागेको छु”, मङ्गलबार भीमदत्तनगर आइपुग्नु भएका चन्दले भने, “प्रदेश सरकारबाट आश्वासन पाए पनि सहयोग हात लागेको छैन ।”
उनलेआफूले प्रदेश सरकारमा प्रस्तुत गरेको प्रस्ताव सामाजिक विकास मन्त्रालय हुदै मुख्यमन्त्री कार्यालय पुगेको बताए ।
“प्रदेशको मन्त्रिपरिषद्ले सहयोग गर्ने निर्णय गरिदिए हुन्थ्यो”, उनले भने, “रकम अभावले यात्रामै बिराम लाग्ने अवस्था आएको छ ।”
विसं २०६८ देखि नेपाल यात्रामा निस्कनु भएका चन्दले आफ्नो प्रस्तुति मुलुकका ७२ जिल्लासम्म पुगेर राखिसकेका छन् ।
“बाल्यकालमा साथीहरुले लेफ्टे (बाँया हाते) भनेर जिस्काउँथे”, विगत सम्झिँदै उनले भने, “अहिले त शरीरका धेरै भागले मज्जाले कलम चलाउन सक्ने भएँ ।” बुबा मानबहादुर चन्द र आमा जानकी चन्दको कोखबाट २०४४ सालमा जन्मिएका मनोज सानैदेखि प्रायः काम बायाँ हातले गर्छन् । “विद्यालय भर्ना भएदेखि देब्रे हातले नै लेख्न थालेँ”, चन्दले भने, “मलाई नौ कक्षा पुग्दासम्म साथीहरुले जिस्काउँथे ।”
दाहिने हातले लेख्न थालेको तीन महिनामै चन्द सफल भए । “शुरुआतमा त निकै गाह्रो भयो, कोसिस गर्दै जाँदा सफल भएँ ।” उनले भने ।
दुवै हातले समानरूपमा लेख्न थालेपछि आफूले शरीरका अरु अङ्गले पनि लेख्न सकिन्छ की भनेर प्रयास गरेको चन्दको भनाइ छ । “सुरुमा रहरले हातको कुमको सहारामा कलम समातेर लेख्न कोसिस गरेपछि त्यसमा पनि सफल भएँ”, उनले भने, “छ महीनापछि त दुवै खुट्टाले पनि लेख्नसक्ने भएँ ।”
उहाँले गिनिजबुकमा नाम लेखाउन प्रक्रिया अघि बढिसकेको जानकारी दिए । “गिनिजबुकका लागि अन्तिम प्रस्तुतिका लागि बेलायत जाने योजनामा छु”, उनले भने, “आफूभित्रको प्रतिभा देखाउन पनि आर्थिक कारणले ‘ब्रेक’ लाग्ने स्थिति बन्दैछ ।”
फरक क्षमता भएका चन्द अध्ययनमा पनि अब्बल छन् । उनले समाजशास्त्र र राजनीतिशास्त्र गरी दुई विषयबाट स्नातकोत्तरसमेत गरिसकेका छन् ।
“फरक क्षमता भएका व्यक्तिहरु शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने चाहना हो”, चन्दले भने, “यात्रामा हिँड्दै जाँदा चाहनाहरु पूरा गर्न धेरै कठिनाइ आउँदा रहेछन् ।”
चन्द अहिले दायाँबायाँ दुवै हातले सँगै उल्टासुल्टा अक्षर पनि सहजै लेख्छन् । मेरो लेखन कला देखेर धेरै देशका नागरिक छक्क परे”, उनले भने, “धेरैले मेरो क्षमतालाई सकरात्मकरूपमा लिएको पाएको छु ।”
वि.सं.२०७६ वैशाख १२ बिहीवार १०:२४ मा प्रकाशित






























