
२० बैशाख, काठमाडौं । पाटन हस्पिटलमा उपचाररत पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेट्न सभामुख कृष्णबहादुर महरा पाटन पुगेर स्वास्थ्य लाभको कामना गरेको सभामुखको सचिवालयले जानकारी गराएको छ ।
सचिवालयका अनुसार शुक्रबार बिहान पाटन हस्पिटल ललितपुर पुगी महराले पूर्वसांसद बुढालाई सान्त्वना दिनुका साथै स्वास्थ्य लाभको कामना गरेका थिए ।
पेटमा समस्या देखिएपछि हिजो पाटन हस्पिटलमा भर्ना गरिएको र अहिले प्रारम्भिक उपचार चलिरहेको बुढाकी छोरी विजयज्योतीले बताएको उल्लेख गरीएको छ ।
पूर्वसांसद बुढालाई धेरै चिन्ता नगर्न आग्रह गर्दै चाँडै ठीक हुने विश्वास व्यक्त गरेका सभामुख महराले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरत कुमार यादव र डाक्टरहरुको टोलीलाई भेटी पूर्वसांसद बुढाको उपचारमा कुनै कमी हुन नदिन अनुरोध गरेका थिए ।
माओवादी जनयुद्धको उद्गम थलोको रुपमा रहेको रोल्पाको थबाङका पाका कम्युनिष्ट नेता बर्मन बुढा नेपाली कम्युनिष्ट आन्दोलनका बलियो खम्बाकै रुपमा रहनुभएको छ । उनी २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा क्षेत्र नं। १ बाट विजयी भएका थिए ।
वि.सं.२०७६ वैशाख २० शुक्रवार ११:५२ मा प्रकाशित