१८ वैशाख, काठमाडौँ : आउँदो शुक्रबार ललितपुर महानगरपालिका वडा नं २ हरिसिद्धिमा निरङ्कारी सन्त समागम हुने भएको छ ।
सन्त निरङ्कारीमण्डल नेपालको आयोजनामा हुन थालेको समागममा भारतबाट सत्गुरुमाता सुदीक्षाले आध्यात्मिक प्रवचन दिने मण्डलका अध्यक्ष नरबहादुर रावलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
विश्व–बन्धुत्व, शान्ति, प्रेम र मानवएकताका लागि समागम हुन गइरहेको उनले बताए । करीब तीन घण्टा हुने समागममा प्रवचन, भजनसमेत हुनेछ ।
समागममा भारतसहित प्रदेश नं. १, २ र ३ का करीब १० हजार अनुयायीको सहभागिता हुने प्रचार समितिका संयोजक दुर्गा भण्डारीले जानकारी गराएका छन् । उनका अनुसार सत्गुरुमाता सुदीक्षाको मानवकल्याण यात्राअन्तर्गत आउँदो शुक्रबार ललितपुरमा, वैशाख २२ गते पोखरा, २५ गते नेपालगञ्ज र २६ गते टीकापुरमा समागम हुनेछ ।
मण्डलले सदाचारी जीवन बिताउने पद्धति सिकाउनुको साथै आध्यात्मिक जागृति, शान्ति, अहिंसा, मानवएकता जस्ता कुरा सिकाउँदै आएको छ ।
निरङ्कारीमण्डलको शुरुआत सन १९२९ बाट पाकिस्थानबाट भएको थियो । नेपालमा पहिलो पटक अछाम जिल्लामा २०२० सालबाट यसको शुरुआत भएको थियो ।
वि.सं.२०७६ वैशाख १८ बुधवार १६:०७ मा प्रकाशित