२० बैशाख, बाग्लुङ । अल्पायुमै मृत्युवरण गर्न पुगेका काठेखोला गाउँपालिका–७ रेशका नारायण कुँवरको परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ ।
प्रवासमा सञ्चालित सहयोग अभियानबाट सङ्कलित रु तीन लाख ५९ हजार बिहीबार कुँवरकी पत्नी डोलिन्द्र कुँवरलाई हस्तान्तरण गरिएको हो ।नेपाल रेडक्रम सोसाइटी बागलुङ शाखाका सभापति जब्बरबहादुर लामिछाने, वडाध्यक्ष प्रेम लामिछाने, नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषलगायतले संयुक्तरूपमा सहयोग हस्तान्तरण गरेका हुन् ।
रेश घर भई हाल हङकङमा रहेका सुवास लामिछाने र जापानमा रहनुहुने सुरज लामिछानेको पहलमा उक्त सहयोग रकम जुटेको थियो । कुँवरका बालबच्चाको पढाइ र पालनपोषणमा सहयोग पु¥याउन देश विदेशमा सहयोग अभियान चलाइएको थियो । कुँवरको निधनपछि श्रीमती र बालबच्चाको बिचल्ली हुने देखेपछि सहायता जुटाउनुपरेको अभियानका स्थानीय सहजकर्ता सुमन जिसीले बताउनुभयो ।
“सामाजिक सञ्जालबाट सहयोग अभियान थाल्यौँ”, उनले भने, “छोटो अवधिमै देशविदेशबाट राम्रो सहयोग जुट्यो ।”सात वर्षसम्म वैदेशिक रोजगारीमा रही फर्कनुभएका कुँवर पछिल्लो समय भैरहवाको एक पार्टी प्यालेसमा कार्यरत थिए । ३१ वर्षीय कुँवरको गत माघ १२ गते राति अचानक निधन भएको थियो । परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएपछि उनी पुनः विदेश जाने तयारीमा थिए । कुँवरका नौ वर्षीय छोरा आयुष र छ महीनाकी छोरी रक्षा छिन् । घरमा वृद्ध बुबाआमा छन् ।
घर व्यवहार धान्नेदेखि बालबच्चाको शिक्षाको जिम्मा श्रीमती डोलिन्द्रमाथि आएको छ । परिवार र छोराछोरीको भविष्यको चिन्ताले उनी ग्रसित छन् ।समस्यामा परेको परिवारलाई राहत सहयोग गरेर युवाले प्रशंसनीय कार्य गरेको रेडक्रस बागलुङका सभापति लामिछानेले बताए ।
“नेपालीका दुःखसुखमा प्रवासीले साथ दिँदै आएका छन्” उनले भने । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष शिरीषले देशविदेशमा रहेका नेपालीमा परोपकारको भावना जागृत हुँदै गएको बताए । कुँवरको परिवारलाई विभिन्न सङ्घसंस्थाको तर्फबाट हालसम्म रु सात लाख सहयोग प्रदान गरिएको छ ।
वि.सं.२०७६ वैशाख २० शुक्रवार ११:४६ मा प्रकाशित