म कथाकार होइन, पाठक मात्र हुँ । तर, परिस्थितिले मलाई कथाकार बनाउन खोजिरहेको छ । जब आँखाअघि यथार्थ घटनाहरु कथा जस्तै अविश्वसनीय रुपले अघि बढ्न थाल्छ, मानिसलाई कुन यथार्थ हो र कुन कथा हो, भ्रम पर्न थाल्छ । म यही भ्रम लेखिरहेकी छु ।
केही मिनेटअघि मेरो घरको बार्दलीबाट एकजना व्यक्ति रोड पार गर्दै अघि बढेको देखें । उनको चालढाल हेरिरहँदा मलाई उनी कथाका पात्र जस्तै महसुस भयो ।
उनको नाम हो, केशव, नेता, उनीसँग हरदम एक दुई मानिस पनि हुने गर्दथे । उनीसँग भाषण गर्ने विशेष कला थियो । यो कलालाई धार लगाउन उनका आसेपासेले उनलाई कुन पुस्तक पढ्ने, कुन ठाउँमा कसरी भाषण गर्ने सबै बताउँथे र कतिपय लेखेर पनि दिन्थे । । जतिसुकै प्रयास गरे पनि उनी राजनीतिको केन्द्रमा भने आउन सकेका थिएनन् ।
प्रजातन्त्रदेखि गणतन्त्रसम्म उनी मध्यम छिमलकै राजनीतिज्ञका रुपमा रहे । उनको राजनीतिक कद बढेन । उनलाई पर्नु पीर परेको थियो । उनी यो रिस कुनै पनि बेला सार्वजनिक गर्ने अवस्थामा पुगिसकेका छन् भन्ने कुरा बाहिर पनि आउन थालेको थियो ।
एक पटकको कुरा हो, उनको आफ्नो दलको नेतासँग मन्त्री कसलाई बनाउने भनेर निकै ठूलो छलफल भएछ । हरेक नेता पदका लागि इच्छुक भएपछि त्यसले झगडाको रुप लिन पुग्यो । केशवका लागि आफू चासोमा पर्ने राम्रो मौका थियो । उनले यो झगडालाई प्रेस र आफ्ना बफादार साथीहरुलाई सुनाए । घटनालाई ठूलो बनाउन केही कुर्सि तोडफोड गरे ।
सामान्य कुराबाट सुरु भएको यो तोडफोड आगजनीसम्म पुग्यो र केशबकै नेतृत्वमा जिल्ला बन्दको घोषणा भयो । केशवले नेतृत्व गरेको जिल्लामध्ये पनि उनको क्षेत्रमा सम्पूर्ण यातायात बन्द गरियो ।
‘न्यायका लागि आजसम्म लडेँ, लडिरहने छु । तबसम्ब लडिरहने छु, जबसम्म हामीले न्याय पाउँदैनौं ।’ उनले रोडका बीचमा भाषण गर्दै भने, ‘उनको घोषणापछि जिल्लाका सबै स्कुल, सरकारी कार्यालय, अस्पताल र सार्वजनिक संस्थान बन्द भए ।
सरकारी कर्मचारीहरु आनन्दसँग अफिस जाने गर्न थाले । केशव पनि प्रशन्न, दिउँसो साइकलमा हिँड्थे । राति मोटरसाइकलमा कुद्थे । कहिले नदी तर्दा मान्छेको काँधमा पनि बसेर नदी तर्ने काम गरे । यसरी साता दिनभन्दा बढी जिल्ला बन्द भएपछि केन्द्रमा खबर पुग्यो । तर, जिल्लाको कुरामा कसको ध्यान जान्छ र बन्द खुल्यो । जिल्लाका सबैले केशवको समस्या हल भयो होला भनेर धेरैले विचार गरे ।
वास्तविकता त केही महिनापछि पो थाहा भयो । हडतालका बेला केशवकी पत्नी गर्भवती थिइन् । ५ छोरीपछि पेटमा जाँच गराउँदा छोरा छ भनेर केशवका उनको परिवार प्रसन्न थियो ।
हडतालको बेलामा नै एकदिन केशव पत्नी बाथरुममा । लडेपछि चोट लाग्यो । उनलाई अस्पताल लैजान खोज्दा एबुलेन्स बन्द भनेर आएन् । केही नलागेर नेता केशवका आमाबुबाले केशव पत्नीलाई रिक्सामा हालेर नजिकैको स्वास्थ चौकीमा लगे । बन्दका कारण डाक्टर अस्पतालमा थिएनन् ।
एउटी नर्सले उनलाई अर्को जिल्लाको ठूलो अस्पतालमा लैजान कागज लेखिदिइन । त्यहाँ पुग्न गाडीमा एक घन्टा र रिक्सामा तीन घन्टा लाग्थ्यो । केशवलाई खबर गर्न बारम्बार फोन नगरिएको होइन, तर, मोवाइल चार्ज नगरिएको हुन सक्छ । बारम्बार महिलाले पुनः फोन गर्ने प्रयास गर्नुहोस् भनिरहेकी थिइन् ।
बाटोमै केशव पत्नीलाई रक्तश्राब हुन थाल्यो । ३ घन्टापछि छिमेकी जिल्लाको अस्पताल पुर्याएर इमेरजेन्सीमा भर्ना गर्दा गर्दै उनले अन्तिम सास फेरिन् ।
भोलिपल्ट श्रीमतीको शव र केशवको आगमन एकैपटक पर्यो । बाटोमा कसैले उनकी श्रीमती बाथरुममा लडेको कुरा बताए पनि यो दृश्यको साक्षात्कार हुनुपर्छ भन्ने कल्पना नै गरेका थिएनन् । श्रीमतीलाई जलाएपछि उनी लामो समयसम्म कता हराए, पत्तै भएन ।
करिब दुई महिनापछि कसैले सुनायो, ‘केशवजी काठमाडौं छन् । बेलाबेलामा उनी रोडमा जान्छन् र गाडीका अघि हठात् पुगेर भन्छन्, श्रीमतीलाई अस्पताल लैजानुभएको हो ? उनलाई केही भएको त छैन नि, होइन ?’
नेता केशव मानसिक रुपमा केही अस्वस्थ्य छन, कारण त बन्द नि हो नि ।
वि.सं.२०७६ वैशाख २२ आइतवार १२:०६ मा प्रकाशित