
१६ बैशाख, डोल्पा । उपचार गर्न आउने बिरामीले आफैले जेनेरेटर बोकेर आउनुपर्ने बाध्यता छ डोल्पालीको । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने प्रयाप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन् । बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ ।
बजारबाट प्रतिघण्टा पाँचसय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरिएको ५५ वर्षीया मंगली रोकायाले बताइन् । छोराको हात भाँचिदा आफैंले जेनेरेटर बोकेर अस्पताल लगेको पीडित जयकृष्ण हमालले सुनाए ।
उनले भने, ‘स्थानीय सरकार र अस्पताल व्यवस्थापन समितिले बेवास्ता गर्दा डोल्पाका नागरिकले दुःख पाएका छन्, एक्सरे गर्न आफै भाडामा जेनेरेटर लिएर छोराको भाँचिएको हातमा प्लाष्टर गर्नुपर्यो ।’
अधिकांश बिरामीले भाडामा जेनेरेटर लिएर एक्सरे गराउँदै आएको लामो समय हुँदा पनि अस्पताल व्यवस्थापन समिति यसतर्फ ध्यान नदिएको काइकेका भीम बुढाले बताए ।
अस्पतालमा सोलार पावर कम हुँदा विरामी आफैले जेनेरेटर ल्याउनु परेको एक्सरे कर्मचारी लालकृष्ण बुढाले बताए ।
सामान्य एक्सरे गर्न एक बिरामीले एक्सरे चार्ज बाहेक दुई हजारदेखि चार हजार सम्म खर्च गर्नुपर्ने ठूलीभेरी ५ का आनन्द रोकायाले बताए । चिकित्सक भएपनि प्राविधिक उपकरण नहुँदा सेवा प्रवाहमा प्रभावकारीता नदेखिएकोअस्पतालका चिकित्सक भीम बुढा बताउँछन् ।
सोमबारको अन्नपूर्णपोष्टमा डोल्पाबाट टेक बहादुर शाहीले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख १६ सोमवार ०८:४४ मा प्रकाशित






























