
यतिबेला गर्मीको मौसम सुरु भएको छ । चिसोमा जसरी स्वास्थ्यको ख्याल राखिन्छ गर्मी मौसममा पनि यस्ता कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ । परिवर्तन भइरहने मौसममा तपाइले आफ्नो शरीर पनि फिट राख्न जरुरी हुन्छ । अन्यथा गर्मीका कारण विभिन्न समस्याले नसताउला भन्न सकिन्न ।
गर्मीको बेलामा विशेष गरेर खानपानमा ध्यान दिन जरुरी हुन्छ । खानपानमा गडबडीकै तथा शुद्ध पिउने पानी नभएको कारण विभिन्न समस्या निम्तन सक्छ । त्यसकारण पनि गर्मीको बेला खानपान मात्र नभएर पहिरनमा समेत परिवर्तन ल्याउन आवस्यक हुन्छ । आउनुहोस् जानौं यी हुन्, गर्मीबाट बच्ने उपायहरु ।
खानपिनमा ध्यान
गर्मीमा खाने कुरामा अधिक ख्याल राख्नु पर्दछ । गर्मीको मौसममा दिनहुँको खानामा भात, दाल, रोटी, हरियो तरकारी, पापड, कागती लगायतका खाना खान सकिन्छ । तर, यी खानाहरु सिमित रुपमा खानुहोस् । जाडो मौसममा जस्तै गर्मी मौसममा बढी खाना नपच्ने हुनाले कम खाएकै राम्रो हुन्छ । साथै बासी खाना, तारेको खाना र मसला र खुर्सानी भएको खाना कमै खानुहोस् ।
यदि तपाइ आफ्नो स्वास्थ्यलाई महत्वपूर्ण मान्नुहुन्छ भने, गर्मीको मौसममा घर बाहिरको खानालाई बन्देज नै लगाएको राम्रो हुन्छ । आफ्नो घरमा आफ्नै आँखाले हेरेर शुद्ध तथा सफा तरिकाले बनाएको खाना नै तपाइको शरीरको लागि उत्तम हुन्छ ।
जरुरी काम बिहानको समयमा सक्नुहोस्
गर्मीको मौसममा घर बाहिरको काम गर्दा बिहानको १२ बजे भन्दा पहिले सक्नु राम्रो हुन्छ । दिउसोको चर्को घामबाट बच्नका लागि खेतबारीको काम १२ बजे भन्दा पहिले सक्दा राम्रो हुन्छ । अझ तपाइ दैनिक रुपमा आफूले गर्ने कामको सूची बनाएर गर्नु भयो भने समयमै काम सकिने र चर्को घामका कारण विभिन्न समस्या झेल्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
इजर्नी ड्रिक्ंस लिनुहोस्
गर्मीका बेला काम गर्दा शरीरबाट बढी पसिना आउने हुनाले शरीरमा पानीको कमी हुने हुनाले अत्यधिक मात्रामा पानी तथा इर्नर्जी ड्रिंक्सको आवस्यकता पर्दछ । गर्मीको मौसममा फलफूलको जुश, उखुँको जुश, मिल्कशेक, कागती पानी, महि, दही, पुदीना पानी,नरिवल पानी लगायतका पेय पर्दाथ पिउन सकिन्छ भने, खानामा सलाद, काक्रा, तरबुजा, खरबुजा लगायतका फलफूल पनि खान सकिन्छ । तर, गर्मी भयो भन्दैमा एकछिनको लागि गर्मी मेटाउन कोल्ड ड्रिंक्स लगायतका पेय पर्दाथ सेवन नगरेकै राम्रो हुन्छ । यसले पिउदा आनन्द महसुस भएपनि शरीरलाई त्यति फाइदा गर्दैन ।
चिया भन्दा बढी पानी पिउनुहोस्
गर्मीको मौसममा चिया भन्दा बढी पानी पिउनु उचित हुन्छ । काम गर्दाको समयमा तपाइ पानी पिउन विर्सनु भयो भने तपाइको शरीरमा विभिन्न सुख्खापन (डिहाइड्रेशन) लगायतका विभिन्न समस्या देखा पर्छन । पानीको बोतल सधै आफ्नो साथमा राख्नुहोस् । साथै चिया कफी बढी नपिउनुहास्े । यदि चियाको तल तल लागेका ग्रीन टि पिउन सक्नुहुन्छ । ग्रीन टिको सेवनले चियाको तल तल पनि मेटाउने शरीरलाई फाइदा पनि गर्दछ ।
गर्मीबाट आउनासाथ एसीको हावाबाट बच्नुहोस्
बढी गर्मीमा काम गरेर आएपछि कोठामा रहेको एसीको चिसोमा आनन्द मान्दा खाडी देशमा धेरै नेपाली दाजुभाइले सुतेको सुत्यै भएर ज्यान गुमाउनु परेको छ । यदि तपाइ बाहिर गर्मीमा काम गरेर फर्किनु भएको छ र शरीर तातो छ भने तुरुन्तै एसी रहेको कोठामा प्रवेश नगर्नुहोस् । बाहिर रुखको छहारी, घाम छेकिने ठाउँ या घरभित्रै पनि केही समय कोठा बाहिर बसेर शरीरलाई सामान्य अवस्थामा ल्याएर मात्र एसी रुममा प्रवेश गर्नुहोस् । साथै बिहान र बेलुकाको चिसो हवामा टहलिने बानी गर्नुहोस् ।
घर बाहिर निस्कदा ध्यान दिनुहोस्
गर्मीको मौसममा घर बाहिर निस्कदा विशेष ध्यान दिनुहोस् । बाहिर निस्कदा शिरमा टोपी, या अन्य कपडा शिरमाथि राखेर घाम सिधा आफ्नो मुहार तथा शिरमा आउनबाट बचाउनुहोस् । बाहिर निस्कदा भरपूर पानी पिउनुका साथै बोतलमा पनि पानी बोकेर निस्कनुहोस् । आँखामा सिधा घाम नपरोस् भन्नका लागि चश्मा लगाउनुहोस् । हल्का जुत्ता लगाउनुहोस् । जसका कारण खुट्टालाई आराम मिल्नुका साथै गर्मी पनि कम गराओस् ।
गर्मीमा आँखा र छालाको विशेष ध्यान दिनुहोस्
गर्मीमा आँखा र छालामाथि घामको नराम्रो असर पर्दछ । यस्तो बेला आँखा र छालाको विशेष ध्यान दिनुहोस् । क्षण–क्षणमा आँखालाई चिसो तथा सफा पानीले धुनुहोस् । गर्मीका बेला खानामा भिटामीन सी युक्त फलफूल सेवन गर्नुहोस् । सनस्क्रीनको प्रयोग गर्नुहोस् । गर्मीमा सम्भव हुन्छ भने दुईपटक नुहाउनुहोस् । यसले छाला सफा रहने र पसिनाको गन्ध पनि हटाउँछ । नुहाएपछि छाला नरम बनाउनका लागि पाउडर या क्रिमको प्रयोग अवस्य गर्नुहोस् ।
कटन वा फेब्रिक कपडा लगाउनुहोस्
गर्मीका बेला कटन या फेब्रिकको कपडा लगाउनुहोस् । जसले तपाइलाई गर्मीबाट बचाउछ । साथै यस्ता खालका कपडा शरीरका लागि आरामदायी पनि हुन्छ । गर्मीका बेला टाइट कपडा नलगाउनुहोस् । गर्मीका बेला सेतो रंगको कपडा अति उपयुक्त मानिन्छ । जसले तपाइलाई गर्मीमा कही हदसम्म शीतलता प्रदान गर्छ ।
वि.सं.२०७६ वैशाख १६ सोमवार १५:१० मा प्रकाशित






























