
देश अहिले बजेटमय छ । संघिय सरकार होस कि प्रान्त र स्थानीय सरकार । जता जानुस् यो बर्षको बजेट सक्ने र आउंदो वर्षको बजेट बनाउने चर्चा, बहस हुने गरेको छ ।।भन्नु नपर्ला अधिकांशको ध्यान कृषि अनुदान र कृषिका कार्यक्रमहरुमा केन्द्रित छ । वडा सदस्यदेखि सांसदसम्म आफ्नो क्षेत्रमा कृषिका कार्यक्रम पारिदिन भनसुनमा लागिरहेको छन्, तर, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको अवस्था भने फरक छ
कृषि उत्पादनको लागि अत्यन्तै उर्वरभूमी रहेको यहांका जनप्रतिनिधि आफ्नो क्षेत्रमा बजेट पारिदिन होइन, बजेट नपारिदिन लविंग गरिरहेका छन् । त्यसमध्ये पनि कृषिसंग सम्वन्धित कुनै कार्यक्रम त पार्ने नहुने रे ………………………………………………………….।
नेपालकै कृषिको एउटा प्रमुख आधारभूमी मानिने पक्लिहवा कृषि क्याम्पस समेत रहेको वडा नं ११ का अध्यक्ष दिलिप यादवले मेयर हरि अधिकारीलाई चेतावनी नै दिनुभएछ—खबरदार मेरो वडामा कृषिका कुनै पनि कार्यक्रम नपारिओस् । कृषिको लागि बजेट छुट्याइयो भने ठीक हुदैंन । (भाषा ठवाक्कै यही नहुन सक्छ, आसय चांही यही हो रे)
यादव लगायतका जनप्रतिनिधिको तर्क रहेछ—गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल तयार हुनै लाग्यो । त्यसपछि यहां टुरिष्टहरु आउंछन्, आर्थिक गतिविधि बढछ् । जाबो कृषिको के काम ? होटल, रेष्टुरां चलाएर जीवन चल्ने भएपछि खेती गरेर को बस्छ ?
मेयर हरि अधिकारीसंगको छलफल पछि म ढुक्क भएं— कुनै दिन यहांका जनप्रतिनिधिले पक्लिहवा क्याम्पसको के काम ? त्यसलाई हटाएर कुनै क्लब वा डान्स बार खोलौं, त्यसबाट पर्यटक आकर्षित हुन्छन् भनेर त्यस्तै निर्णय गरे भने आश्चर्य नमाने हुन्छ । यसै पनि सरकारी कृषि कलेजहरुको हालत के छ भन्ने त विचरो प्राण त्याग्न नसकेर घिटिघिटी गरिरहेको एएफयुलाई हेरे थाहा भैहाल्छ ।
त्यसमाथि जनप्रतिनिधिकै कर्के नजर । कृषि क्षेत्रका धुरन्धरहरु आउनुहोस्—ऐतिहांसिक महत्वको पक्लिहवा कृषि क्याम्पसको दुर्दशामा तपाई हामी सबै साक्षी बसौं । विजय मल्लले भनेजस्तो ‘अन्तिम भोज’को तयारीमा जुटौं ।
मेयर अधिकारीले मसंग भन्नुभयो—कृषिमा लगानी गर्ने, कृषि क्षेत्रको बारेमा कुरै नगरौं । बरु कौशी खेतीको बारेमा कुरा गरौं । कम्तिमा हरेक मान्छेले खुर्सानी, प्याज र लसुन आफ्नै छतमा उत्पादन गर्न सकुन् ।
खेतीयोग्य जमीनको सरंक्षण छैन, कृषि उत्पादन वृद्धिको कुरा छैन, भएका जमीनहरु ‘टुरिष्ट हब’ बनाउने नाममा रेष्टुरेष्ट र क्लवहरु खोलेर सत्यानास गर्ने र घरका छत छतमा खुर्सानी र लसुन प्याज रोपेर समृद्धिको नयां उचाईमा पुग्ने सिद्धार्थनगरका मेयर र अन्य जनप्रतिनिधिहरुको ‘चेतनाको स्तर’ लाई सलाम ।
खेतीयोग्य जमीन मास्ने र घर घरमा लसुन, प्याज रोपेर आफ्नो नगरलाई समृद्ध बनाउने यस्तो विकासको मोडल संभवतः विश्वका अरु कुनै देश र नगरहरुमा पाइदैन होला । विकासको यो नविनतम मोडल पत्ता लगाएकोमा आउनुहोस्—सिद्धार्थनगरका मेयरको जयजयकार गरौं । सिद्धार्थनगरका जनप्रतिनिधिहरुलाई धन्यवाद र बधाई दिउं ।
वि.सं.२०७६ वैशाख २६ बिहीवार ०८:५९ मा प्रकाशित