
आज १३० औं मई दिवस । अन्तर्राष्ट्रिय मजदुर दिवस अर्थात् श्रमिकहरुले दासको स्तरबाट नागरिकको हैसियत प्राप्त गर्न सफल भएको ऐतिहासिक दिन ।
सर्वप्रथम यस दिवसको ईतिहास निर्माणमा प्राप्त सफलताको लागि जीवनको आहुती दिने सम्पूर्ण महान् शहीदलगायत आन्दोलनमा विविध रुपले योगदान पुर्याउनेहरु सबैलाई हार्दिक श्रद्धाञ्जली र सलामी । साथै संसारका सम्पूर्ण सर्वहारा श्रमिक मजदुरहरुको मुक्ती, प्रगती र समृद्धिको लागि हार्दिक शुभकामना !!
मई दिवस र विश्वमजदुर आन्दोलनका सन्दर्भमा स्मरणीय केही आधारभूत कुराहरु :
१-मई दिवस मजदुर मुक्ति दिवस हो !
२- मई दिवस सर्वहारा–श्रमजीवी मजदुरहरुको अन्तर्राष्ट्रिय दिवस हो ।
३-मजदुर आन्दोलन भनेको सर्वहारा श्रमजीवीहरुको नै आन्दोलन हो ।
४-यो आन्दोलन मालेमावादद्वारा निर्देशित र परिचालित हो । र यसको अन्तिम लक्ष–गन्तव्य समाजवाद–साम्यवाद हो ।
५ -यो आन्दोलन बाह्यरुपमा पुँजीवादका विरुद्ध र आन्तरिकरुपमा ट्रेडयुनियनवाद र अर्थवादजस्ता विचलनवादका विरुद्धको संघर्षबाट बचेको र बनेको आन्दोलन हो । अहिले यसमा व्यक्तिवाद, उपभोक्तावाद र दलालीकरण समेत हावी हुने खतरा बढेको छ ।
६-श्रम, खासगरी शारीरिक श्रम गर्ने, श्रमिक व्यक्ती, वर्ग, व्यवहार र विचारलाई माया, श्रद्धा र विश्वास गरी संघर्ष गर्नेहरु मात्र सच्चा सर्वहारा श्रमजीवी मजदुर हुन् र तिनीहरू नै यो मई दिवस र मजदुर आन्दोलनका वास्तविक पक्षधर हुन् ।
७-सर्वहारा श्रमजीवी मजदुर वर्ग सबैभन्दा कान्छो र शक्तिशाली क्रान्तिकारी वर्ग हो ।
८- यो वर्गले अवलम्बन गर्ने मालेमावादी विचार र यो विचारको आधारमा गरिने व्यवहार र वर्गसंघर्षबाट नै मानवजातिले वास्तविक, पूर्ण र स्थायी मुक्ती, समानता र स्वतन्त्रता प्राप्त गर्दछ ।
९- मोनेरा वा अमिवादेखी बाँदर हुँदै मानवसम्मको विकास र संसारका सबै भौतिक विकास–निर्माणमा श्रमको भूमिका प्राथमिक, मुख्य र निर्णायक रहिआएको छ ।
१०- आज श्रम, श्रमिक, सर्वहारावर्ग, श्रमजीवी मजदुर र यी सबैको अर्थ, औचित्य, आवश्यकता, क्षमता, भूमिका र योगदानलाई पुँजी, प्रविधी र प्रतिभा(बुद्धि) ले निषेध गर्ने चिन्तन, प्रवृत्ती र प्रयास भैरहेको छ, जो अत्यन्तै गम्भीर, भयावह र दुखद कुरा हो ।
११- यसप्रकारका आक्रमण र विचलनका विरुद्ध तीखो निर्णायक संघर्ष संचालन गरी तिनमाथि विजय प्राप्त गर्नु जरुरी भएको छ ।
१२- यो विजय प्राप्त गर्न नसके–नगरे मजदुर आन्दोलन धराशायी हुनेछ र मई दिवस मनाउनु र मजदुर आन्दोलन संचालन गर्नुको खासै अर्थ, महत्व र उपादेयता रहने छैन ।
अस्तु !!
वि.सं.२०७६ वैशाख १८ बुधवार ०९:४३ मा प्रकाशित