बनारसको पुलिस थानामा पहिलो रात बिताएर ब्युझँदा २७ जेठ २०३३ को बिहान मेरो झुलवरपर लामखुट्टेको झुन्ड नै भुनभुनाइरहेको थियो । म त्यसैलाई हेरेर टोलाइरहेको थिएँ । ८ बजेतिर थानाको एउटा बूढो हवल्दार जोड–जोडले अखबार पढ्दै मेरो सेलअगाडि आएर भन्न थाल्यो, ‘अरे नेपाली भाइ ! आपने तो कमाल कर दिखाया हैं । धर्ती मे गुुुुड रहे रेल और बस मे डाका डालने के लिए जमिन से घुसते हैं, आकाश मे आप कैसे जहाज मे घुस गए । क्या आप हनुमान हैं ? यह तो रत्नाकर डाकु से भी बढिया कहानी बनेगा (ओ नेपाली भाइ ! तपाईंले चमत्कार गरिदिनुभयो । मान्छेले गुडिरहेको बस र रेलमा घुसेर अपहरण गरेको त सुनेको हो तपाईं त उड्दा उड्दैको जहाजमै घुस्नुभएछ । तपाईं त हनुमान हो कि क्या हो ? तपाईंको कथा त रत्नाकर डाँकुको भन्दा पनि भयङ्कर हुने रैछ) ।’ उसले चिया मगाएर मलाई पनि दियो ।
त्यस हवल्दारले आधा घन्टासम्म मेरो सेलनजिकै बसेर अनेक तुक्का भन्दै हाँस्ने–हँसाउने काम गर्याे । मलाई हेर्ने र चुट्किला सुन्ने पुलिसको जमघट भयो । उसको कुरा सुनेर केही क्षण मैले पनि चिन्तामुक्त भएर हाँस्दै बिताएँ । उसले जाने बेलामा पहरेदारलाई भन्यो, ‘भाइ होसियार रहो ! काशी नगरी से नेपाली हनुमान उड सकता हैं (होस गरे है, नेपाली हनुमान काशी नगरीबाट उड्न सक्छ) ।’
ऊ गइसकेपछि पालेले भन्यो, ‘हवल्दारजी बजरङ्गवलीका भक्त र खुला हृदयको मानिस हुन् । सधैं सबैलाई यसरी नै हँसाइरहन्छन् । अब दुई महिनापछि उनी सेवानिवृत्त हुँदा हामीलाई महसुस हुनेछ ।’
बिहान १० बजेतिर मेरो फोटो देखाउने मानिस थानेदारको अफिस कोठामा पस्यो । एकै छिनपछि हवल्दारले मलाई अफिसको भित्री कोठामा बसालेर गयो । आधा घन्टापछि तीनजना कुर्ताधारी मलाई राखेको कोठाभित्र पसे र मतिर फर्किएर लहरै बसे । उनीहरुमध्ये एकले मतिर फर्केर आफूहरु भारत सरकारको केन्द्रीय अनुसन्धान ब्युरोका पदाधिकारी भएको भन्दै हात मिलायो । एकै छिनको मौनतापछि उसले भन्यो, ‘तपाईं नेपाली लोकतान्त्रिक आन्दोलनको कर्मठ योद्घा हो । भारतमा तीन वर्षसम्म भूमिगत रहनुभयो । अहिले हवाई अपहरणजस्तो जघन्य अपराधको आरोपमा गिरफ्तार हुनुभएको छ । नेपाली काङ्ग्रेसका नेता बीपी कोइरालाको निर्देशनमा यो अपहरण भएको हो भनेर तपाईंले आफ्नो बहादुरीलाई स्वीकार गर्ने हो भने पुलिसको यातनाबाट पनि बच्नुहुन्छ । र, यो घटना फौजदारी नभएर राजनीतिक अपराधका रुपमा दर्ज हुनेछ ।’
मेरो फोटो मैतर्फ देखाउँदै उसले भन्न थाल्यो, ‘हवाई अपहरण अन्तर्राष्ट्रियस्तरमै गम्भीर फौजदारी अपराध हो । प्रजातान्त्रिक व्यवस्थाको पक्षमा राजनीति गर्ने संस्था वा व्यक्तिले यस्तो आतङ्कको सहारा लिँदैन । बीपी कोइरालाजीको नेपाली काङ्ग्रेसले यस्तो काम गरे÷गराएको हो कि होइन भनेर अध्ययन÷अनुसन्धान गर्ने क्रममा हामी तपाईंलाई भेट्न आएका छौं । अपहणको मुख्य अभियुक्त दुर्गा सुवेदी नै हो भन्ने फोटोसहितको विवरण नेपाल सरकारले पठाएको छ । अब भारत सरकारको पुलिसले त्यही आधारमा मुद्दा स्थापित गर्न बयान लिनेछ । के बयान दिनुहुन्छ ?’
ऊ चुप लागेपछि मैले जवाफ दिएँ, अर्को मान्छे जुरुक्क उठ्यो र चर्को स्वरमा भन्न थाल्यो, ‘अब यस्तो सफेद झुट बोलेर पार लाग्दैन । सत्य बोलेर आफूले गरेको दुस्साहसिक अपराध स्वीकार गर्दै त्यसमा संलग्न मानिसको यथार्थ विवरण तपाईं आफैंले दिएर मुद्दा स्थापित गर्न हामीलाई मद्दत गर्नुस् । हामी सजाय कम गराउन सहयोग गछौं । हवाई अवतरण भारतीय भूमिमा भएको र पैसो भारतमै लुटिएको हुनाले मुद्दा हाम्रै देशको कानुनअनुसार चल्नेछ । यहाँ डकैतीमा सजायको हद आजन्म कारावाससम्म छ । तर, राजनीतिक पार्टीले गराएको स्वीकार गर्ने हो भने त्यस्तो मुद्दा राजनीतिक घटनाक्रममा फिर्ता हुने अवस्थामा पनि पुग्न सक्छ । तपाईं गम्भीर भएर सोच–विचार गर्नुहोस् । एक–दुई दिन समय छ । तर, यस्तै झूट बोल्दै जाने हो भने पुलिसले यातनाको माध्यमबाट सत्य बोलउन बाध्य हुनेछ ।’
मलाई यस्तो धम्की दिएर उनीहरु निस्किनै लागेका थिए, हातमा चियाको थाली समाएर थानेदार कोठाभित्र पस्यो र चिया टेबलमा राख्यो । सबैले चिया उठाए । आफूलाई अनुसन्धान अधिकृत भनेर चिनाएको व्यक्तिले मलाई पनि चिया दियो । र, हाँस्दै भन्यो, दुर्गा सुवेदीजी ! तपाईं राजनीतिक मान्छे । नेपालको विद्यार्थी आन्दोलनमा धेरैपटक जेल पनि परिसक्नुभएको रहेछ । अनुसन्धानका क्रममा हामीले थाहा पायौं । तपाईं आफ्नो व्यक्तिगत र राजनीतिक भविष्यबारे पनि सोच्नुस् । जीवनभर भारतको जेलमा सड्ने हो कि निस्किने हो ? राम्ररी सोच्नुस् र सही बयान दिएर पुलिसलाई मुद्दा तयार गर्न मद्दत गर्नुस् ।’
हामी फेरि आउँछौ भन्दै उनीहरु गए ।
त्यसपछि थानेदारले पनि त्यही कुरा दोहोर्यायो ।
‘एक–दुई दिनपछि लिखित बयान लिइनेछ, भोलि इन्टरपोलका मानिस तपाईंलाई भेट्न आउँदै छन्, आज समय मिलेन,’ थानेदारले भने । र, मलाई फेरि सेलमा लगेर थुन्न बूढो हवल्दारलाई आदेश दिए ।
उसले थानेदारलाई सलाम गर्दै भन्यो, ‘बजरङ्गवलीकी जय । यह तो गगनविहारी डकैत हैं साहेब, यहाँ से उड भी सकता है, इनको जल्द जेल भेज दिजिए (यो त आकाशमा उड्ने डकैत हो हजुर, यहाँबाट पनि उड्न सक्छ । यसलाइ छिटो जेल पठाइदिनुस) ।’
थानेदारले पनि हाँस्दै भन्यो, ‘जब तक धर्ती मे हैं, देखभाल करते रहिए (जबसम्म धर्तीमा छ, हेरविचार गरिरहनुुुुस्) ।’
विमान अपहरणकारी भएकाले म पत्रकारहरुका निम्ति समाचारको रोचक पात्र बनिसकेको थिएँ । त्यसैले अफिसअगाडि पत्रकारहरुको भीड रहेछ । त्यो देखेर हवल्दारले मलाई तुरुन्तै अफिसतिरै फर्कायो । थानेदार जङ्गिँदै निस्केर अनुमतिबिना थानाभित्र पसेका पत्रकारलाई बाहिर पठायो । हवल्दारले बजरङ्गवलीको नाम लिँदै मलाई सेलमा बन्द गरेर गर्यो ।
दिउँसो २ बजे खाना ल्याउने होटलको भाइले अखबारले छोपेर खाना ल्यायो । मैले पत्रिका पल्टाएर मिति हेरेँ, ११ जुन अर्थात् आजैको रहेछ । सेलमा अखबार पढ्न मनाही भएकाले पहिले पत्रिका लुकाएँ अनि बल्ल खाना खाएँ । खाइसकेपछि सुत्ने ओछ्यानमा पल्टिएर पत्रिका हेरेँ, मुख्य समाचार मेरैबारे रहेछ, ‘३० लाख हवाई डकैतीका सरदार गिरफ्तार ।’
भित्र समाचारमा भने यथार्थ विवरण थिएन । तीन वर्षपहिले नेपालबाट हवाई अपहरण हुँदा ३० लाख भारतीय रुपैयाँ जहाजबाट डकैती भएको र त्यसको मख्य अभियुक्त नेपालीलाई वाराणसी पुलिसले सुराकीका आधारमा समातेको खबर मात्र लेखेको थियो, त्यसको राजनीतिक पाटो उल्लेख थिएन । त्यसबेला भारतमा आपत्माल लागेकाले समाचारहरु सरकारी निगरानीमा छापिने गरेका थिए ।
मलाई, अब प्रदीप गिरीलाई पनि समाउने भए भन्ने डर लागिरहेको थियो । म पक्राउ पर्दा शिव कङ्गाल पनि त्यही डेरामा थिए । धन्न प्रदीपजीले थाहा पाउनुभएछ र तुरुन्तै गएर बीपीलाई सुनाउनुभएछ । बीपी बनारसबाट दिल्ली जानुभएछ । प्रदीप गिरी पनि दिल्ली जानुभएछ । पछि जेलमा मैले के बयान दियो भनेर सोध्न मानिसहरु आए । मैले बीपीको नाम नलिएको बताएपछि बल्ल उहाँलाई शान्ति भएको थियो ।
भारतीय गुप्तचरहरुले मलाई दुई घन्टा बयान लिंदा बीपी कोइरालाको मात्र नाम लिइरहे, अपहरणका हर्ताकर्ता गिरिजाप्रसादको एकपटक पनि नाम लिएनन्् । राति सुत्ने बेला सोचविचार गर्दा गर्दै दिल्लीमा चन्द्रशेखरजीले भारत प्रवासमा बसेका बीपीले अब नेपालमा हिंसाको राजनीति गर्न नपाउने अवस्थाको सिर्जना हुँदै छ भनेको कुरातर्फ मेरो ध्यान गयो । मेरो गिरफ्तारीको माध्यमबाट बीपी कोइरालालाई हवाई अपहरणजस्तो गम्भीर आतङ्ककारी कार्यमा संलग्न भएको मुद्दा स्थापित गर्ने मनसायका साथ गुप्तचरहरुले मसँग सोधपुछ गरेको सहजै अनुमान गर्न सकिन्थ्यो ।
पुलिस थानाको तस्रो दिन बिहान पनि बूढो हवल्दार ८ बजेतिर अखबार हातमा लिँदै मेरो सेलको नजिक आएर ‘जय बजरङ्गवली !’ भन्दै चिया मगायो र त्यस दिनको अखबारमा पनि मेरोबारेमा अनुसन्धान भइरहेको र अपहरणकारीको नाम दुर्गा सुवेदी भएको सुनायो । त्यसपछि उसले फेरि मजाक गर्दै भन्यो, ‘काशीका द्विवेदी ब्राहमणहरु नेपाल गएर आफूलाई सुवेदी भन्न थालेछन् । नेपालको सीमानजिक विहारमा गएर उनीहरु त्रिवेदी भएका छन् । ब्राहमणहरु साँच्चै अवतारी हुन्छन् । तपाईंले हिजोको कुराकानीमा आफूलाई राजेन्द्र द्विवेदी भनेको भए जात त जाने थिएन ।’
दिउँसो ३ बजे फेरि त्यो बजरङ्गवली हवल्दार आयो । मलाई अफिसको भित्री कोठामा पुर्यायो । कोठामा बसेका दुई जना खादीधारीसँग थानेदारले मेरो परिचय क्रान्तिकारी नेपालीका रुपमा गरायो, ‘हामीले उहाँलाई हवाई अपहरण र डकैतीको मुद्दा चलाउने बयान प्रारम्भ गरेका छैनौं । अन्तर्राष्ट्रियस्तरको अपराध भएको हुनाले केन्द्रीय अनुसन्धान विभागको पनि राय–सल्लाहपछि मात्र मुद्दा स्थापित गर्ने प्रक्रिया चलिरहेको छ ।’
यति भनेर थानेदार आफ्नै कोठातिर लाग्यो । आफूलाई भारत सरकारको अन्तर्राष्ट्रिय पुलिस विभाग (इन्टरपोल) को पदाधिकारी बताउने खादीधारीले झोलाबाट रातो रिबनले बाँधेको फाइल निकाल्यो । त्यसमा नेपाल पुलिसले १९७३ जुन महिनामा तयार पारेको शाही नेपाल वायुसेवा निगमअन्तर्गतको जहाज अपहरण गरी ३० लाख भारु लुट्ने तीनजनाको व्यक्तिगत विवरण उल्लेख थियो । उसले सबै विवरण पढेर सुनाएपछि तत्कालै अर्को व्यक्तिले तत्सम्बन्धमा मसँग प्रश्न गर्न थाल्यो ।
मैले त्यस फाइलमा उल्लेख भएका विषय मसँग सम्बन्धित नभएको बताएपछि फाइल बन्द गर्दै भन्यो, ‘हामीलाई प्रप्त जानकारीकै आधारमा भारतमा तपाईंलाई गिरफ्तार गरिएको छ । यो राजनीतिक उद्देश्यले भएको अपराध हो भन्ने कुरा नेपाल सरकारलाई थाहा हुँदाहुँदै पनि उसले घटनालाई राजनीतिक रङ दिन चाहेको छैन । तपाईंलाई भारत सरकारले अपहरणको मुख्य अभियुक्तका रुपमा नै गिरफ्तार गरेपछि अन्तर्राष्ट्रिय आतङ्ककारी कानुनअनुसार नेपाल फर्काइदिनुपर्ने कूटनीतिक कुरा चलिरहेको छ । तपाईंलाई थाहै होला, केही समयपहिले नेपालका प्रधानमन्त्री तुलसी गिरी भारत भ्रमणमा आएका थिए ।नेपाल फर्काएर मुद्दा चलाउँदा तपाईंले बीपी कोइरालाको निर्देशनमा कार्य सम्पन्न गरेको हो भन्ने कुरालाई नेपाल पुलिसले जसरी भए पनि साबित गराउनेछ । त्यसपछि तपाईंका नेता बीपी कोइरालाजीलाई पनि आतङ्ककारी कानुनअन्तर्गत नेपाल फर्काउने परिस्थिति निर्माण हुनेछ । त्यसैले तपाईं भारतमै गिरफ्तार भएका बेला कसको प्रयासबाट कसरी अपहरण गरी धन लुटिएको हो भन्ने साबिती बयान दिँदा तपाईंलाई भारतले नेपाल फर्काउने कुरा कानुनी रुपले विवादित भई अदालत पुग्न सक्छ । त्यसतर्फ सोच–विचार गरेर भारतमै मुद्दा स्थापित गर्नेतर्फ तपाईंको ध्यान जाओस् भनेर सम्झाउन हामी आएका हौं ।’
भारतीय पुलिस अधिकारीहरु बीपीसँग मेरो सम्बन्ध स्थापित गर्न लागिपरेको थिए । त्यसनिम्ति मलाई निकै धम्की पनि दिए । तर, मैले केही प्रतिक्रिया जनाइनँ । त्यसपछि अर्को व्यक्तिले उठेर भन्यो, ‘ठीक छ । तपाईं यसरी आफ्नो अपराध लुकाउने प्रयासमा लागिरहनुभयो भने भारतीय पुलिसले आफ्नै तरिकाले तपाईंको बयान लिनेछ । तर, तपाईंले त्यस्तो यातना भोग्नेतर्फ किन लाग्ने ? राजनीतिक उद्देश्यबाट अभिप्रेरित भएर यत्रो वीरता र बलिदानको काम गर्ने मानिसले कायरजस्तो भएर कुरा लकाउँदा आत्मग्लानि हुँदैन ? भगत सिंहजस्तो भएर आफ्नो वीरतालाई स्वीकार गरेर पनि त भारतबाटै नेपाल सरकारलाई चुनौति दिन सक्नुहुन्छ ।’
मलाई पगाल्ने, सुर्याउने, फकाउने र थर्काउने अनेक कुरा गरेर उनीहरु थानेदारको कोठातिर लागे । १० मिनेटपछि बजरङ्गवलीले मलाई थुनुवाहरुलाई केरकार गर्ने कोठामा पुर्यायो । पुलिसकै बर्दीमा क्यामेरा बोकेका मानिस भित्र आयो । हवल्दारले ‘जय बजरङ्गवली’ भन्दै मेरो छातीमा हवाई अपहरणकारी दुर्गा सुवेदीको बिल्ला लगाइदियो । त्यहाँ तीन–चार पोजको फोटो लिने कामपछि मलाई सेलमा लगेर बन्द गरियो ।
इन्टरपोलका मानिसहरुले मलाई सुनाएको कुराले मेरो मनमा अनेकौं तरङ्ग ल्यायो । राति १२ बजेसम्म के गर्ने, के नगर्ने द्विविधाले छटपटाइरहेँ । मैले साबिती बयान दिएर बीपीको नाम लिए पनि उहाँले स्वीकार गर्ने सम्भावना छैन । परिणामस्वरुप मैले मात्रै सजाय भोग्नुपर्ने हन्छ । यसरी नेपाल फर्काउने डरले भारतमै जेल बस्ने निर्णय गर्दा मेरो जीवन निरर्थक साबित हुनेछ । अपराधीका रुपमा भारतमा आजन्म कारावास भोगेर आत्मग्लानिका साथ मर्नुभन्दा बरु नेपालै फर्काउँदाको परिणामले सार्थकता पाउनेछ । त्यसरी साबिती बयान नदिने मन बनाएर म शान्तिसँग सुतेँ ।
नेपाली कांग्रेसका नेता तथा लेखक दुर्गा सुवेदीको ‘विमान विद्रोहबाट’ लिइएको केही अंश
बाबुरामको भेला, शेखरको वितण्डा
वि.सं.२०७६ वैशाख १५ आइतवार ०९:४७ मा प्रकाशित