
ईश्वर अनन्त छ । अविनासी छ । अमुर्त छ तर मुर्त पनि छ । अखण्ड छ तर खण्ड–खण्ड रुपमा पनि छ । निर्गुण छ तर सगुण र अझ गुण प्रकाशक पनि छ । अद्वैत हुँदा हुँदै द्वैत पनि छ । ऊ अज्ञेय छ । अतक्र्य छ । अचिन्त्य छ । समदर्शी र सर्वात्मा छ । सबैमा छ, सबैका निम्ति छ । ऊ सबैको हो, सबैका निम्ति हो । सनातन छ, सत्य छ, चेतन छ र आनन्दमय छ ।
उसमा क्लेश छैन, विरक्ति, वेचैनी, छटपटी, हुटहुटी केही छैन । न माया छ न मत्सरता, न लोभ न लाभेच्छा, न कूटता, न पुटता, न पटुता, न कटुता, न विभेदता, न निरीहता, न कामेच्छा, न क्रोध, न मोह, न ईष्र्या नैस किनकि ऊ त नित्य सत्य, निष्कलंक, सर्वमय, सर्वोन्मुख, सच्चिदानन्द स्वरुप छ । ईश्वरलाई बोलेर, छलफल गरेर, तर्क गरेर जान्न सकिन्न । ऊ वाणी र मनको विषय होइन । ऊ हृदयको विषय हो । हार्दिकताले मात्रै उसलाई पछ्याउन सकिन्छ । हृदयमा मात्रै उसको बास हुन्छ । मष्तिष्कले उसलाई जान्न सकिँदैन किनकि ऊ त आत्मसातको विषय हो अर्थात आत्माको अंशी हो,आत्मा उसको अंश हो ।
देहको विषय संसार हो । श्रीमतिको चन्द्रमुहार र मीठो मादकता युक्त बोली वा श्रीमान्को प्रेमभरि दृष्टि, छोराछोरीको तोते बोली, लचक्क लच्किने कोमलो ओछ्यान, मधूर रसभरि खाना, सुविधायुक्त घर, वातानुकूलित गाडी, प्रियसी वा प्रियतम संगको सुमीष्ठ अधरामृतपान, प्राप्तिको आसा र संग्रहको लालसा– यी सबै देह अर्थात् शरीरका विषय हुन्सदेही अर्थात् शरीरी संग यसको कुनै सम्बन्ध छैन ।
जसरी सुन्तलाको असली स्वाद सुन्तला खानेलाई मात्र थाहा हुन्छ त्यसरी नै वास्तविक ईश्वरीयता ईश्वरत्वको आत्मसात गर्नेलाई मात्र थाहा हुन्छ । यो परम गहन विषय हो । न जात, न पात, न धन, न वर्ग, न त क्षेत्र नैस केवल एउटा निश्चित साधनाश्रितता सहितको अटुट ईश्वरोन्मुखता नै ईश्वरीय आत्मसातताको मुख्य विषय हो । साधनाको ज्ञान दुई प्रकारले हुन्छ–सत्गुरूको कृपाबाट र स्वयंभू ऋतम्भरा प्रज्ञाबाट । यसरी ब्रह्म (ईश्वर) को बारेमा जानेपछि ब्रह्ममय भइन्छ, ब्राह्मण बनिन्छ ।
जात र जन्मका आधारमा दक्षिणा बटुल्दै हिंड्ने, अरूलाई सधै निच ठान्ने र आफूलाई स्वर्गबाट टुप्लुक्क खसेको मान्ने, हाम्रो हाड नै चोखो भनेर समाजमा विभेद र रुढीबुढी जकाइरहनेहरू त यो समाजका कलंक हुन् र सत्य सनातन धर्मका क्यान्सर हुन् । ब्राह्मण त समदर्शी हुन्छ । सर्वप्रिय हुन्छ । सर्वभूतसुहृत् ( सबैको भलो चाहने) हुन्छ । वैदिक र पारमार्थी हुन्छ । कसैलाई विभेद गर्दैन, हेला गर्दैन । अरूको सम्पतिलाई घुरपात संझिन्छ ससबै प्राणीलाई आत्म स्वरुप (आफू समान) संझिन्छ र आफ्नी पत्नी बाहेक अरू सबैमा मातृ भाव राख्छ । सबैको शरीर वीर्य र रजबाट बनेको हो । सबै गर्भमा रगते–गुहे पानीमा डुबेकै हो । सबै दुर्गन्धयुक्त मुत्रमार्ग (योनिमार्ग) बाट बाहिर आएकै हो । सबैको शरीर बोसो, मासु, लादी, लिदी, गिदी, मल र मुत्रबाट नै बनेको हो । यसकारण दैहिक रुपमा सबै समान छन । रह्यो आत्मिक कुरा, त्यो त ईश्वरीय आत्मसातको विषय हो, जसमा सबैको बराबर हक छ भन्ने उच्च भावले ओतप्रोत भई सत्य सनातन परमतत्वको उपासनामा मग्न रहनु र मग्न गराउने काम ब्राह्मणको हो । ब्राह्मण नभई ब्रह्म प्राप्ति हुँदैन वा गर्न सकिँदैन ।
पृथ्वीको हरेक व्यक्ति ब्राह्मण हुन सक्दछ । आफ्नो कर्म, ज्ञान, साधना र त्यागले । यसमा कुनै विभेद छैन । ब्राह्मणत्व र ब्रह्मत्व एकै हो । ब्राह्मणत्व प्राप्त भए पछि ब्रह्मत्व स्वत : प्राप्त हुन्छ । यही हो परमात्मा प्राप्त्यावस्था, परमानन्दावस्था, कैवल्यावस्था, जीवनमुक्तावस्था अर्थात् मुक्त्यावस्था (मुक्तिको अवस्था) । यही हो पूर्वीय दर्शनको मूल सार, खास ध्येय र विशेष टुङ्गो पनि । जुन यही अवस्थालाई प्राप्त गर्न वैदिक शास्त्रमा हजारौं विधि, साधना अर्थात् मार्गहरू प्रणयन भएका छन् । सत् ,चित् र आनन्द अर्थात् सत्य, शिव र कल्याण ( त्चगतज,नययमलभकक ७ दभबगतथ ) नै हो ब्रह्म र त्यही ब्रह्ममा एकाकार हुनु, लीन हुनु वा ब्रह्ममय हुनु नै हो सनातन संस्कृति र वैदिक शास्त्रहरूको मुख्य सार पनि !!!
अब हामीहरूले पनि यसै परम सत्यतालाई हृदयङ्गम गरेर यही महनीयताको प्राप्ति नै परम ध्येय बनाई यो चेतन चोला सफल गराउने तर्फ लाग्ने कि ?
वि.सं.२०७६ वैशाख १२ बिहीवार ११:४० मा प्रकाशित






























